शनिबार, ०५ साउन २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

कुन्ता शर्माका तीन कविता

शनिबार, २६ जेठ २०८१, १७ : १८
शनिबार, २६ जेठ २०८१

१) पोथी बास्नु हुँदैन

सधैँसधैँ
घरका धुरीहरूमा
बारका घोँचाहरूमा 
आँगनहरूमा, बार्दलीहरूमा
घाँटी तन्काउँदै, सिउर हल्लाउँदै 
बास्ने काम त भालेको हो
आवाज उकास्ने काम भालेको हो ।
पोथीले मात्र कुरकुराउनुपर्छ
आक्रोशका घुड्का चुपचाप निल्नुपर्छ 
अन्डा पार्नुपर्छ
ओथारो बस्नुपर्छ
चल्ला काढ्नु अनि तन्मयतापूर्वक बच्चा हुर्काउनुपर्छ
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

पाटो बाटो हो
त्यो साँघुरो होस् या फराकिलो
त्यो सफा होस् या घिनलाग्दो
चुपचाप–चुपचाप हिँड्नुपर्छ
नयाँनयाँ कुरा सोच्नु हुँदैन 
पुरातनलाई घोच्नु हुँदैन 
परिवर्तनमा चासो राख्नु हुँदैन 
पोथी बास्नु हुँदैन ।

आँसु हतियार हो 
मुस्कान हतियार हो
ठाउँअनुसार समयअनुसार प्रयोग गर्नुपर्छ 
स्थितिअनुसार परिस्थितिअनुसार उपयोग गर्नुपर्छ 
स्वतन्त्र विचार राख्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन 

पोथी बास्नु हुँदैन ।

 

तौलीतौली बोल्नुपर्छ 
शब्दमा आदरभाव घोल्नुपर्छ 
पाउमा निहुरिनुपर्छ
दासताको फूल सिउरिनुपर्छ 
लक्ष्मणरेखा नाघ्नु हुँदैन 
अधिकार माग्नु हुँदैन 
पोथी बास्नु हुँदैन ।

टेक गर्नु हुँदैन 
थुनछेक गर्नु हुँदैन 
मालिक–मालिक रट्नुपर्छ 
यन्त्रजस्तो भएर खट्नुपर्छ 
नयाँ परिवेशमा टेक्नु हुँदैन 
परिवर्तनको पाठ घोक्नु हुँदैन 
पोथी बास्तु हुँदैन । 
एकदमै अनिष्ट हुन्छ 
नीतिनियम रुष्ट हुन्छ 
ठूलो अवरोध सहन गर्नुपर्छ
बाधाविरोध बहन गर्नुपर्छ 
सपना तुहिन सक्छ
जीवन चुँडिन सक्छ
ओथारोको अन्डा त्यसै कुहिन सक्छ
चल्लाको कलिलो जीवन नफुल्दै झर्न सक्छ
प्रहार हुन सक्छ, संहार हुन सक्छ 
त्यसैले चेतनाको डाँक बोल्नु हुँदैन
अन्धकारले पर्दा खोल्नु हुँदैन 
पोथी बास्नु हुँदैन ।

अवरुद्ध चेतना
कहिलेकाहीँ प्रवाहित हुन खोज्दा 
जडताका विरुद्ध
गतिशीलताको क्षितिज छुन खोज्दा 
उज्यालोले कुतकुत्याएपछि
सम्पूर्ण–सम्पूर्ण साहस जुटाएर 
धैर्यको बाँध फुटाएर
मध्ययुगीन पर्खाल चर्काउँदै 
विषाक्त परिवेशहरू थर्काउँदै
मुख खोल्दा आँटिला मुटुहरूले 
साँचो कुरा बोल्दा
आतङ्कित बर्बरताहरू एकैचोटि ब्युँझिए 
जीवनका विरुद्ध
मृत्युघण्ट ठोक्न सक्छन्
त्यसले ठुलो आँट नलिई
दरिलो साथ नलिई
काँडाघारीमा पस्नु हुँदैन 
उन्मुक्त हाँसो हाँस्नु हुँदैन 
पोथी बास्नु हुँदैन ।

२) खोला

खोला मौन थियो
शरद् पूर्णिमाका जुनेलीहरू 
खेल्न पाएनन् उसको छातीमा 
नीर नीलिमायुक्त आकाश 
अटाउन पाएन उसको वक्षमा 
खोला निःशब्द थियो, क्लान्त थियो 
खोला व्यथित थियो, मरणान्त थियो ।

विकृतिहरूको पत्रपत्र भएर छोपियो 
यसको छाती
विसङ्गतिको थुप्रै थुप्रो भएर ढाकियो 
यसको वक्ष
मधुर सुसेली हरायो, मीठो बोली हरायो 
जीवन्तता हरायो, प्रशन्नता हरायो 
लक्ष्य हरायो, मीठो बोली हरायो 
चञ्चलता हरायो, गतिशीलता हरायो ।

एक दिन बाढी आएर सबै छताछुल्ल भयो 
दुर्गन्धहरू बगे, फोहरहरू बगे 
खोलाले फेरि सुसेल्यो
खोलाले फेरि मीठो बोली बोल्यो
खोला स्वच्छ भयो, खोला सुन्दर भयो । 
तर मलाई थाहा छ
जब वर्षा थामिने छ
फेरि लामो समयसम्म खोला मौन रहने छ
ऋतुहरू फन्को मार्दै जाने छन्
खोला छातीभरिभरि दुर्गन्ध
हस्स गन्हाउँदै निःशब्द हुने छ 
मौन हुने छ
त्यसैले खोला स्वच्छ हुन
खोला छोपिनुहुँदैन महत्त्वाकांक्षाका रासहरूले 
खोला पुरिनुहुँदैन आशङ्का र अविश्वासले ।

३) पूर्वबाट उदाउने प्रभातको घमाइलो सूर्यलाई

अहिले यो ठाउँ 
तुसारापातको तन्नामाथि 
हुस्सेको धुस्सा ओढेर 
लगलगाउँदै पल्टिरहेको छ 
हावा पनि स्पर्श गर्छ
चिसो हत्केला लिएर 
अहिले यो परिवेश स्तब्ध छ 
मुटु कपाउने शीतलहर भोगेर ।

म पूर्वतिर नियालिरहेको छु 
प्रसन्नचित्त मानिसझैँ
सधैँसधैँ मुस्कुराइरहने
प्रभातको घमाइलो सूर्यलाई सम्झिरहेको छु
हटाएर तुसारापातको चिसो तन्नालाई 
कोमल फूलहरू बोकेको सुदृढ शाखाजस्तो 
बलिष्ठ पाखुरीहरू फिँजाएर आउने
पूर्वको घमाइलो सूर्यलाई सम्झिरहने छु ।

समय हिँडोस् छिटोछिटो
घडीका सुईहरू घुमून् छिटोछिटो
पूर्वी क्षितिजबाट ओर्लदै आओस्
मेरो प्रिय घाम
म उन्मुक्त हुने छु
हरेक भयबाट मुक्त हुने छु
फैलने छन् उन्मुक्त मेरा दुई पाखुरीहरू

ओष्ठकमलहरू खुल्ने छन् 
मुस्कानका पत्रदलहरू खोलेर 
चञ्चल हुने छन् नयनहरू 
स्नेहगङ्गा घोलेर बितोस् समय 
तीव्र टापहरू टेकेर बितोस् 
म मेरो घामको प्रतीक्षामा छ 
न्यानो–न्यानो घामको प्रतीक्षामा छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुन्ता शर्मा
कुन्ता शर्मा
लेखकबाट थप