आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा

बिहीबार, १३ वैशाख २०८१, १३ : ४८
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतले नक्कली परीक्षार्थी खडा गरेको पाइएको छ । आफ्ना भाइहरूलाई कक्षा १२ पास गराउनका नक्कली परीक्षार्थी खडा गरेको पाइएको हो । 

एक व्यक्तिको परीक्षाको फारममा अर्को व्यक्तिको फोटो टाँसेर राष्ट्रिय परीक्षा बोर्डमा पठाएको पाइएको हो । बोर्डका कर्मचारीहरूले समेत रूजु नगरी बोर्डका छाप तथा परीक्षा नियन्त्रकको हस्ताक्षर गरेर सदर गरेको देखिन्छ । 

प्रिन्सिपल गोपालका भाइहरू दीपक महत, तिलबहादुर महत तथा प्रशान्त विष्ट, मुकेश चन्द, विवेक न्यौपाने गरी ५ जनाको नाममा नक्कली परीक्षार्थी खडा गरेको पाइएको हो । उनका आफ्नै भाइ दीपक २०४७ सालमा जन्मिएका थिए । उनले पटक पटकको परीक्षामा कक्षा १२ पास गर्न सकेनन् । त्यसपछि यो पटक परीक्षा फाराममा विवरण उनको राखेर फोटो भने यसअघि नै २०७९ सालमा पासआउट भएका विद्यार्थी लोकबहादुर भण्डारीको राखेको पाइएको हो । 

त्यस्तै प्रशान्त विष्टको नाममा २०७८ सालमा पासआउट भएका विद्यार्थी प्रस्ताव केसीको फोटो राखेको पाइएको हो । प्रिन्सिपल गोपालका अर्का भाइ तिलबहादुर महतको नाममा कृष्ण भुसालको फोटो टाँसेर परीक्षा बोर्डमा पठाएको पाइएको हो । 

यता मुकेश चन्द र विवेक न्यौपानेको नाममा समेत अर्कै व्यक्तिको फोटो टाँसेर पठाएको पाइएको हो । त्यसरी नाम एउटाको र फोटो अर्कैको भरेर पठाएको फारम परीक्षा बोर्डबाट रुजु भएको पाइन्छ । जबकि विद्यार्थीले कक्षा १२ मा अध्ययन गर्ने बेला भरिने रजिस्ट्रेसन फारममा एउटा व्यक्तिको फोटो छ भने परीक्षाका लागि भरिने परीक्षा फाराममा अर्कै व्यक्तिको फोटो देखिन्छ । 

D

यसअघि नै पासआउट भइसकेका विद्यार्थीहरूको फोटोको दुरुपयोग गरेर प्रिन्सिपल महतले नक्कली परीक्षार्थी खडा गरेर आफ्ना भाइहरूको परीक्षा दिलाउन खोजेका हुन् । 

स्कुलले आफ्नो फोटोको दुरुपयोग गरेको भन्दै लोकबहादुर भण्डारीले प्रहरीमा उजुरी दिएका छन् । प्रहरी वृत्त महाराजगञ्जमा आफ्नो फोटो दुरुपयोग गर्नेमाथि कारबाही गर्न माग गर्दै उजुरी दिएको भण्डारीले बताए । 

lok bahadur bhandari ujuri

आफ्नो फोटो दुरुपयोग भएको थाहा पाएपछि कारबाहीका लागि प्रहरीमा उजुरी दिएको भण्डारीको भनाइ छ । स्कुलका प्रिन्सिपल महतले भने गल्तीवश अर्कै विद्यार्थीको फोटो टाँसिन पुगेको बताए । अर्कै व्यक्तिको फोटो टाँसिएको थाहा पाए लगत्तै आफूहरूले ती विद्यार्थीको परीक्षा रोक्न माग गर्दै परीक्षा बोर्डलाई खबर गर्न लागेको उनको भनाइ छ । 

‘हामीले जानी जानी यस्तो गरेको होइन । फाराम भर्ने क्रममा टोकरीको रहेको फोटोहरूमध्ये केहीमा अर्कै व्यक्तिको फोटो टाँसिन पुगेछ । त्यो थाहा पाएपछि हामीले सम्बन्धित निकायलाई परीक्षा रोक्न भन्दै पठाइसकेका छौँ,’ प्रिन्सिपल महतले भने । 

यो विषयमा शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री सुमना श्रेष्ठसम्म पुगेको थियो । उजुरी पुगेपछि मन्त्रीको सचिवालयले तत्काल आवश्यक कारबाही गर्न भन्दै राष्ट्रिय परीक्षा बोर्डलाई पत्राचार गरिएको थियो । बोर्डले यो विषयमा आवश्यक छानबिन थालेको छ । त्यस्तै काठमाडौँ महानगरको शिक्षा विभागले समेत आवश्यक छानविनको प्रकृया अगाडि बढाएको हो । 

राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश परीक्षा व्यवस्थापन कार्यालयकी प्रमुख जयन्ती सत्यालले रजिष्ट्रेशन फाराम र परीक्षा फाराममा फरक फोटो भेटिएको बताइन् । ‘उजुरी परेपछि हामीले फाइल चेक गर्ने बेला रजिष्ट्रेशन फाराम र परीक्षा फाराममा फरक–फरक फोटो पाइयो । अब परीक्षा रद्द गरेर आवश्यक कारबाही हुन्छ,’ सत्यालले भनिन् ।  

नक्कली विद्यार्थीको परीक्षा बोर्डले रद्द गर्ने र अन्य कारबाही काठमाडौँ महानगरले गर्ने उनको भनाइ छ । ‘हामीले परीक्षा रद्द गर्छौँ । अन्य कारबाही गर्ने अधिकार स्थानीय तहलाई छ । हामीले काठमाडौँ महानगरलाई लेखी पठाउँछौं,’ सत्यालले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप