बिहीबार, १० साउन २०८१
ताजा लोकप्रिय

हाम्रो विमानस्थल मान्छे बेच्ने एउटा हाट !

सोमबार, २८ जेठ २०८१, १३ : ०९
सोमबार, २८ जेठ २०८१

छापामा समाचार आइरहेकै छन्— विमानस्थलमा बिदेसिनेको लर्को, देशमा युवा रहने भएनन् । 

गाउँ रित्तो सहर पसेर, सहर रित्तो विदेश बसेर भन्ने सुनेकै हो । गाउँमा जन्ती–मलामी भेटिँदैनन् । अब यो समस्या सहरमा पनि बल्झिँदै छ । 

धमिरा, मुसा, साङ्लाले ओगटेर रित्तो घर ढल्यो । फलफूलका बिरुवा स्याहार नपाएर मरे, खेतबारी बाँझो छ । पुर्खाको धरोहर छोडियो । तराई वा सहर पसियो, काम गर्ने बानी छुट्यो । 

चार आना वा दश धुरमा घर ठडियो, थुक्ने ठाउँ छैन । गमला राखेर कौसीमा धनियाँ उमा¥यो, फेसबुकमा पोस्ट ग¥यो । छिमेकी मुलुकबाट विषादीसहितको तरकारी आउँछ, किलोमा किन्न सकिँदैन । छाक अड्कलेर पाउमा लग्यो, पकायो, दिनचर्या हाइसन्चो छ— न वस्तु पाल्ने झन्झट न कोदाली बोकेर गाउँबेसी, उकाली ओराली, न भारो पर्म, न खेतबारीको खनजोत । मल, बिउ, कुलो पैनी, खेताला, खाजा (मकै, भटमास, खट्टे) खोजेको हेक्का हुन छाड्यो । 

पल्लो घरको तन्नेरी भारत पस्यो । बाँकी छिमेकी कोही साउदी, कोही मलेसिया, कतार, ओमान, मकाउ, कुवेत आदि सबैको ध्यान त्यतै खिचियो । बाली सम्झेर आली लगाउने हात र जोस मरुभूमितिर तानिन थाले । यहाँ बसेर केही गर्न सकिएन, मुग्लान नै पस्न प¥यो । वैध बाटो होस् या अवैध, जसरी भए नि बिदेसिनेको हुलमा मिसिन सबैलाई हतार भएको देखिन्छ ।

जाने बेला राम्रो काम भन्ने तर पुगेपछि कमाइका साथै काम असहज, दलालको फन्दा, श्रम–शोषण आदि त्रासदी छँदै छन् । काममा निस्कँदा प्लास्टिकमा खाना बोकेर लगेको, पिउने पानीको अभाव, डोरीमा झुन्डिएर जोखिमयुक्त काम गरेको थाहा हुन्छ, तर विदेशमा पैसा फल्ने रुख छ झैँ पुग्ने बित्तिकै परिवारबाट माग सुरु भइहाल्छ । 

सन्चै भए त पैसा आउला, अंगभंग वा मृत्यु भएमा फर्कने बाटो नै फरक परेको हुन्छ । यता, गाउँको घरलाई आमाबाबु सासु–ससुरालाई घर रुङ्न लगाएर बालबच्चाको पठनपाठनका नाममा छोराले पत्नीलाई सहरमा राख्छन् । छोराको कमाई आस गरेका बाबुआमा खेतीपाती लगाउन नसकी दैलामुनिको गरो बाँझै हुन्छ । बाआमाले वृद्धभत्ताले चाउचाउ किनेर उमालेर खाने गरेका छन् ।

आफन्तलाई बिदाइ गर्न त्रिभुवन विमानस्थल पुग्दा सबैका आमाबाबु, श्रीमान् र श्रीमती, बच्चाबच्ची, आफन्तका भक्कानिएको मन र भिजेका परेली देख्दा मलाई हाम्रो विमानस्थल मान्छे बेच्ने एउटा हाटजस्तो लाग्यो ।

विदेशी भूमिमा परिश्रम खर्चेर पठाएको पैसाले यता महँगो विलासी जीवन बिताउने पनि छन् । यसले परिवारमा भाँडभैलो आएको, बाबुआमालाई बेवास्ता गरेको, ऋणमा बढेको, बच्चाबच्चीको बिचल्ली बनेको उदाहरण छन् । शारीरिक श्रम गर्ने र शैक्षिक उन्नतिका लागि पलायन हुनेको हकमा केही फरक हुन सक्छ, तर परिवारमा बिछोडको पीडा उस्तै छ । 

शैक्षिक पलायन डरलाग्दो देखिन्छ, जो गएपछि उतै अवसर खोज्छन् । दुःख गरेर आमाबाबुले ठुलो इच्छा राखी डिग्री हासिल गराउँछन्, तर जेट चढेर उडेपछि उसको फर्कने आशा हराउँदै जान्छ । पारिवारिक जिम्मेवारी उतै बढ्छ । यताको सम्पत्ति, परिवार, साथीसङ्गी, इष्टमित्र सम्झनामा भए पनि कार्य व्यस्तताले बिर्संदै जान्छन् । मुस्किलले समय मिले फोन संवाद हुन्छ । 

ओठ निचोरे दुध आउनेजस्ता आफ्ना नानीबाबु बिदेसिँदा न त्यो घरमा मिठो पकाएर खाने जाँगर चल्छ, न चाडबाडमा रौनक आउँछ । कुनै दिन फर्कन्छन्, आउँछन्, मनमा झिनो आशा सधैँ रहन्छ । आमाबाबुको मन उनीहरूको उन्नति प्रगतिको समाचार सुन्न लालायित हुन्छन् । नाति–नातिना हुन्छन्, तर आकलझुकल भेट हुँदा उनीहरुले चिन्दैनन् । भाषाको समस्या उस्तै छ ।

जमाना फेरियो । पहिलेजस्तो खबर वा चिठीको भर गर्नुपर्दैन । भिडियो कल गर्न सकिन्छ, तैपनि नपुग्दासम्म सबैका मन आत्तिने हुन्छ । 

मिति २०८१ वैशाख २२ गते आफन्तलाई बिदाइ गर्न त्रिभुवन विमानस्थल पुग्दा सबैका आमाबाबु, श्रीमान् र श्रीमती, बच्चाबच्ची, आफन्तका भक्कानिएको मन र भिजेका परेली देख्दा मलाई हाम्रो विमानस्थल मान्छे बेच्ने एउटा हाटजस्तो लाग्यो । हरेक दिन बाकसमा लास फर्कंंदा मसानघाटजस्तो लाग्यो, तर खै समाधान ? 

आफ्ना सन्ततिलाई हरेक दिन आँसु बगाउँदै हात हल्लाउने हामी भाग्यमानी कि पासपोर्ट बोकेर बिदेसिने सन्तति भाग्यमानी ? मेरो रसाएका आँखाले आफैँलाई सोधेको अनुत्तरित प्रश्न थियो । लाग्थ्यो, छोराछोरी विदेश जाऊन् उच्च शिक्षा ज्ञान आर्जन गरेर देश फर्किऊन् । श्रम गर्नेले पनि सकुशल धन आर्जन गरेर बेलैमा घर फर्किऊन् र घरबार समालेर सम्पत्तिको अधिक उपयोग गरून् । हरेक घर–परिवारको खुसी भरिएको देख्न पाइयोस् । यस्ता सोच बोक्ने नेपाली शोक र रोगले ग्रसित हुन पुगेको देखिन्छ ।

नेपाली कांग्रेसका एक वरिष्ठ नेताले एक सार्वजनिक कार्यक्रममा अहिले हरेक नेपालीको हातमा पासपोर्ट छ भनेर गर्वका साथ भाषण गरे । आँसुले भिजेको पासपोर्ट ठुलो देख्नुको साटो देशमा रोजगारी बढाउन र गरिबीको खाडल पुर्ने योजना बनाउन किन नसकेका होलान् ? देशलाई धरापमा राखेर राजनीतिलाई धमिलो बनाई विदेशीको गिद्धे नजर रहेसम्म बिदेसिने नेपालीको पीडा यथावत् रहने देखिन्छ ।

आशा छ, यो विमानस्थल पर्यटक आउने–जाने र देशले आर्थिक काँचुली फेर्ने संगमस्थल बनोस् । हरेक परिवारको रसाएका आँखा खुसीमा परिणत हुन् । बिदेसिएका सबैका सन्तति आफ्नै जन्मभूमि फर्केर कर्म गर्न सक्षम होऊन् ।  उनीहरूलाई यहाँको उर्वर माटोको अधिक माया पलाउने शक्ति प्राप्त होस् । भिजेका परेली र भक्कानिएका मन प्रफुल्लित हुने अवसर सबैमा प्राप्त होस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

इन्दिरा रिजाल
इन्दिरा रिजाल
लेखकबाट थप