बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

गलत प्रवृत्तिविरुद्ध नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक: अध्यक्ष नेपाल

मङ्गलबार, ११ असार २०८१, १८ : ५२
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफूहरू समाजलाई रूपान्तरण गर्न, समाजवादी दिशामा जान चाहेको बताएका हुन् । 

नयाँ नयाँ विधाका योग्य र सक्षम युवाहरुलाई अगाडि बढाउन आवश्यक रहेको पनि बताए । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा आफूहरूले विद्रोहको ज्वाला दन्काएको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाप्रति गौरवबोध गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी यो समाजलाई रूपान्तरण गर्न चाहन्छौँ, समाजवादी दिशामा जान चाहन्छौँ, त्यसका लागि समाजवादी संस्कृतिको विकास गर्न चाहन्छौँ, पुँजीवादी संस्कृतिका विरुद्धमा समाजमा रहेका सबै विसङ्गति र विकृतिका विरुद्धमा व्यक्तिहरूमा रहेको व्यक्तिवाददेखि लिएर चरम महत्त्वकांक्षादेखि लिएर अनेकौँ खालका त्यस्ता गलत प्रवृत्तिका विरुद्धमा हामी नयाँ सांस्कृतिक जागरण पैदा गर्न चाहन्छौँ । यो सांस्कृतिक जागरणको अभियन्ताको रूपमा तपाईँहरूले नयाँ नयाँ गीतहरूको रचना गर्नुपर्छ । नयाँ नयाँ नाटकहरूको रचना गर्नुपर्छ । नयाँ नयाँ विधाका योग्य र सक्षम युवाहरूलाई अगाडि बढाउनुपर्छ । यी खुबी र क्षमता भएका युवाहरू देशका विभिन्न ठाउँमा छरिएका छन् । विभिन्न समुदायमा रहेका छन् भने उनीहरूलाई पनि तपाईँहरूले एकत्रित गर्नुपर्छ ।’ 

उनले थपे, ’हामी सबैलाई थाहा छ, नेपालको कम्युनिस्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौँ । विद्रोह गर्ने आँट गरेका छौँ, कम्युनिस्ट आन्दोलनमा देखापरेका विकृति, विसङ्गतिका विरुद्धमा विद्रोहको ज्वाला दन्काएका छौँ । एक्लै भए पनि अघि बढ्ने हिम्मत गरेका छौँ । एक्ला चलो, एक्ला चलो, एक्ला चलो रे भन्दै हामी अघि बढ्यौँ । हाम्रो साथमा देशभरका नेता र कार्यकर्ताहरू जुट्दै जुट्दै ७७ जिल्लामै संगठन विस्तर गर्दै पालिका, वडामा जनसंगठन निर्माण गर्दै अघि बढेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप