बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
राकाथुम हत्याकाण्ड

रामेछापको राकाथुम हत्याकाण्डमा जिल्लाको फैसला उल्टियो, ५ जना प्रतिवादीलाई जन्मकैद

बिहीबार, ०६ वैशाख २०८१, २१ : ४८
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकाथुमा २०६६ सालमा भएको हत्याबारे उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला उल्ट्याएको छ । तिर्थमान दोङ तामाङ्ग ‘निखिल’ को हत्या गरेको आरोपमा उच्च अदालत पाटनले ५ जना प्रतिवादीलाई जन्मकैदको फैसला गरेको हो ।

काभ्रेको तेमाल गाउँपालिका घर भएका निखिलको २०६६ असोजमा हत्या भएको थियो । हत्यामा संलग्न ठहर गर्दै उच्च अदालतले खाँडादेवी गाउँपालिका–१ स्थित राकाथुम घर भएका ज्ञानबहादुर लामा तामाङ, कृष्णकाजी श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, जयराम लामा र रामेछापको सुनापति गाउँपालिका–५ घर भएका पदम बीर लामा तामाङलाई २० वर्ष कैद (जन्मकैद) हुने फैसला गरेको छ । न्यायाधीशद्वय धीरबहादुर चन्द र श्यामकुमार भट्टराईले सो आदेश गरेका हुन् ।

प्रतिवादी ज्ञानबहादुर लामा तामाङ र जयराम लामा बुवा–छोरा हुन् । रामेछाप जिल्ला अदालकी न्यायाधीश इन्दिरा शर्माले २०७९ फागुन १५ मा ज्ञानबहादुर लामालाई मात्र दोषी ठहर गरेकी थिइन् । ज्ञानबहादुर बाहेक अन्य प्रतिवादीलाई सफाइ दिनेगरी भएको जिल्ला अदालतको फैसला उच्च अदालतले उल्ट्याएको हो ।

सो मुद्दाामा जिल्ला अदालतले आफूलाई जन्मकैदको सजाय गरेको विरुद्ध ज्ञानबहादुरले र सरकारी वकिल कार्यालयले अन्यलाई सफाई दिने फैसला बिरुद्ध पुनरावेदन गरेका हुन् ।

सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाट स्थित सुनकोशीको पुलको ठेक्का कमिशन विवादमा प्रतिवादीहरुले निखिललाई राकाथुमस्थित पिपलबोट भन्ने ठाउँमा बोलाएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जन्मकैदको फैसला भएका पदम बीर लामा र हत्या गरिएका निखिल साथी हुन् । उच्च अदालतको फैसलाविरुद्ध प्रतिवादीहरुले सर्वोच्च अदालतमा अपिल गर्न पाउँछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप