शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कतारी शेखको नेपाल भ्रमण

कतारका राजा काठमाडौँमा अवतरण

मङ्गलबार, ११ वैशाख २०८१, १५ : ५७
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् । उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कतारका राजा विमानस्थलमा अवतरण भएको र उनलाई त्यहीँ सेनाको सलामीसहित सम्मान गर्ने कार्यक्रम रहेकाे बताए । 

कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा पुगेका छन् ।  बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहाँको कार्यक्रम सकेर काठमाडौँ आएका हुन् ।  अमिरले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम रहेको छ । सोल्टी होटेलमा विभिन्न भेटघाट हुनुका राष्ट्रपति पौडेलले उनको सम्मान रात्रिभोजको आयोजना गरेका छन् ।  

सो रात्रिभोजमा नेपालका मन्त्री, नेता, व्यापारीहरू पनि सहभागी हुने बताइएको छ ।

बुधवार १०ः३० बजे प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाटको कार्यक्रम तय भएको छ । त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ । प्रधानमन्त्री प्रचण्डले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

अमिर शेख बुधबार साढे दुई बजे फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप