शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

बुधबार, १२ वैशाख २०८१, १५ : ०१
बुधबार, १२ वैशाख २०८१

तनहुँ । तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको छ ।  

जिल्लाको घिरिङ गाउँपालिका-४ मानपुरबाट सुरु गरी नवलपुरको डेढगाउँको सिमानासम्म कालोपत्र गर्न लागिएको हो । उक्त सडक खण्डमा हालसम्म तीन किमी सडक कालोपत्र गरिसकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । 

पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र भइरहेको छ । उक्त सडक खण्ड यसै वर्ष कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

“अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिएको छ”, प्रमुख आचार्यले भने, “सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिने छ ।”

विसं २०५१ मा उक्त सडकको ट्रयाक खुलेको थियो । विसं २०७७ मङ्सिर ५ गतेदेखि सडक स्तरोन्नतिका काम सुरु गरिएको थियो । 

रु ३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तीन सय १६ मा कालोपत्रको ठेक्का पाएको थियो । 

विसं २०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माणकार्य ढिलाइ भएको हो । 

जिल्लामा यसवर्ष पिसिसि, आरसिस र कालोपत्र गरी २६ किमी सडक निर्माण गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप