बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

त्रिविमा ‘पोस्टग्राजुएट डिप्लोमा इन् सस्टेनेबल बिजनेस म्यानेजमेन्ट’ सुरु गर्ने सम्झौता

मङ्गलबार, २९ जेठ २०८१, १७ : ०८
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय (एसओमटीयू) ले यूनिभर्सिटाट पोम्पेयू फाब्रा बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट (यूपीएफ–बीएसएम) र इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) सँगको सहकार्यमा पोस्टग्राजुएट डिप्लोमा इन् सस्टेनेबल बिजनेस म्यानेजमेन्ट सुरु गर्ने भएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

सङ्कायले पाठ्यक्रम विकास, सङ्कायको क्षमता विकास, शिक्षण र सिकाइ सामग्रीको सिर्जना र पाठ्यक्रमको शैक्षिक सुपरिवेक्षणमा सहकार्य गर्नको लागि यूपीएफ–बीएसएमसँग भर्चुअल रूपमा समझदारी पत्रमा हस्ताक्षर गरेको थियो भने आईआईएनसँग पाठ्यक्रम सुरु गर्न प्राविधिक सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

यस कार्यक्रम सञ्चालन गर्न विद्यार्थी भर्नाको घोषणा नोभेम्बर २०२४ मा गरिने योजना रहेको छ । यसको कक्षा भने फेब्रुअरी २०२५ भित्र सञ्चालन गरिने बताइएको छ ।

1718090044362

‘वर्तमान विश्वपरिदृश्यमा पर्यावरण, सामाजिक र सुशासन (ईएसजी) का सिद्धान्तहरूको समावेशीकरण अनिवार्य बन्दै गएको छ । व्यवसायहरू नैतिक र दिगो रूपमा सञ्चालन गर्ने बढ्दो अपेक्षाहरूको सामना गरिरहँदा ईएसजी मापदण्डहरूको पालना दीर्घकालीन सफलताका लागि र सामाजिक प्रगतिको लागि आवश्यक छ,’ कार्यक्रमपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालमा, ईएसजी सिद्धान्तहरूको पालना अझ बढी महत्त्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । निजी क्षेत्र, विशेष गरी वित्तीय क्षेत्र, पहिले नै ईएसजी मापदण्डहरूको पालना गर्न अग्रसर भइसके पनि स्थानीय क्षमतामा ठुलो अन्तरहरू रहेको हुनाले ईएसजी व्यवस्थापनको जटिलताहरूलाई सम्बोधन गर्न सक्षम तथा दक्ष विशेषज्ञहरूको माग बढिरहेको बताइएको छ ।

‘पोस्टग्राजुएट डिप्लोमा इन् सस्टेनेबल बिजनेस म्यानेजमेन्टको उद्देश्य देशमा उद्यमशीलता र व्यवसायको प्रवर्द्धन भन्दा पर जानु हो । यस कार्यक्रमले नेपाली व्यवसायहरू र जन शक्तिलाई समाज, राष्ट्रिय अर्थतन्त्र र अन्तर्राष्ट्रिय स्तरमा योगदान गर्दै दिगो व्यवसाय सञ्चालन गर्न मद्दत पुर्‍याउने छ । यस बहुआयामिक कार्यक्रमले दिगो विकासका लागि आर्थिक, वातावरण, सामाजिक, र सु-शासनको विषयहरूलाई समेट्ने,” व्यवस्थापन सङ्कायका डीन प्रा. डा. डिल्लीराज शर्माले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप