बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रविबारे कांग्रेसको निष्कर्ष : अरूलाई देखाएर आफूमाथिको अनुसन्धान र छानबिनबाट भाग्ने प्रयत्न

‘रवि लामिछाने गृहमन्त्री भए पश्चात् छानबिन अनुसन्धान अवरुद्ध गरिए’
सोमबार, ०७ जेठ २०८१, १२ : ०५
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । आइतबार गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र असत्य भएको बताउँदै नेपाली कांग्रेसले त्यसको भर्त्सना गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले अभिव्यक्तिप्रति प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको हो ।

सहकारी ठगीको अपराधमा संलग्न गृहमन्त्रीले अरूलाई प्रश्न सोध्ने, विभिन्न तथाकथित विषयमा अरूलाई देखाएर आफूमाथिको अनुसन्धान र छानबिनबाट भाग्ने प्रयत्न गरेको बैठकले ठहर समेत गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारका गृहमन्त्री रवि लामिछानेले हिजो २०८१ साल जेठ ६ गते प्रतिनिधि सभामा बोल्नु भएको विषयलाई नेपाली कांग्रेसले अत्यन्त गम्भीर रूपले लिएको छ । गृहमन्त्री जस्तो महत्त्वपूर्ण पदमा बसेको व्यक्तिले गरेको अशिष्ट, असत्य, भ्रामक, कपोकल्पित, गैरजिम्मेवार र हिंस्रक अभिव्यक्तिको यो बैठक घोर निन्दा र भर्त्सना गर्दछ ।’ 

बैठकले लामिछानेले नेपाली कांग्रेसका विभिन्न नेताप्रति लक्षित गरी दिएको अभिव्यक्तिको छानबिन, अनुसन्धान र विषय प्रमाणित गरेर देखाउन चुनौती समेत दिएको छ । लामिछाने गृहमन्त्री भए पश्चात् सहकारी ठगीबारे छानबिन तथा अनुसन्धान अवरुद्ध गरिएको आरोप समेत लगाइएको छ ।

‘लाखौँ नेपाली नागरिकको सहकारीमा बचत गरेको अरबौँ रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको विषयमा नेपाली कांग्रेस र संघीय संसद्को अन्य विपक्षी दलले लामो समयदेखि आवाज उठाउँदै आएको छ । सहकारीको रकम ठगी गर्ने कार्यमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछाने संलग्न रहेको पर्याप्त आधारहरू तथ्य साथ सार्वजनिक भइसकेका छन्,’ कांग्रेसले भनेको छ, ‘सहकारी ठगीमा विभिन्न प्रकरणमा भइरहेको छानबिन अनुसन्धान माननीय रवि लामिछाने गृहमन्त्री भए पश्चात् छानबिन अनुसन्धान अवरुद्ध गरिएका छन् । सहकारी ठगी प्रकरणका छानबिन अनुसन्धान र अभियोजन गर्ने सबै संयन्त्रलाई लज्जास्पद रूपले दुरुपयोग गरेको छ । नेपाल प्रहरी, महान्यायाधिवक्ता जस्ता सरकारी निकाय छानबिन अवरुद्ध गर्न प्रयोग भएका छन् ।’

बैठकले सहकारी ठगीका विभिन्न प्रकरणहरूमा गृहमन्त्री लामिछाने माथि स्वतन्त्र र निष्पक्ष छानबिनको सुनिश्चितता गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्‍याएको छ ।

PR 2081.2.7- Dal Meeting

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप