आइतबार, ०६ साउन २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

घट्दै रोजगारीको खोजीमा देश छाड्नेको सङ्ख्या

रेमिट्यान्स आप्रवाहमा कस्तो असर पर्छ ?
बुधबार, ०५ असार २०८१, ११ : ०२
बुधबार, ०५ असार २०८१

काठमाडौँ । २०७९ वैशाखदेखि बढ्न थालेको रेमिट्यान्स आप्रवाह अझै बढेको बढ्यै छ । कोरोना महामारी घट्न सुरु भएसँगै रेमिट्यान्स आप्रवाह वृद्धितर्फ लम्किएको हो ।

यसअघि कोरोना महामारीका कारणले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दा २०७८ साउनदेखि रेमिट्यान्स घट्न सुरु गरेको थियो । २०७८ साउनमा रेमिट्यान्स आप्रवाह ६.८ प्रतिशतले खुम्चिएको थियो । 

तर २०७९ वैशाख महिनासम्म आइपुग्दा रेमिट्यान्स आप्रवाह बढ्न थाल्यो । सो महिनामा ०.३ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको थियो । यस्तै जेठमा ३.८ प्रतिशतको वृद्धि थियो । त्यसयता रेमिट्यान्स बढेको बढ्यै छ । सो समयमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दा रेमिट्यान्स आप्रवाह बढेको हो ।

यस्तै चालू आर्थिक वर्षको १० महिनाको तथ्याङ्कअनुसार रेमिट्यान्स १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो अवधिमा ११ खर्ब ९८ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । तर यो वृद्धि अघिल्लो वर्षको १० महिनाको तुलनामा प्रतिशतका आधारमा न्यून हो ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार यो १० महिनामा ३ लाख ७४ हजार जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै यही अवधिमा २ लाख ३७ हजारभन्दा बढीले पुनः श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो वर्षको १० महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । चालू वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशत छ । यो अघिल्लो वर्षको तुलनामा ४.२ प्रतिशतको गिरावट हो । प्रतिशतमा खुम्चिएपनि रकममा भने चालू वर्षको १० महिनामा झन्डै २ खर्बले रेमिट्यान्स आप्रवाह बढेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाउँछ ।

गत वर्षको १० महिनाको अवधिमा २३.४ प्रतिशतले बढ्दै १० खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो वर्ष ११ खर्ब ९८ अर्ब रुपैयाँ भित्रिएको छ । यद्यपि रेमिट्यान्स वृद्धिको गति आगामी दिनमा कायमै नरहने देखिएको छ । 

नेपालबाट वैदेशिक रोजगारीका लागि जाने श्रमिकको सङ्ख्यामा आएको गिरावट आएको छ । चालू वर्षको १० महिनाको अवधिमा नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार यो १० महिनामा ३ लाख ७४ हजार जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै यही अवधिमा २ लाख ३७ हजारभन्दा बढीले पुनः श्रम स्वीकृति लिएका छन् । यो गत वर्षको यही अवधिको तुलनामा ११ प्रतिशत र ०.५ प्रतिशतको गिरावट हो ।

 

गत वर्षको १० महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या ४ लाख २१ हजार थियो । यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ३८ हजार थियो । त्यो समयमा यो क्रमशः ५१ प्रतिशत र ३.७ प्रतिशतको वृद्धि थियो । 

नेपाल मुद्रा विप्रेषक संघका महासचिव सञ्जय सिग्देल वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा आएको गिरावटको प्रभाव रेमिट्यान्स आप्रवाहमा पर्ने बताउँछन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल गत वर्षको तुलनामा विदेश जानेको सङ्ख्या घटेको बताउँछन् । ‘गत वर्ष कोभिडका कारण रोकिएकाहरू भटाभट विदेश जाँदा सङ्ख्या ह्वात्तै बढेको थियो,’ भुर्तेल भन्छन्, ‘यो वर्ष गत वर्षकोभन्दा सामान्यरुपमा विदेश जानको सङ्ख्या घटेको छ ।’ 

गत वर्ष ७ लाख ७२ हजार नेपाली वैदेशिक रोजगारीमा गएका थिए । चालू वर्षको ११ महिनासम्म ६ लाख ७२ हजार आसपास गइसकेका छन् । असार महिनामा १ लाख गएमा बिदेसिनेको सङ्ख्या गत वर्षकै स्थितिमा पुग्ने उनको भनाई छ ।

यस्तै नेपाल मुद्रा विप्रेषक संघका महासचिव सञ्जय सिग्देल वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा आएको गिरावटको प्रभाव रेमिट्यान्स आप्रवाहमा पर्ने बताउँछन् । २०७९ सालको सुरुदेखि बढ्न थालेको रेमिट्यान्स आप्रवाह अबको केही महिनामा घट्न सुरु हुने सम्भावना बढेको सिग्देल भन्छन् । 

उनका अनुसार बिदेसिनेको सङ्ख्या घटबढ हुँदा त्यसको प्रभाव कम्तिमा ६ महिनादेखि देखिन्छ । ‘पछिल्लो समय निरन्तर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छ,’ सिग्देलले रातोपाटीसँग भने, ‘रेमिट्यान्समा यसको प्रभाव ६–७ महिनापछि देखिन सक्छ ।’

रेमिट्यान्सको आप्रवाह घटेमा विदेशी मुद्रा सञ्चितिमा नै प्रभाव पर्नेछ । यसअघि रेमिट्यान्सको आप्रवाह घट्दा विदेशी मुद्राको सञ्चिति घटेर ६ महिना आसपासको वस्तु तथा सेवा आयात धान्ने स्थितिमा पुगेको थियो । जुन, यतिबेला १ वर्षभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्ने गरी बलियो अवस्थामा छ । 

नेपाल राष्ट्र बैंकका अनुसार नेपालसँग १९ खर्ब ४२ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्राको सञ्चिति छ । यसले १२.६ महिनासम्म सम्पूर्ण आयात धान्ने क्षमता राख्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप