बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
दस्ताबेज

उपेन्द्रको ३१ पन्ने प्रतिवेदन : पार्टी एकतामा जोड, आन्दोलनको आँधीबेहरी ल्याउने (पूर्णपाठ)

मङ्गलबार, २९ जेठ २०८१, ११ : ५२
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो एकता महाधिवेशन जनकपुरमा जारी छ ।

सोमबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र मङ्गलवारबाट सुरु भएको छ । महाधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । 

अध्यक्ष यादवले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेपालको राजनीतिमा जरो गाडिएका सामन्तवादी, पुँजीवादी र साम्यवादी शक्तिहरूको विकल्पमा समाजवादी लोकतान्त्रिक धारको सबल र सक्षम क्रान्तिकारी समाजवादी शक्ति निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

‘..देशलाई सही अर्थमा लोकतन्त्र, सङ्घीयता, गणतन्त्र, सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादी लोकतन्त्रको युगमा प्रवेश गराउने हाम्रो संकल्प र प्रतिबद्धतालाई पूरा गर्न अझै धेरै यात्रा तय गर्न बाँकी छ । अझ धेरै ध्रुवीकरण र एकीकरण प्रक्रियाबाट गुज्रिनु पर्ने हुन्छ’, अध्यक्ष यादवले ३१ पन्ने प्रतिवेदनमा भनेका छन्, ‘देशलाई लोकतन्त्र, पहिचानमा आधारित सङ्घीयता, सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादको यात्रामा प्रवृत्त गराउने कार्यभारमा आधारित भएर नयाँ एकता, एकीकरण र ध्रुवीकरणको प्रयासलाई निरन्तर जारी राखिरहनुपर्दछ ।’

साथै अध्यक्ष यादवले पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकता सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सुशासन, पहिचान, धर्मनिरपेक्षता, सामाजिक न्यायका पक्षधर र समाजवादी शक्तिहरू, सिद्धान्त, विचार र नीति मिल्ने दलहरूसँग एकीकरण अथवा पार्टी एकता गर्नुपर्नेमा जोड दिएका छन् ।

‘राजनीतिक मुद्दा मिल्ने तर सिद्धान्त, विचार नमिल्ने दलहरूसँगका सङ्घर्षको प्रकृति हेरी संयुक्त मोर्चा वा कार्यगत एकतामा आबद्ध गर्नुपर्दछ’, यादवले पार्टी एकताबारे भनेका छन्, ‘हामीले सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र विरोधी वा परिवर्तनका बाधक शक्तिहरूलाई एकल्याउन र त्यसको विरुद्ध सबै राजनीतिक शक्तिहरूलाई मोर्चामा आबद्ध गर्न सक्नुपर्दछ ।’

उनले मधेशी, आदिवासी जनजातिका मुद्दा उठाउने दलहरूसँग छुट्टै प्रादेशिक/राष्ट्रिय मोर्चा बनाउनुपर्ने बताएका छन् । ‘मधेशमा छरिएर रहेका पहिचान, समावेशिता, सङ्घीयता, सामाजिक न्यायका पक्षधर दलहरूबीच सहकार्य अथवा कार्यगत एकता गरी अगाडि बढ्नुपर्दछ’, अध्यक्ष यादवको प्रतिवेदनमा भनिएको छ ।

सङ्घीय सरकारमा हेरफेर हुने बित्तिकै प्रदेश सरकारहरूमा उथलपुथल एवं सरकार परिवर्तन हुने कार्यले गर्दा राज्य झन् अस्थिर भएको निष्कर्ष निकालेका अध्यक्ष यादवले पहिचानवादी शक्तिहरू र क्रान्तिकारी परिवर्तनकारी शक्तिहरूसँग सहकार्य वा एकता गरेर सङ्घर्षको आँधीबेहरी सिर्जना गर्नुपर्ने दस्ताबेजमा उल्लेख गरेका छन् ।

‘जनताले गरेको लामो सङ्घर्ष, त्याग र बलिदानद्वारा स्थापित सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता आदिका विरुद्ध प्रतिगामी तथा यथास्थितिवादी लोकतन्त्र विरोधी शक्तिहरू प्रतिक्रान्तिका लागि षड्यन्त्रमूलक रूपमा प्रयासरत रहेका छन्’, यादवले भनेका छन्, ‘यस्ता शक्तिहरूबाट मुलुकलाई जोगाउन हामीले एक्लै वा लोकतान्त्रिक शक्तिहरू, प्रगतिशील शक्तिहरू, पहिचानवादी शक्तिहरू र क्रान्तिकारी परिवर्तनकारी शक्तिहरूसँग सहकार्य वा एकता गरेर सङ्घर्षको आँधीबेहरी सिर्जना गर्नुपर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप