मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
मिसन कश्मीर

परराष्ट्र मन्त्रालयको सहयोगमा सरोजले कश्मीरबाट उद्धार गरे ३५ जना नेपाली

सोमबार, ३१ वैशाख २०८१, ०६ : ४८
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । भारतको जम्मु कश्मीरबाट ३५ जना नेपाली कामदारलाई उद्धार गरिएको छ । जम्मु कश्मीर श्रीनगरको बडगाउँ जिल्लामा बन्धक बनाइएका ३५ नेपालीलाई सामाजिक अभियन्ता सरोज रायले परराष्ट्र मन्त्रालय, जम्मु कश्मीर प्रहरी अपराध महाशाखा, केआईएन भारतको सहयोगमा उद्धार गराउन सफल भएका हुन् ।

उद्धार गरिएकाहरूलाई डिस्ट्रिक पुलिस लाइन श्रीनगरमा राखिएको अभियन्ता रायले बताए । स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिइएको र पीडितहरूलाई न्यायाधीशकै अगाडि उभ्याएर बयान लिने तयारी चलिरहेको कारण नेपाल फर्किन केही समय लाग्ने उनको भनाइ छ । अहिलेसम्म तीन जनाको बयान लिइसकेको अभियन्ता रायले जानकारी दिए ।

बन्दी बनाइएकामध्ये महोत्तरीका २३ जना, सर्लाहीका ११ र धनुषाका दुई जना छन् । सबै जना पिछडिएका समुदायका हुन् । उनीहरू १५ वर्षको उमेरदेखि ४४ वर्षसम्मका छन् ।

2

  • नेपालीहरू कसरी पुगे कश्मीर ?

तीन महिनाअघि भारतको बिहार राज्यस्थित अररिया जिल्ला निवासी एजेन्टहरू नेपाल आएर विपन्न समुदायका नेपाली युवालाई ललाइफकाइ कश्मीर लगेका थिए । कश्मीरमा राम्रो काम पाइन्छ, दिनको ११ सय नेपाली रुपैयाँ पारिश्रमिकसहित खान, बस्न सुविधा दिइने भन्दै ती एजेन्टले विभिन्न जिल्लाबाट कामदार सङ्कलन गरेका थिए ।

सबैलाई विश्वासमा लिन ठेकेदारले तत्कालै सबैको हातमा सात–सात हजार रुपैयाँ थमाइदिएका थिए ।

सर्लाही, महोत्तरी र धनुषाबाट एकसाथ ४२ जना कामदार भारतको जम्मु कश्मीर पुगेका थिए । उनीहरूलाई सडकको नाला बनाउन काम दिने भनेर लगिएको थियो । तर उनीहरूलाई त्यहाँ घर निर्माणको काम लगाइएको थियो, त्यो पनि बन्धक बनाएर ।

पैसा पनि नदिने, समयमा खान पनि नदिने, कुटपिट गरी डराइधम्काइ काममा लगाइएको पीडितको भनाइ छ ।

6

कश्मीर पुगेका महोत्तरी, गौशालाका हरि सदा भन्छन्, ‘ठेकेदारको कुरा सुनेर हामी निकै खुसी थियौँ, हाम्रा परिवारका सदस्यहरू पनि खुसी थिए, उहाँहरूले हामीलाई बडो आदर र सम्मानका साथ जम्मु कश्मीर पुर्‍याउनु भएको थियो ।’

तर त्यहाँ पुगेपछि आफूहरूले साह्रै दुःख पाएको सदा बताउँछन् । ‘त्यहाँ पुग्ने बित्तिकै हामीसँग भएको मोबाइल र पैसा उहाँहरूले लिनुभयो, हाम्रो शरीरमा लगाइएको लुगाबाहेक केही दिनुभएन,’ उनले भने, ‘त्यतिबेला नै हामीलाई डर लागिसकेको थियो । त्यही दिनदेखि हामीलाई उहाँहरूले कुटपिट र विभिन्न यातना दिन सुरु गर्नुभएको थियो । डरले हामी केही बोल्नै सकेनौँ ।’

  • चरम यातना

पीडित हरि सदाका अनुसार कश्मीर लगिएका सबै नेपाली कामदारलाई एउटै कोठामा कोचेर राखिएको थियो । बसेकै कोठामा दिसापिसाब गर्नुपर्ने, दुई टाइम खान दिइएपछि खाजाको व्यवस्था नगरिएको र कश्मीर पुगेको दिनदेखि नै नुहाउनसमेत नपाइएको उनको भनाइ छ ।

‘हामीले सात जना नेपालीलाई यसैगरी ल्याएर मारेर फाल्दिएका छौँ, तिमीहरूमध्ये कोहीले केही बोल्यौ वा उल्टासिधा केही गरेमा यही मारेर फाल्दिन्छु भनेर हामीलाई पटकपटक धम्क्याउने गर्दथे,’ आफूहरूले भोगेको पीडा सुनाउँदै सदाले भने, ‘कहिले बेल्टले, कहिले रडले हामीलाई दिनरात पिट्ने गर्दथे । त्यसैले बाहिर केही बोल्ने हिम्मत नै आएन ।’

5

सदाका अनुसार बिहान एउटा गाडीमा चढाएर काम गर्ने ठाउँमा लैजाने, धम्क्याउने तथा पिट्ने गरिन्थ्यो । ‘हामी घर बनाउने काम गर्थ्यौँ, १० जनाको काम हामी पाँच जनाबाट गराउँथे,’ उनले भने, ‘काम गर्न नसके त्यहीँ कुट्ने गर्दथे । करिब तीन महिनासम्म काम गरे पनि पारिश्रमिक दिएनन् ।’

अभियन्ता रायका अनुसार नेपाली कामदारको शरीरमा अहिले पनि नीलडाम छ । आफू बसेकै कोठामा दिसापिसाब गराइएको भाँडो पनि कोठामा पाइएको उनले बताए ।

उद्धार गर्न जाँदा पनि उनीहरूलाई दुई वटा कोठामा ताल्चा लगाएर राखिएको अवस्थामा फेला परेको अभियन्ता रायको भनाइ छ । उनले भने, ‘हामी पुलिससहित श्रीनगरको करालपुरा पुग्दा उनीहरूलाई एउटा घरको दुई वटा कोठामा ताल्चा लगाएर थुनेर राखिएको अवस्थामा उद्धार गरेका थियौँ, कतिपय त बिरामी अवस्थामा थिए ।’

  • भागेकाहरूले खोले पोल

कश्मीरमा बन्दी बनाइएका ४२ जनामध्ये पटकपटक गरेर सात जना नेपाली भाग्न सफल भएका थिए । त्यसरी भागेकाहरूसँग पैसा पनि थिएन । ठाउँठाउँमा पैसा माग्दै लुकीछिपी उनीहरू नेपाल आइपुगेका थिए ।

त्यसरी भागेर आउन सफल सञ्जय सदा भन्छन्, ‘काम गर्ने ठाउँबाट हामी दुई जना भागेका थियौँ । हामी त्यहाँको एउटा सैनिक क्याम्पमा गयौँ तर त्यो क्याम्पले कुनै सहयोग गरेन । त्यसपछि दुईतीन घण्टा हिँडेपछि सेनासँग भेट भयो,’ उनले भने, ‘त्यो सैनिकले अगाडिको सैनिकलाई देखाए, अगाडिको सैनिकसँग सहयोग माग्दा ट्राफिकलाई देखाए ।’

1

ट्राफिकले एउटा गाडीमा चढाइदिएपछि आधा कश्मीरको यात्रा तय भएको उनको भनाइ छ । त्यसपछि फेरि एउटा सैनिकलाई भेटेपछि आफ्नो पीडा सुनाएको र उनले दुई जनालाई आठ सय रुपैयाँ सहयोग गरेर एउटा टिपरमा चढाइदिएको उनले बताए ।

त्यो टिपरले उनीहरूलाई रेल्वे स्टेशन नजिकै छाडेको थियो । त्यहाँबाट रेल चढेर उनीहरू जम्मु पुगेका थिए । जम्मुबाट उनीहरू दिल्ली पुगे । दिल्लीबाट जयनगरका लागि विना टिकट नै उनीहरू रेल चढे । बाटोमा रेलवे स्टाफले टिकट खोजेपछि उनीहरू सोनपुरमा ओर्लेका थिए । तीनचार घण्टा त्यहीँ अलमलमा परेका उनीहरू पुनः विना टिकट नै रेल चढेर जयनगर पुगे ।

भारतको जयनगरबाट हिँडेर उनीहरू जनकपुर पुगे । त्यसपछि कश्मीरमा बन्दी अवस्थामा रहेकाहरूको घरपरिवारलाई उनीहरूले जानकारी गराए ।

  • प्रहरीदेखि मन्त्रीसम्मलाई गुहार

पीडितका परिवारले प्रहरीदेखि विभिन्न नेता तथा मन्त्रीलाई उद्धारका लागि गुहार लगाएका थिए । तर उनीहरूको कुरालाई कसैले गम्भीर रूपमा लिएन । उनीहरूले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई पनि भेटेका थिए । मन्त्री महासेठले कुरा सुने पनि खासै चासो नदेखाएको सञ्जय सदा बताउँछन् ।

कश्मीरमा बन्धक बनाइएकाहरूको आमाबुबाले एक डेढ महिना प्रहरी प्रशासनदेखि लिएर थुप्रै ठाउँमा गुहार मागे पनि कसैले चासो नदेखाएपछि सामाजिक अभियन्ता सरोज रायलाई सम्पर्क गरेका थिए ।

8

अभियन्ता राय यसअघि पनि विदेशमा रहेका थुप्रै मानिसलाई उद्धार गरेर नेपाल ल्याउन सफल भइसकेका थिए । सरोज रायले कश्मीरबाट भागेर आएकाहरूसँग सम्पर्क गरी आवश्यक जानकारी सङ्कलन गरे । त्यसपछि उनी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सहयोग माग्न पुगे । तर गृहमन्त्री लामिछानेले समय नै उपलब्ध गराएनन् ।

सरोज राय भन्छन्, ‘गृहमन्त्रीज्यूले भेट्नै चाहनुभएन, अनि मैले परराष्ट्र मन्त्रालयको सचिव सेवा लम्साललाई भेटेँ र सबै कुरा विस्तारपूर्वक सुनाएँ ।’

  • नेपाली दूतावासलाई परराष्ट्रको पत्र

सचिव लम्सालसँग कुरा गरिसकेपछि सरोजले त्यहाँ एउटा लिखित निवेदन दिएका थिए । सो निवेदनका आधारमा परराष्ट्र मन्त्रालयले जम्मु कश्मीरमा समस्यामा परेका नेपाली कामदारलाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन भारतस्थित नेपाली दूतावासलाई पत्र लेखेको थियो ।

दूतावासमा सो पत्र गइसकेपछि सरोज राय मे २ मा दिल्ली पुगे । ३ मेमा नेपाली राजदूतसँग उनले यसबारे छलफल गरे । लगत्तै दूतावासले कश्मीर श्रीनगरका एसएसबीलाई आवश्यक सहयोग जुटाइदिन पत्र लेख्यो ।

सरोज यादव दिल्लीबाट जम्मु कश्मीर ५ मेमा पुगेका थिए । त्यहाँ पुगेर उनले ‘किन इण्डिया’सँग सम्पर्क गरेका थिए । ‘किन इण्डिया’ यस्तै उद्धारका काम गर्दै आएको संस्था हो ।

कश्मीरबाट भागेर नेपाल गएका सञ्जय सदा, चन्दन मण्डललाई समेत साथमा लिएर सरोज कश्मीर पुगेका थिए ।

ll

  • बन्धकलाई राखिएको घरको रेकी

उनीहरूलाई लिएर ६ मेमा सरोजले श्रीनगरको करालपुराको रेकी गरेका थिए, जहाँ नेपाली कामदारलाई बन्धक बनाएर राखिएको थियो । करालपुर पिछडिएको ठाउँ हो । त्यसपछि सरोज राय स्थानीय प्रहरीकहाँ पुगेका थिए ।  

त्यहाँको बारेमा प्रहरीलाई उनले सबै जानकारी गराएका थिए । त्यसपछि इन्स्पेक्टरको नेतृत्वमा प्रहरीको टिमसहित सरोज यादव बन्धक बनाएको ठाउँमा पुगेका थिए, जहाँ ३५ जनालाई दुई वटा कोठामा ताल्चा लगाएर राखेको अवस्थामा फेला पारिएको थियो ।

उनीहरूलाई उद्धार गर्न जाँदा ठेकेदारद्वय मुस्तकिम आलम र मोहम्मद आलम, ठेकेदारको आफन्त फिरोज आलमसहित एक जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू सबैलाई प्रहरीले डिस्ट्रिक पुलिस लाइन श्रीनगरमा ल्याएर राखेको छ । दुई जना ठेकेदार जमाल मन्सुरी र मलिम मन्सुरी फरार छन् ।

बन्धक मुक्त गराइएकाहरूलाई नेपाल ल्याउन कानुनी प्रक्रिया सुरु भएको अभियन्ता रायले बताए । उनले भने, ‘उद्धार गरिएकाहरूलाई नेपाल ल्याउन अझै ६–७ दिन लाग्छ ।’

३५ जना कामदारसहित ठेकेदारका साला फिरोज आलमलाई पनि उद्धार गरिएकाको समूहमै राखिएको छ । उनी सुनसरीको भन्टावारी निवासी हुन् । उनलाई पनि कानुनी प्रक्रिया पूरा गरेर नेपालमा ल्याइ परिवारको जिम्मा लगाइने सरोज रायले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप