शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने

बिहीबार, १३ वैशाख २०८१, १२ : ०३
बिहीबार, १३ वैशाख २०८१

नयाँ दिल्ली । अमेठीमा लोकसभाको निर्वाचनको लडाईमा छिर्नुअघि कांग्रेस नेता राहुल गान्धीले अयोध्या गएर राम मन्दिरमा दर्शन गर्न भएका छन् । वायनाडपछि राहुलले अमेठीबाट चुनाव लड्ने चर्चा चलिरहँदा यो जानकारी बाहिर आएको हो ।

राहुल गान्धीले अयोध्या गएर रामलल्लाको दर्शन गर्न सक्ने जानकारी कांग्रेस स्रोतले बताएको छ । तर उनले कुन दिन अयोध्या पुगेर राम मन्दिरमा पूजा गर्नेछन् भन्नेबारे भने केही खुलाइएको छैन ।

कांग्रेस स्रोतका अनुसार राहुल गान्धीसँगै उनकी बहिनी प्रियंका गान्धी पनि रामको दर्शन गर्न जानेछिन् । राहुल गान्धीले अमेठीबाट चुनाव लड्न सक्ने स्रोतलाई उद्धृत गर्दै बुधबार भारतीय सञ्चारमाध्यमहरुले समाचार छापेका थिए ।

यसलाई लिएर पार्टीले स्थानीय तहमा पनि तयारी तीव्र पारेको बताइएको छ । राहुल गान्धी र मल्लिकार्जुन खर्गेबिच पनि वार्ता भइरहेको बताइएको छ । शुक्रबार वायनाडमा मतदान भएपछि राहुलको नाम घोषणा हुनसक्ने अनुमानहरू चर्किएको छ ।

अप्रिल २६ मा वायनाडमा मतदानपछि राहुल गान्धी अमेठी आउने केन्द्रीय मन्त्री र अमेठी लोकसभा क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) की उम्मेदवार स्मृति इरानीले सोमबार बताएकी थिइन् । राहुलले जातिवादको नाममा जनतालाई विभाजन गर्दै मन्दिर धाउने आरोप इरानीले लगाएकी थिइन् ।

स्मृति इरानीले सन् २०१९ लोकसभा चुनावमा अमेठीबाट तत्कालीन सांसद तथा कांग्रेसका पूर्वअध्यक्ष समेत रहेका गान्धीलाई पराजित गरेकी थिइन् । कांग्रेसले अहिलेसम्म अमेठीमा आफ्नो उम्मेदवार घोषणा गरेको छैन ।

राहुल गान्धीले केरलाको वायनाड सिटबाट २०१९ को लोकसभा चुनाव जितेका थिए । यसपाली पनि उनी त्यहीँबाट चुनाव लडिरहेका छन् । दोस्रो चरणमा वायनाडमा २६ अप्रिलमा मतदान हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप