शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

डा. गीता त्रिपाठीका तीन कविता

शनिबार, ०८ वैशाख २०८१, १३ : ५५
शनिबार, ०८ वैशाख २०८१

१) चियर गर्ल र जुलुसका अनुहारहरू

रङ्गशालाको माथिल्लो प्यारापिटमा उभिएर
हेरिरहेछु क्रिकेट म्याच र
सोचिरहेछु ।

यो अल्पविकसित देशमा
कहाँबाट भित्रिए यी चियर गर्लहरू ?
कहाँ छ यिनको आदिवासी भूगोल ?
हैरान छु यिनका हर्कतहरूसँग !

पिचसम्म पुग्ने स्वीकृति छैन यिनलाई
अलिकति ठाउँ दिइएको छ
हातगोडा चलाउनका लागि
मैदानमा पस्न हुँदैन भनिएको छ
र, पस्ने हैसियत राख्नै पनि डराउँछन् यिनीहरू !

छनछनाइरहेछन् यिनका हातमा 
अझै केही दर्जन साङ्लाहरू
यिनलाई क्रिकेट बलसँग डर लाग्छ
र, तोकिएको ठाउँ छोड्न पनि डराउँछन् यिनीहरू
मेनिकियर गर्न लगाइएको छ
र, आफ्ना हातलाई निकै नाजुक
निकै कमजोर ठान्छन् यिनीहरू !

के माक्र्सको सिद्धान्तमा नअटाएका
उत्तरमाक्र्सवादका अङ्गवस्त्र मात्र हुन् यिनीहरू ?
वा पुँजीवादको अर्को एउटा अनुहार हुन् ?
कसलाई थाह होला,
यिनको श्रम खरिद भइरहेछ या सौन्दर्य ?
नियति बिक्री भइरहेछ कि कला ?

भोकको वैश्विक अर्थमा
मान्छेका अनेक अतृप्ति बढाउँछन् चियर गर्लहरू
आम दर्शकहरूका माझ
यिनीहरूको उपयोगिता के होला ?
खेलाडीहरूका निम्ति यिनीहरूको आवश्यकता कति होला ?
कसलाई थाह होला यो उत्तरऔपनिवेशिक संस्कृतिमा
चियर गर्लको वाद कुन हो ?
र, यिनीहरूको अपवाद को हो ?

प्रत्येक चौका र छक्कासँगै उफ्रिरहेछन्
यी नयाँ रूपका पुराना अवर्जनहरू
तर कतै पुगिरहेका छैनन्,
सम्पूर्ण शक्तिले चिच्याइरहेछन्
तर कहाँसम्म पुग्दो हो यिनको आवाज ?

रङ्गशालाबाहिर पर सडकमा
उफ्रिरहेछन् जुलुस र,
कुर्लिरहेछन् आफूलाई यिनीहरूकै प्रतिनिधि घोषणा गरेर
झुन्ड–झुन्ड आवाजहरू !

हेरिरहेछु
रङ्गशालाको माथिल्लो प्यारापिटमा उभिएर
र, हैरान छु यिनका हर्कतहरूसँग ।

२) ताण्डव नृत्य

विचारका गिर्खाहरूले
सङक्रमण थाल्नुअघि
म घोप्टिएको छु एउटा खास विचारको खोजीमा ।

थकित छु
उल्टिएको छ मेरो सिर्जनाको आदिम कला
यो संसारको सबैभन्दा कुरूप जीवाष्म
मेरो सामथ्र्यमाथि धावा बोलिरहेछ
र, म निलिरहेको छु मेरो आफ्नै तातो स्पर्श
सायद मेरा नशाहरूमा
जीवन कम र मृत्यु बढी दौडिरहेछ ।

यो शताब्दीकै
सबैभन्दा कमसल सोचमा छु म
अनपेक्षित तर्कहरूले थिचिएको,
विचार नगरिएका विचारहरूले खाँदिएको
कैयन् गहुँगा ढुङ्गाहरूमाथि
यसरी दाबिएको छ मेरो मस्तिष्क,
मानौँ म ढुङ्गे युगको एउटा जरा,
पानीको सतहभन्दा माथि छु
हावाको सतहभन्दा तल छु ।

न जमिनमा छु, न आकाशमा छु
न दिलमा छु न दिमागमा छु
मेरो सिर्जनहीनताको साक्षी म स्वयंमा
यसरी जकडिएको छ यो समय
सारा चेतनाहरूको विस्फोटनअघि नै 
उछिट्टिएको छु म, मात्र एउटा केन्द्रीय शून्य,
अविभाज्य मेरो शक्ति भने
मभन्दा विपरीत उँभो उठिरहेछ ।
०००

३) अक्षरको साइज

उसको स्वतन्त्रतालाई
जातको आँखाले तौलन्छन् अरू
मभित्र त ऊ पारिजात हुर्केकी हो !

देख्नलाई त 
उस्तै देखिएला— उसका एकजोर आँखा
जस्तो देखिन्छ,
आजभोलि खिइँदै गएका अक्षरहरूको साइज
तर म सजिलै पढ्न सक्छु
ऋतुजस्तो संवेदनशील उसका आँखामा  
परिवर्तनका बेहिसाब बद्ध र मुक्त लयहरू ।

आफ्नै इतिहाससँगको युद्धमा
आफैँ जितेर आएकी योद्धा
अक्षरहरू खोजी खोजी 
आफैँ उमारेकी हो आफ्नो परिचय 
तिमीले आँखाको साइज नापिरहँदा
तिम्रो अँध्यारोलाई छिचोलेर
बगरमा सुन फलाउन थालिसकेकी ।

आफैँ हो ऊ, आफ्नो निर्माता
आफैँ हो आफ्नो नियन्त्रक 
पछ्याइरहेछ समयले 
ती जादुमय चिम्सा आँखाका किनारहरू
सेतीको छाल  
छिचोल्नै नसकिने गहिराइ 
र विकट सुरुङको कहालीलाग्दो परिवेश
सबै सबै सहज छ उसका लागि
त्यसैले त हो
तिम्रा आँखामा उज्यालो नपर्दै
ऊ घाम बर्सिसकेकी छ बस्तीमा ।

ऊ आफैँ पुस्तक र पुस्तकको खास अंश
प्रकाशकहरूले साइज घटाएको अक्षर
त्यही अक्षरझैँ
घट्दै गएका अर्थहरू
र, अर्थहीन प्रतिस्पर्धाहरूभन्दा
कैयौँ गुणा स्वीकार्य छ उसको स्पष्टता
त्यसैले म बुझ्न सक्छु सजिलै
लहर लहर दौडिएर
मान्छेका हृदयतिरै फर्किने 
साना आँखाका गतिशील भावहरू ।

ऊ हिँड्छे
स्वाभिमानको गीत गाउँदै हिँड्छ बतास
ऊ उभिन्छे
उसको सुस्केरामा नाच्दै उभिन्छ पहाड
कहिलेकाहीँ बतास र पहाड ऊसँगै हिँड्छन्
त्यसबेला लय बनाउँछे आफैँलाई ऊ
भर्छे जीवन गीतको  रसिलो धुन 
र सिकाउँछे पहाडमा पहाड भएर उभिन ।

समयका सबैभन्दा धारिला विचारहरू 
उसकै चेतनाको तापमा पिटिन्छन् 
त्यहीँबाट उठेको छ
यो समयको सर्वाधिक प्रिय विद्रोह 
अहिले
विचारको अग्लो बिरुवा हुर्काइसकेकी छ उसले !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. गीता त्रिपाठी
डा. गीता त्रिपाठी
लेखकबाट थप