बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : लगानी सम्मेलन

खुम्चियो विदेशी लगानीकर्ताले नेपालबाट लैजाने लाभांश

सोमबार, २६ चैत २०८०, १२ : ४८
सोमबार, २६ चैत २०८०

काठमाडौँ । विदेशी लगानीकर्ताले नेपालबाट लैजाने लाभांश खुम्चिएको छ । चालू वर्षको ८ महिनाको तथ्याङ्कले विदेशी लगानीकर्ताले लैजाने लाभांश उल्लेख्य मात्रामा खुम्चिएको देखिएको हो । 

गत आर्थिक वर्ष २०७९/८० को तुलनामा ४ अर्ब ८२ करोड रुपैयाँले खुम्चिएको उद्योग विभागले जनाएको छ । तथ्याङ्कअनुसार लगानीकर्ताले चालू आर्थिक वर्ष २०८०/८१ को ८ महिना (साउनदेखि फागुन मसान्त) मा ९ अर्ब १ करोड ८४ लाख रुपैयाँ लाभांश आफ्नो देश लगेका छन् । 

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४ अर्ब ८२ करोडले न्यून हो । गत आर्थिक वर्षमा विदेशी लगानीकर्ताले १३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ लाभांश आफ्नो देश लगेका थिए ।

यस्तै आर्थिक वर्ष २०७८/७९ को ८ महिनाको अवधिमा लगानीकर्ताले १३ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ आफ्नो देश लगेका थिए । यो गत आर्थिक वर्षको तुलनामा भने न्यून हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको ८ महिनाको अवधिमा लाभांश लैजाने क्रम बढेको देखिए पनि चालू वर्षमा ह्वात्तै घटेको हो ।

आर्थिक वर्षको ८ महिनामा विदेश लगेको रकम

स्रोत – उद्योग विभाग

  • उत्पादनमूलक उद्योगबाट जान्छ धेरै लाभांश

विदेशी लगानीकर्ताले नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगबाट सबैभन्दा धेरै लाभांश लैजाने गरेको पाइएको छ । पछिल्लो तीन आर्थिक वर्षको ८ महिनाको तथ्याङ्क केलाउँदा उत्पादनमूलक उद्योगबाट सबैभन्दा धेरै लाभांश बिदेसिने गरेको पाइएको हो ।

नेपालमा उत्पादनमूलक उद्योगको वातावरण छैन भनिँदै आएको छ । स्वदेशी उद्योगीहरू औद्योगिक वातावरण छैन भन्दै लगानीको समग्र वातावरण नै खस्किएको बताउँछन् । तर, तथ्याङ्कले भने विदेशी लगानीका विभिन्न ८ क्षेत्रमध्ये उत्पादनमूलक उद्योग फापेको देखाउँछ ।

चालू आर्थिक वर्ष ९ अर्ब १ करोड ८४ लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका छन् । उद्योग विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार साउनदेखि फागुन मसान्तसम्मको अवधिमा यो रकम विदेशी लगानीकर्ताले लाभांशबापत लगेका हुन् । यसमध्ये ८ अर्ब ६९ करोड ६७ लाख ३८ हजार रुपैयाँ उत्पादनमूलक उद्योगले मात्रै लगेका छन् ।

यस्तै, गत आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा १३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ लाभांश लगेका छन् । यसमध्ये सबैभन्दा धेरै उत्पादनमूलक उद्योगबाट नै लाभांश विदेश गएको छ । सो अवधिमा ८ अर्ब ८० करोड ३० लाख रुपैयाँ लाभांश विदेश गएको विभागले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा १३ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका थिए । यसमध्ये सबैभन्दा धेरै ८ अर्ब ६३ करोड रुपैयाँ उत्पादनमूलक उद्योगबाट कमाएको नाफा नै लाभांशमार्फत विदेश लगिएको तथ्याङ्क छ । पछिल्ला तीन आर्थिक वर्षको ८ महिनाको अवधिको तथ्याङ्कले विदेशी लगानीमा सञ्चालित उत्पादनमूलक उद्योगले अन्य क्षेत्रको लगानीभन्दा बढी लाभांश दिइरहेको झल्काउँछ ।

नेपालमा विदेशी लगानीका बहुराष्ट्रिय उत्पादनमूलक उद्योग सञ्चालनमा छन् । युनिलिभर, डाबर, कोकाकोला, पेप्सी लगायतका उद्योग सञ्चालनमा छन् । यी उद्योगको कारोबार समेत अर्बौँमा हुन्छ । जसकारण यी उद्योगमा लगानी गर्ने लगानीकर्ताले लैजाने रकम अन्य सबै उद्योगसँगको तुलनामा अत्यधिक हुने गरेको तथ्याङ्कले देखाउँछ ।

  • कुन उद्योगबाट कति जान्छ लाभांश ?

विदेशी लगानीकर्ताले लैजाने लाभांशलाई ८ प्रकारका उद्योगमा विभाजन गरिएको छ । कृषि तथा वन पैदावार, ऊर्जामूलक, सूचना प्रविधि तथा सञ्चार, पूर्वाधार, उत्पादनमूलक, खनिज, सेवामूलक र पर्यटन क्षेत्रमा विदेशी लगानी आउँछ । यी सबै क्षेत्रबाट लगानीकर्ताले फिर्ता लैजाने रकमको हिसाबकिताब विभागले राख्ने गरेको छ ।

चालू वर्षको ८ महिनाको अवधिमा खनिज र पूर्वाधार क्षेत्रबाट रकम विदेश गएको छैन । अघिल्ला वर्षहरूमा पूर्वाधारतर्फबाट भने विदेशमा लगानीकर्ताले लाभांशबापतको रकम लैजाने गरेका थिए । यस्तै तथ्याङ्कले गत वर्षको तुलनामा सूचना तथा प्रविधि क्षेत्रबाट विदेश जाने रकममा भारी गिरावट आएको देखिन्छ । यसबाहेक सेवामूलक उद्योगबाट बिदेसिने लाभांशबापतको रकम समेत घटेको छ । यस क्रममा पर्यटन उद्योगमा गरेको लगानीबाट फिर्ता लग्ने लाभांश (रकम) भने बढेको देखिएको छ ।

  • दुई आर्थिक वर्षमा लगानीकर्ताले फिर्ता लगेको लाभांश (रकम)

2

स्रोत – उद्योग विभाग

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप