आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
सरकारको नीति तथा कार्यक्रम

स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा

देशभर कुन तहको जनशक्ति कति ?
बिहीबार, ०३ जेठ २०८१, २३ : ०१
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । जनशक्ति अभावका कारणले देश ठुला अस्पतालहरूको सेवा सुविधा खुम्चिँदै जानुका साथै स्वास्थ्यकर्मीलाई कार्यभार बढाएको छ । जसले गर्दा सेवाग्राहीले गुणस्तरीय स्वास्थ्य सुविधा पाउन सकेका छैनन् ।

वीर अस्पतालमा ९६० शय्या क्षमता भए पनि हाल ६ सय शय्यामात्रै सञ्चालित छ । जनशक्ति अभावका कारण ३६० शय्या प्रयोगविहीन बनेको छ ।

देशभर स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भए पनि दरबन्दी खुलाउन पहल भएको छैन । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा गत मंगलबार आगामी आर्थिक वर्ष (२०८१÷०८२) को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । तर सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव तथा व्यवस्थापनको विषय समेटिएन ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्घीयता कार्यान्वयन हुनुअघि देशमा जम्माजम्मी ३१ हजार ६ सय ५० जना स्वास्थ्यकर्मीको दरबन्दी थियो । त्यसमा पनि अहिलेसम्म कतिपय स्वास्थ्यकर्मीले अवकाश पाइसकेका छन् । यद्यपि स्वास्थ्य क्षेत्रमा थप जनशक्ति व्यवस्थापन हुन सकेको छैन ।

नीति तथा कार्यक्रममा सबै विषय समेट्न नसकिने भए पनि जनशक्ति व्यवस्थापनका लागि पहल गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी रविकान्त मिश्रले बताए । ‘नीति तथा कार्यक्रममा हामीले पहल गरेको सबै विषय समेट्नु पर्छ भन्ने हुँदैन, तर यो विषयलाई ओएनएम मार्फत समेटिएको छ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनका लागि विभिन्न निकायसँग पहल पनि गरेका छौँ ।’

मिश्रले नेपालमा स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि रणनीति नै बनाएर पहल गरिरहेको दाबी गरे ।

पूर्वस्वास्थ्य सचिव तथा वरिष्ठ छातीरोग विशेषज्ञ डा. दीर्घ सिंह बमले विद्यमान जनशक्तिले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन रहेको बताए । ‘स्वास्थ्य क्षेत्रमा धेरै विषयमा ध्यान दिनुपर्ने छ,’ उनले भने, ‘पुरानो संरचनालाई अहिलेको अवस्थामा ल्याउन प¥यो । पूर्वधार, उपकरणहरू, औषधि उपचारको कुरा होला, सबैभन्दा ठुलो जनशक्तिको कुरा आउँछ ।’

पछिल्लो समय देशभर छरिएको स्वास्थ्य जनशक्तिलाई कहाँ कति आवश्यक भन्ने विषयमा अध्ययन हुनुपर्ने डा. बमले बताए । ‘स्वास्थ्य जनशक्ति कुन रुपमा छरिएको छ, कहाँ पुग्छ, कहाँ पुगेको छैन,’ उनले भने, ‘स्थानीय सरकार, प्रदेश सरकार अनि सङ्घीय सरकारबिच समन्वय हुनुप¥यो ।’

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्दा सरकारलाई आर्थिक भार पर्ने र राज्यले स्रोतले थप्न सक्ने गरी व्यवस्थापनको पहल भइरहेको सम्बद्ध अधिकारीले बताएका छन् ।

देशभर कुन तहको जनशक्ति कति ?

सङ्घीयतामा गइसकेपछि स्वास्थ्य क्षेत्रमा मुलुकभर के–कति जनशक्ति कार्यरत छन् वा कति आवश्यक हो भन्ने यकिन तथ्याङ्क नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।  मन्त्रालयका अनुसार मुलुक सङ्घीयतामा जाँदा स्वास्थ्य सेवाका १२ औँ तहका तीन जना, ११ औँ तहका २ सय ८२ जना स्वास्थ्य जनशक्ति थिए । नवौँ र दशौँ तहका १ हजार ४९ जना, सातौँ र आठौँ तहका १ हजार ५ सय ४९ जना स्वास्थ्यकर्मी कार्यरत थिए । यस्तै, चौथो, पाँचौँ र छैटौँ तहका स्वास्थ्य क्षेत्रका कर्मचारी २८ हजार ७ सय ६७ जना कार्यरत थिए । देशभर जम्माजम्मी ३१ हजार ६ सय ५० जना स्वास्थ्यकर्मीको दरबन्दी थियो ।

सङ्घ, प्रदेश र स्थानीय तहमा कति जनशक्ति ?

देशभर स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति ३१ हजार ६५० जना रहेकोमा सङ्घीयतामा समायोजन हुँदा केन्द्रमा १ हजार ४ सय १८ जना स्वास्थ्यकर्मी थिए । हाल सङ्घमा ११ औँ तहको ३० जनाको दरबन्दी, नवौँ तहको १ सय ९ जनाको दरबन्दी, आठौँ तहको १ सय ५० देखि २ सय जनाको दरबन्दी खाली भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा ५ हजार १ सय ३० जना र स्थानीय तहमा २५ हजार १ सय २ जना स्वास्थ्यकर्मी रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापनका लागि लगानी आवश्यक पर्ने सम्बद्ध अधिकारीको भनाइ छ । सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने उनीहरूको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप