शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उद्यमीलाई उत्पादन र बजारसँग जोड्दै काठमाडौँ महानगर

आइतबार, ०२ वैशाख २०८१, १४ : ५०
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उद्यमशील महिलालाई विभिन्न किसिमको सीप मुलुक तालिम, व्यावसायिक सिकाई जस्ता रोजगारमूलक कार्यक्रममार्फत उत्पादन र बजारसँग जोड्ने भएको छ । महानगरले ३२ वटै वडामा एक वडा एक नमुना उद्यमशीलता कार्यक्रम सुरु गरेको छ ।

महानगरपालिकाले ‘एक वडा एक नमुना उद्यमशीलता, आफ्नै सीपमा मौलिक पन, आत्मनिर्भर उद्यमी, हाम्रै्र लगानी, हाम्रै श्रम’ नारासहित उक्त कार्यक्रमको थालनी गर्न लागेको हो । महानगरपालिकाले महानगरभित्रका ३२ वडाका उद्यमशील बन्न चाहने महिला तथा पुरुषहरूको लागि उद्यमशील तालिम कार्यक्रम सुरुवात गरेको छ । पहिलो चरणमा १६ वटा वडाहरूमा योजना बनाइरहेको छ । १६ वडा वडाको सिकाई, अनुभवको आधारमा ३२ वटावडाहरुमा एक वडा एक नमुना उद्यमशीलता कार्यक्रम लैजाने योजना बनाएको छ । महानगरले गर्ने उद्यमशील तालिम ३२ वटामा फरक–फरक किसिमका हुनेछन् ।

उद्यमशीलता प्रवद्र्धनमार्फत दिगो र समावेशी अर्थतन्त्रको आधार सिर्जना गर्न उद्देश्यले काठमाडौँ महानगरले हरेक वडामा एक वडा एक नमुना उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । काठमाडौँ महानगर भित्रका महिला उद्यमशीलतामार्फत उत्पादन वृद्धि गरी बजारसँग जोड्ने महानगरको योजना रहेको जनाएको छ । महानगरले महिला उद्यमीद्वारा उत्पादन बस्तुहरूलाई बजारको प्रवर्द्धन गर्ने योजनामा छ । निर्वाचनको बेलामा जनप्रतिनिधि भए महिलालाई आत्मनिर्भर बनाउने उद्यमशील तालिमको योजना बनाउने भनी गरेका प्रतिबद्धतालाई महानगरपालिकाले कार्यान्वयनमा ल्याउन लागेको हो । काठमाडौँ महानगरलाई कृषिजन्य, काष्ठ र माटोजन्य वस्तु उत्पादनमा आत्मनिर्भर महानगर बनाउन सिपमूलक तालिमसहित प्राविधिक समेत दिएर उद्यमी बनाउने उद्देश्य रहेको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् ।

उनले महानगरका ३२ वटै वडाभित्र उद्यमी बन्न चाहनेहरूलाई फरक–फरक सीपको तालिम दिने र फरक–फरक उत्पादन गरी उत्पादनलाई बजारसँग जोडिने उल्लेख गरिन् । 

उपप्रमुख डंगोलले उद्यमशील तालिममा महिला उद्यमी मात्रै नभएर पुरुष उद्यमीहरू पनि जोडिन सक्ने जानकारी दिइन् । उनले महानगरका हरेक वडामा फरक–फरक किसिमको तालिमका लागि मात्रै नभएर तालिम लिएको क्षेत्रमा विज्ञ बनाएर उद्यमी बनाउने गरी उनीहरूलाई तालिम दिने योजना र कार्यक्रम बनाएको दाबी गरिन् ।

उनले भनिन्,‘३२ वटै वडाभित्र फरक–फरक उत्पादन गर्ने र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्य छ । यसमा महिलाहरूको लागि मात्रै नभएर पुरुषहरूको पनि सहभागिता छ । हरेक वडामा फरक–फरक किसिमको तालिम दिँदैछौं । तालिमको लागि तालिम मात्रै नभएर जान्दै नजान्नेलाई त्यही क्षेत्रमा विज्ञगरी उनीहरूलाई तालिम दिने योजना र कार्यक्रम बनाएका छौँ ।’

उपप्रमुख डंगोलले उद्यमशील तालिम लिने तर उद्यमीहरूले उत्पादन गरेका वस्तुले बजार नपाउँदा उद्यमशीलता हराउँदै गएको पाइएको बताइन् । उनले महानगरले उद्यमशीलतालाई थप प्रवर्द्धन गरी सीप मुलुक तालिम लिएका उद्यमीको उत्पादनलाई बजारसँग जोडेरउनीहरुलाई उद्यमी बनाउने कार्यक्रम रहेको बताइन् ।

काठमाडौँ महानगरले उद्यमी बनाएर उत्पादित वस्तुलाई बजारसँग जोड्ने, गुणस्तर कायम गर्ने र उत्पादनहरूमा बढी जोड दिने लक्ष्य लिएको छ । ३२ वटामा नै उद्यमी जन्माउनको लागि महानगर अन्य निकायहरूसँग पनि सहकार्य र समन्वय गरी काम गर्ने गरी योजना बनाइरहेको छ । महानगरले उद्यमशील तालिम दिनु ठुलो कुरा नभएको भन्दै उपप्रमुख डंगोलले व्यवहारमा ल्याएर दिगो र प्रभावकारी रूपमा उत्पादन गर्नु अहिलेको चुनौती रहेको दाबी गरिन् । उनले यस्ता चुनौतीलाई चिर्नको लागि महानगरले एक वडा एक नमुना उद्यमसिलता कार्यक्रमबाट धेरैले उपलब्धि लिने बताइन् ।

स्थानीय आवश्यकताको आधारमा उद्यमशील तालिम

महानगरले ३२ वटा वडामा त्यहाँको स्थानीय आवश्यकता पहिचान गरेर उद्यमशील तालिमको व्यवस्था गर्ने भएको छ । महानगरले ३२ वटा वडामा फरक–फरक सिपमूलक उद्यमशील तालिमको कार्ययोजना बनाएर अघि बढेको छ । ३२ वडामा बस्ने काठमाडौँवासी मात्रै नभएर बाहिरबाट आएर काठमाडौँका विभिन्न वडामा बस्नेहरूले पनि आवेदन दिई उद्यमशील तालिममा सहभागिता जनाउन सक्नेछ ।

आवेदन दिनेहरूको उद्यमी बन्ने इच्छाशक्ति  र विगतलाई समेत हेरेर महानगरले छनोट गरी तालिम दिएर आर्यआर्जन गरी उद्यमी बन्न सक्ने आधार बनाउने महानगरले जनाएको छ । महानगर उपप्रमुख डंगोलले वडाहरूमा फरक–फरक तालिमहरू दिन लागिएको बताइन् । उनले कुनै वडामा गुन्द्रुक बनाउने, मस्यौरा बनाउने, कुनै वडामा माटोका भाडा बनाउने तालिम दिने बताइन् । उनले महानगरको वडा नम्बर ५ मा माटोको भाँडा बनाउने तालिम दिएको बताइन् । उनले तालिम लिएका उद्यमीहरूलाई अहिले महानगरले प्रविधि हस्तान्तरण गरेर एड्भान्स लेभलको तालिम दिइरहेको बताइन् । उनले वडा नम्बर ५ लाई माटोको भाडामा आत्मनिर्भर घोषणा गर्ने योजना रहेको बताइन् ।

उनले महानगरको १२ नम्बर वडामा सुकुल बुनाउने तालिम दिने तयारी रहेको बताइन् । उनले १६ नम्बर वडामा काष्ठ बनाउने र वडा नम्बर ८ पशुपति क्षेत्रमा रुद्राक्षको माला दुना टपरीको निकै माग हुने भएकाले रुद्राक्षको माला र दुना टपरी बनाउने तालिम दिने बताइन् । उनले स्थानीय मागअनुसार तालिम दिने तयारी र योजना रहेको जानकारी दिइन् ।

सहरी गरिबी अन्त्यको लागि उद्यमशीलता

काठमाडौँ महानगर पालिकाले महानगर पालिकाभित्र रहेको सहरी गरिबीलाई अन्त्य गर्ने योजनाका साथ उद्यमशील कार्यक्रमलाई अघि सारेको बताएको छ । काठमाडौँ महानगरभित्र पनि सहरी गरिबी रहेको छ । मुलुकको राजधानी काठमाडौँमा पनि गरिबीको रेखामुनी रहेका मानिसहरू बसोबास गर्ने गरेका छन् ।

खास गरी उनीहरूको जीवनस्तर माथि उठाउने र आयआर्जनको माध्यमबाट गरिबी अन्त्य गर्ने योजनाका साथ ३२ वडामा गरिबी लक्षित रोजगार मूलक सीप तालिम सञ्चालन गर्न लागिएको उपप्रमुख डंगोलको भनाई छ । उनले काठमाडौँ महानगरभित्र पनि गरिबी छ र  भन्ने प्रश्न आउने गरेको बताइन् । उपप्रमुख डंगोलले महानगरभित्र पनि सहरी गरिबी रहेकाले उद्यम, सीप तालिममार्फत स्थानीय उत्पादनमा लगाउने उद्देश्यले बजेट मार्फत उद्यमशील तालिम सञ्चालनको तयारीमा गरिएको दाबी गरिन् ।

‘काठमाडौँमा गरिबहरू हुनुहुन्छ भनेर धेरैले प्रश्न सोध्नुहुन्छ । काठमाडौँमा छुट्टै खालका सहरी गरिबहरू पनि रहेका छन्’, उनले भनिन् ।

काठमाडौँ महानगरले महानगरभित्रका गरिबी पहिचान गरिरहेको छ । महानगरले गरिबी पहिचानको यकिन तथ्याङ्क आएसँग त्यही अनुसार कार्यक्रमहरू ल्याउने र गरिबीको रेखामा रहेकालाई उद्यमशीलतासँग जोडर उद्यमी बनाउने महानगरले लक्ष्य लिएको छ ।

हरेक वडामा कोसेली घर

महानगरले ३२ वडामा उद्यमशील तालिम दिएर प्रविधिमार्फत उत्पादन सुरु गरेपछि हरेक वडामा एक कोसेली घर स्थापना गर्ने योजना बनाएको छ । उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूलाई बजारसँग जोड र स्थानीय उत्पादनमा प्रत्येक वडा आत्मनिभर बनाउने उद्देश्य महानगरको छ । महानगरले दिएको सीपमूलक तालिममार्फत उत्पादन भएका वस्तुहरूलाई बजारसँग जोड्नको लागि कोसेली घर स्थापना गरिने महानगरले जनाएको छ । वडामा उद्यमीहरूले उत्पादन गरेका वस्तुलाई कोसेली घरसँग जोड्ने गरी अवधारणा अघि सारिएको उपप्रमुख डंगोलको भनाई छ ।

महानगरले दिएको उद्यमशील तालिमबाट उद्यमीले उत्पादन गरेको वस्तुहरू कोसेली घरमा मात्रै सीमित राख्ने भन्दा पनि काठमाडौँ भित्र र देशभर विभिन्न ठाउँमा रहेका बजारहरूमा लैजाने वातावरण बनाउने उपप्रमुख डंगोलको दाबी छ ।

बिगमार्ट र सुपर मार्केटहरुमा ‘मेड इन काठमाडाैँ’को छुट्टै स्थान रहने

काठमाडौँ महानगरले स्थानीय साना तथा घरेलु उद्यमीहरूले उत्पादन गरेका वस्तुको लागि विभिन्न मार्ट र सुपर मार्केटमा ‘मेड इन काठमाडांै’को छुट्टै स्पेस अनिवार्य राख्नुपर्ने अवधारणा ल्याउन लागेको छ । महानगरले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तुलाई पहिलो प्राथमिकतामा राखी नेपाली वस्तुहरूको प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अवधारण अघि सार्न लागेको हो । नेपाली उत्पादनहरूलाई नेपालीहरूले प्रमुख प्राथमिकता दिन आवश्यक रहेकाले यस्तो अवधारण ल्याउन लागिएको उपप्रमुख डंगोलको भनाई छ ।

उनले महानगरभित्रका उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य तथा अन्य वस्तुहरूलाई महानगरभित्रका मार्ट तथा सुपरमार्केटहरुले अनिवार्य स्पेश दिन आवश्यक रहेको बताइन् । उनले मार्ट तथा सुपर मार्केटहरुले नेपाली उत्पादनलाई ठाउँ नदिने हो भने प्रतिस्पर्धा गर्न नसक्ने बताइन् । उनले स्पेस भएर बजारसँग नेपाली उद्यमीले उत्पादन गरेका वस्तुहरू जोडिए मात्रै बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताइन् ।

उनले मार्ट तथा सुपर मार्केटहरुमा मेड इन नेपाल, मेड इन काठमाडौँ सेक्सन बनाएर हरेक मार्टबाट त्यस्ता वस्तुहरूलाई जोड्ने लक्ष्य महानगरको रहेको बताइन् । उनले त्यसको लागि महानगरले विभिन्न स्टेक होल्डरसँग सहकार्यको लागि छलफल अघि बढाएको उल्लेख गरिन् । त्यस्तै, उपप्रमुख डंगोलले शनिबार वा अरु दिनहरुमा महानगरभित्रकै वडाको पेरिफेरिमा, सभागृहभित्र अथवा अन्य ठाउँहरूमा मेड इन काठमाडौँ मेला गर्ने योजना बनाएको पनि बताइन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने योजना

काठमाडौँ महानगरको उद्यमशील तालिमबाट ३२ वटै वडामा फरक–फरक किसिमका उद्यमीले उत्पादन गरेका वस्तुलाई देशभरका बजारसँग जोड्ने र अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने योजना रहेको उल्लेख गरेको छ । महानगरले ३२ वडामा उत्पादन भएका वस्तुहरूलाई महानगरभित्र मात्रै सीमित नराख्ने जनाएको छ । महानगर उपप्रमुख डंगोलले स्थानीय उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई गुणस्तर कायम गरी राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पठाउने बताइन् । उनले नेपालबाट धेरै वस्तुहरू विदेशमा निर्यात पनि भइरहेको भन्दै विदेशमा नेपाली उत्पादन निर्यात गर्ने व्यवसायीहरुसँग पनि छलफल गरिरहेको दाबी गरिन् ।

उनले महानगरले उद्यमशील तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्न गरी उत्पादन वृद्धि गर्ने योजना बनाएर कार्यक्रम अघि बढाएको जिकिर गरिन् । उनले उद्यमशील तालिम श्रमसँग मात्रै नभई सीप, आत्मनिर्भरता, समाजरुपान्तरण र गरिबी निवारणसँग पनि जोडिएको दाबी गरिन् । महानगरले श्रम मेलामा २०८१ सालमा २ हजार ८१ जनालाई श्रम र रोजगारीसँग जोड्ने उद्देश्य छ । श्रम मेला सीप सिक्ने र सीप सिकेपछि रोजगारी र आय आर्जनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ । -अनिष मिजार/न्युज एजेन्सी नेपाल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप