शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’  प्रकाशित

आइतबार, १६ वैशाख २०८१, ११ : ०१
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास पैसाको उडान  प्रकाशित भएको छ  । लघुकथामा अब्बल मानिने रवीन्द्र समीरले प्रयोगवादी उपन्यास लेखनमा लागिरहेका छन्  । मृत्युको आयु, कोरोना तन्त्रजस्तै पैसाको उडान पनि लघुकथा शैलीमा लेखिएको  उपन्यास हो  ।

अकल्पनीय रुपमा अर्बपति भएको कुवेर नामक नेता पैसाले खुसी, इज्जत, भोक, निद्रा, भावना, मुस्कान, आँसुजस्ता अभौतिक वस्तु किन्ने दौडमा आधारित यो उपन्यासमा उसको मानसिक विचलन उजागर गरिएको छ  । सँगै राजनीति गरेको सुदामाको आदर्श जीवनलाई उपन्यासका हरेक कथामा सँगसँगै बुनिएको छ  ।

पैसाको उडान उपन्यासमा पैसाको महत्त्व मात्र हैन सीमितताबारे मार्मिक ढङ्गबाट लेखिएको छ  । विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको विकासले मानव सभ्यतामाथि के कस्तो प्रभाव पार्न सक्छ भन्ने आकलन पनि गरिएको छ  ।

पैसाको लागि काकाकुल बनेको यो वैश्य युगमा पैसाका आवश्यकता मात्र नभएर मृगतृष्णा भएको तथ्य सूक्ष्म ढङ्गबाट उजागर गरिएको छ  । मुख्य पात्र कुवेर र सुदामाको वरिपरि लेखिएको यो उपन्यासमा मुख्यता ५६ वटा च्याप्टर रहेका छन्  । अत्यधिक पैसाले जीवनमा के कस्ता दुष्प्रभाव गर्दछ भन्ने कोणबाट यो उपन्यास पृथक् रहेको छ  ।

शिखा बुक्सले प्रकाशन गरेको पैसाको उडानको मूल्य ३२५ रहेको छ  ।

समीरका अर्जुनदृष्टि, ईश्वरका कथा, अणु र पहाड, ग्रेटवालको ग्रेट अनुभूति, भूकम्पमा मल्हमपट्टी, एकलब्य दृष्टि, मृत्युको आयु, कोरोनातन्त्र लगायत १४ वटा साहित्यिक कृति प्रकाशित छन्  ।

समीरले युवा वर्ष मोती पुरस्कार, उत्तम शान्ति पुरस्कार, पद्मश्री पुरस्कार, अनेसास पुरस्कार, नेपाल विद्याभुषण पदक लगायत तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप