तनहुँमा अदुवा उत्पादन बढ्यो
तनहुँ । तनहुँमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ । अदुवा खेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो समय बाँदरले दुःख दिन थालेपछि किसान अदुवा खेतीतर्फ लागेका छन् ।
चालु आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार छ सय ७९ मेट्रिक टन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । चालु आवमा पाँच सय २४ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो ।
गत आव २०७९/८० मा पाँच हजार छ सय ५४ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । त्यतिबेला पाँच सय २२ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो । व्यास नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा व्यावसायिक रूपमा अदुवा खेती हुँदै आएको छ ।
पछिल्लो केही वर्षयता बाँदरले दुःख दिन थालेपछि किसान अदुवा खेतीमा आकर्षित भएको पाइएको छ । बाँदरले अदुवामा क्षति नपुर्याउने भएकाले किसान यसतर्फ बढी आकर्षित छन् । ज्ञान केन्द्रले मसला तथा निर्यातयोग्य बाली उत्पादन, प्रशोधन तथा बजारीकरण सहयोग कार्यक्रममार्फत अदुवा उत्पादक किसानलाई सहयोग गर्ने कार्यक्रम रहेको परियारले जानकारी दिए ।
स्थानीय तहले अदुवा उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेपछि पनि किसान अदुवा खेतीमा लागेका छन् । घिरिङ गाउँपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान वितरण गरिरहेको छ । निर्वाहमुखी खेती गरिरहेकालाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति ल्याएको छ ।
गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङमा उत्पादित अदुवा विभिन्न जिल्लामा निर्यात गर्न सकिने भएकाले किसानलाई व्यावसायिक बनाउन खोजिएको बताए । गाउँपालिकाले प्रतिव्यक्ति रु पाँच हजारका दरले अनुदान दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?