शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
लगानी सम्मेलन

विदेशी लगानीकर्ता भन्छन्, ‘नेपालमा जलविद्युत्, सूचना प्रविधि र कृषिमा सम्भावना देख्यौँ’

सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । लगानी सम्मेलनमा सहभागी बन्न आएका विभिन्न देशका उच्च पदस्थ, लगानीकर्ता र उद्योगी व्यवसायीले नेपाल सम्भव नै सम्भावनाको देश भएको बताएका छन् । लगानी सम्मेलनका क्रममा विभिन्न सेसनमा सहभागिता जनाएका उनीहरूले नेपालमा लगानीको उच्च सम्भावना देखिएको बताएका हुन् ।

सम्मेलनमा सहभागीताका लागि आएका नेपाल र भारतका लागि मोरोक्कोका राजदूतले नेपाल उच्च सम्भावना बोकेको मुलुक भएको बताएका हुन् । उनले रातोपाटीसँगको कुराकानीमा नेपालमा कृषि क्षेत्र प्राथमिकतामा देखिएको बताए । उनले भने, ‘नेपालमा हरित ऊर्जा, पर्यटन जस्ता क्षेत्रमा उच्च सम्भावना देखियो । तर, योभन्दा धेरै कृषि क्षेत्रमा सम्भावना छ । यहाँ मल कारखानाको उच्च सम्भावना छ ।’

उनले योबाहेक पूर्वाधार क्षेत्रसमेत नेपालको सम्भावित क्षेत्र भएको बताए । नेपालवासी समृद्धिमा विश्वास गर्ने र विदेशी लगानीकर्तालाई सहयोगी भाव राख्ने भएकाले पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्यका रूपमा विकास हुन सक्ने उनको भनाई छ । 

भावी दिनमा मोरोक्कोबाट नेपालमा लगानीका लागि आउन चाहने लगानीकर्तालाई कृषि, मल कारखाना, हरित ऊर्जा र पर्यटनमा लगानी गर्न प्रोत्साहन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल र मोरोक्को दुवै देश पर्यटन क्षेत्रमा धेरै अघि बढ्न सक्ने बताए ।

यस्तै दक्षिणपूर्वी देश र प्रशान्त महासागरका लागि कुवेत फन्डका अधिकृत युसुफ अल्वेदोले नेपालले सफलतापूर्वक शिखर सम्मेलन आयोजना गरेको बताए । उनले यो सम्मेलनमा नेपाल सरकार र प्रतिपक्ष तथा विकास साझेदार र लगानीकर्ता समूहमा समेत एकजुट देखिएको अल्वेदोले बताए । 

कुवेत फन्डले नेपालमा सन् १९७५ देखि लगानी गरिरहेको समेत अल्वेदोले स्मरण गराए । सो लगानी नेपालको ऊर्जा क्षेत्रमा केन्द्रित रहेको उनको भनाई छ । ‘अहिले हाम्रो पोर्टफोलिया सानो छ । यो ७० मिलियन अमेरिकी डलरमा छ,’ उनले भने, ‘तर भावी दिनमा यो बढ्नेछ ।’

उनका अनुसार कुवेतले कुवेत फन्डमार्फत् नेपालमा जलविद्युत र सिँचाइका परियोजनामा लगानी गरेको छ । कुवेत फन्डले लगानी गरिरहेको पछिल्लो परियोजना बुढीगंगा जलविद्युत आयोजना हो । यो आयोजनामा कुवेत फन्डले वित्तीय लगानी गरिरहेको छ । 

‘यो सम्मेलनमा म नेपालमा थप लगानीको अवसर खोज्नका लागि आएको हुँ,’ उनले थपे, ‘यो सम्मेलनको आयोजनाबाट नेपालले भावी दिनमा धेरै ठुलो उपलब्धि पाउन सक्छ ।’

चीनका लागि घानाको राजदूतावासका प्रतिनिधि अल हसनले नेपाल र घानाबिच धेरैजसो क्षेत्रमा समानता रहेको बताए । उनले नेपाल र घाना दुवै देश विदेशी लगानीको खोजीमा रहेको बताउँदै भने, ‘सूचना प्रविधि क्षेत्र लगानीको मुख्य क्षेत्र हो भन्ने मेरो निष्कर्ष छ ।’ यसकारण नेपालमा सूचना प्रविधि क्षेत्रमा नेपाल र घाना मिलेर अघि बढ्न सक्ने उनले बताए । 

नागरिकले नेपालमा लगानी गर्न चाहेमा भावी दिनमा कृषि क्षेत्रका लागि प्रोत्साहन गर्ने हसनको भनाई छ । ‘घानाबाट विश्वको सबैभन्दा धेरै चकलेटको कच्चा पदार्थ उत्पादन हुन्छ,’ हसनले थपे, ‘हामीले कृषि क्षेत्रमा विज्ञता हासिल गरेका छौँ । उनीहरूले नेपालमा लगानी गरेमा कृषि क्षेत्रमा नेपाल अघि बढ्न सक्छ ।’

पोडवे क्षेत्रमा लगानी गर्ने चाहनासहित नेपाल आएको क्रोएसियाली नागरिक मिहाजिलो मोकान्भिकले सम्मेलनका क्रममा धेरै व्यवसायी र उद्योगीसँग भेट गरेको बताए । उनले अहिलेसम्म नेपालमा लगानी नगरे पनि आगामी दिनमा नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने सोचसहित सम्मेलनमा सहभागी बनेको मोकान्भिकले बताए । 

‘आगामी दिनमा म नेपालको यातायात पूर्वाधार क्षेत्रमा लगानीको सोचमा छु,’ उनले भने, ‘यसका लागि नेपालको स्थानीय कम्पनीसँग सहकार्य नै गरिसकेका छौँ । छिट्टै लगानी सुरु गर्ने तयारी अघि सरकारको कानुनी नीति हेरिरहेका छौँ ।’

यस्तै सम्मेलनमा सहभागीताका लागि आएका चीनका ऊर्जा उद्यमी गेरीले नेपालमा जलविद्युत क्षेत्रमा अत्यधिक लगानीको सम्भावना देखेको बताए । लगानीको अवसर खोज्दै नेपाल आएका उनले हरित ऊर्जामा लगानीका लागि योजना बुनिरहेको बताउँछन् । 

तर यसका लागि सरकारी नीति र स्थानीय लगानीको वातावरणबारे गहन अध्ययन गर्ने गेरीको भनाई छ । ‘नेपालमा लगानी गरेँ भने म ऊर्जा क्षेत्रमा लगानी गर्छु,’ गेरीले भने, ‘मेरो अनुभव नै ऊर्जा क्षेत्रमा छ । त्यसैले नेपालमा लगानी गरेमा यही क्षेत्र रोज्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया