बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो

बिहीबार, ०३ जेठ २०८१, २२ : ५७
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । गायक एवं सर्जक प्रकाश दुतराजको पछिल्लो गीत ‘करिम’ विवादमा मुछिएको छ । गत सोमबार सार्वजनिक गीतमा प्रकाशले वादी समुदायका महिलाको पीडा र बाध्यता समेटेका छन् । यो समुदायका महिला तथा बालिकाले बाध्यताले यौन व्यवसायमा लागेको कथा गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ ।

भिडियोलाई लिएर सामाजिक सञ्जाल दुई कित्तामा बाँडिएको छ । कतिले उनको गीतको प्रशंसा गरिरहेका छन् भने कतिले आलोचना । केहीले वादीहरू देहव्यापारी हुन् भन्ने भाष्यलाई निरन्तरता दिन खोजेको आरोप लगाएका छन् । भिडियोको केही दृश्य तत्काल हटाउनसमेत केहीले माग गरेका छन् ।

दुतराज पछिल्लो समयका चर्चित गायक हुन् । समाजका यथार्थ विषय गीत–सङ्गीतमा फरक किसिमले उठाएको कारण सधैँ प्रशंसाको पात्र बन्दै आएका उनी यसपटक भने आलोचनामा परेका छन् । विवादित गीत र अबको बाटोको विषयमा गायक दुतराजसमक्ष रातोपाटीले केही प्रश्न गरेको थियो । प्रस्तुत छ, उनीसँगको सवाल–जवाफ–

भर्खर सार्वजनिक भएको गीत ‘करिम’ विवादित बन्यो । कस्तो लागिरहेछ ?

मैले अहिलेसम्म समाजका धेरै विषय गीत–सङ्गीतमा प्रस्तुत गरेर सकारात्मक प्रभाव पारेको छु । ‘करिम’ गीत पनि त्यसकै निरन्तरताका लागि बनाएको हो । गीतको विवादले र पब्लिकका विभिन्न प्रतिक्रियाले यो विषयमा गीत लेखेर गल्ती गरेछु कि भने अनुभूति भएको छ । किनभने यो भन्दा अगाडि यस्तो विवाद मैले कहिल्यै सामना गर्नु परेको थिएन ।

के हो ‘करिम’ गीत ?

‘करिम’ विभिन्न पुस्तक, उपन्यास, भिडियो, अडियो र इतिहासकारले लेखेको इतिहास, हाम्रो खोज र अनुसन्धानको आधारमा तयार पारिएको वादी समुदायको विशेष कथा हो । यो विभिन्न माध्यमबाट बाहिर आएको कथा पनि हो । अहिले मेरो गीतमा आएपछि किन विवादित बन्यो भन्ने मैले बुझ्न सकिरहेको छैन ।

किन राख्न मन लाग्यो गीतमा यो विषय ?

वादी समुदायले बेलाबेलामा आफ्नो अधिकार र हकका लागि विभिन्न आन्दोलन गर्दै आएका छन् । उहाँहरूको आन्दोलनमा हामीले आफ्नो माध्यमबाट काम गरेर सघाउनुपर्छ भन्ने लाग्यो । उहाँहरुको पीडा बाहिर आउनुपर्छ, त्यसपछि मात्र निराकरण हुन्छ भनेर पोजेटिभ हिसाबले गीत बनाएको हो । विवादमा तानियो ।

मैले त्यो समुदायको विकृति–विसङ्गति केलाउन खोजेको हो । म सानै छु । गीतमा मबाट गल्ती पनि भएको होला । तर मेरो उद्देश्य पवित्र छ । गीतमा प्रस्तुत समुदायले धेरथोर समय अन्धकारमा काटेको छ भन्ने सरकार, समाज सबैले थाहा पाउनुपर्छ । त्यसले हकअधिकारको ढोका खुल्न मद्दत पुग्छ भन्ने हो ।

राम्रो भन्ने पनि छन् कि ?

गीतले मिश्रित प्रतिक्रिया पाइरहेको छ । एक किसिमकाले राम्रो भनिरहेका छन् भने अर्कोले विवाद निम्त्याएका छन् ।

भिडियो सच्याउन माग पनि गरिएको छ ?

मैले जसको सपोर्टका लागि भनेर भिडियो बनाएको हो, उहाँहरुबाट नै नकारात्मक प्रतिक्रिया आउँदा मन दुख्दो रहेछ । उहाँहरूले सच्याउनुपर्छ भन्नुभयो भने सच्याउन तयार छु । उहाँहरूले यहाँनेर सच्याउनु पर्‍यो भनेर भन्नु पर्‍यो ।

भिडियोमा यो वादी समुदायको कथा उठाएर गल्ती गरेँ भन्ने लागेको हो ?

यो गीत एउटा मेरो सिकाइ पनि भयो । यसबाट जीवनमा धेरै कुरो सिक्ने मौका पाएँ । यो सिकाइले आगामी दिनको काममा मद्दत गर्छ । यस्तो कथामा कतिसम्म गहिराइमा पुग्न मिल्ने रहेछ, समुदायले कसरी हेर्दाे रहेछ भन्नेजस्ता धेरै कुरा सिकेँ ।

वादी समुदायको पीडा देखाउँदा यौन व्यवसाय नै देखाउन पर्छ र ? अन्य विषय पनि देखाउन सकिन्थ्यो नि, होइन ?

हामीले कथा बनाउँदा तीन भागमा बाँडेका छौँ । यसको अगाडि लेखिएको छ, ‘द रियल आर्टिस जर्नी अफ ३ हन्डेट एयर्स च्याप्टर २’ । यो तीन भाग हामीले विभिन्न कुरा देखाउन खोजेका छौँ । अहिले विवादमा आएको दोस्रो भाग हो । पहिलो भागमा उनीहरू राजघरानामा मनोरञ्जन गराउने पहिलो कलाकार थिए र उनीहरूको व्यवसाय सङ्कटमा आएपछि यौनधन्दातिर लागे भनेर देखाएका छौँ । तेस्रो भागका वादीमा विभिन्न परिवर्तन देखाउने सोच थियो । तर यसैमा गाह्रो पर्‍यो ।

भिडियोका लागि रिसर्च पनि गर्नु भयो कि ?

कर्णालीको चिसापानी, सुर्खेत लगायत धेरै ठाउँमा पुगेर रिसर्च समेत गरेका थियौँ ।

चर्चाका लागि भिडियो यस्तो बनाएको पो हो कि ?

मैले अहिलेसम्म गरेको हरेक गीत हेर्नु, त्यसमा नेपालको मौलिक कथा, संस्कृतिसँग जोडेर आफ्नो माटोको गीत ल्याउँदै आएको छु । त्यसरी गर्दै गर्दा यो छानिएको हो । अहिले विवादले धेरै बहकिएछ कि जस्तो लाग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप