सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गुरुङको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने

बिहीबार, २७ वैशाख २०८१, १३ : ३२
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बिहान बसेको बैठकले गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

२०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भई कांग्रेसको राजनीतिक यात्रा प्रारम्भ गरेका स्वर्गीय गुरुङलाई वि.सं २०१७ मा प्रजातन्त्र अपदस्थ पछि तत्कालीन व्यवस्थाले पक्राउ वारेन्ट जारी गरेको थियो ।

तत्पश्चात् उनी भारतको दार्जिलिङ निर्वासित भई सशस्त्र संगठनमा सक्रिय रहेको कांग्रेसले जनाएको छ । २०१८ फागुन २२ गते च्याङथापुमा श्रीजंग गुल्ममा आक्रमण गरी कब्जा गर्दाको समयमा र २०१८ चैत्र १७ गते ताप्लेजुङ अदालत, प्रहरी कार्यालय र जेल कब्जा गरी कैदीहरूलाई मुक्त गरेको अभियोगमा उनलाई ट्रिबुनलले जन्म कैदको फैसला गरेको थियो । 

उनले लोकतन्त्र स्थापनाका लागि गरिएका संघर्षका क्रममा स्वर्गीय गुरुङले पटक-पटक जेल जीवन, भारत निर्वासन, नजरबन्द, सम्पत्ति रोक्का जस्ता विविध व्यवधानहरू बेहोरेका थिए ।

उनी कांग्रेस ताप्लेजुङको पटक–पटक जिल्ला सभापति, नेपाल आदिवासी जनजाति संघका पूर्व केन्द्रीय सभापति, नेपाल किसान संघका पूर्व केन्द्रीय महासचिव समेत भएका थिए ।  उनी २०७३ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र पछि स्थानीय विकासमन्त्री भएका थिए । 

स्वर्गीय गुरुङप्रति सम्मान प्रकट गर्दै कांग्रेसले वैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसले गुरुङको शोकमा वैशाख २८ गते शुक्रबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय पनि गरेको छ ।  यस्तै स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र शोक सभाको आयोजना गर्ने मुख्यसचिव पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप