बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, ११ असार २०८१, २२ : ००
मङ्गलबार, ११ असार २०८१

आज २०८१ असार ११ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • रिट खारेज

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज भएको छ । मंगलबार न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले रिट खारेज हुने फैसला गरेको हो । सर्वोच्चले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन् । 

  • स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा

अन्ततः स्टार्टअप व्यवसायले सरकारबाट ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा पाउन थालेका छन् । सरकारले प्रत्येक आर्थिक वर्षको बजेट भाषणमा स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा दिने घोषणासहित २५ करोड विनियोजन गर्दै आइरहेको थियो । 

  • बजेट पारित

प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

  • तदर्थको उल्झन

नेपाली कांग्रेसमा भ्रातृ संस्थाहरूको वर्तमान तदर्थ कार्यसमितिबारे दुई विकल्पमा छलफल भइरहेको छ । यही असार १५ मा महाधिवेशन गराउने म्यान्डेट पूरा गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समिति भङ्ग गर्ने कि महाधिवेशन उन्मुख गराउने भन्ने विकल्पमा छलफल भएको हो ।

  • महानगरलाई चुनौती

 काठमाडौँ महानगरपालिकाले सोमबार आर्थिक वर्ष २०८१/८२ का लागि झण्डै पौने २६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपमेयर सुनिता डंगोलले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सोका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको बताइन् ।

  • भान्जाको घर लुटपाट

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटमा असार ४ मा डिल्ली बहादुर राउतको घरमा अपरिचित ३ जना युवक प्रवेश गरे । उनीहरूले भने, ‘हामी सीबीआई प्रहरी हौँ ।’ ३५ वर्षीय राउतले घरको ढोका खोलिदिए । दिउँसो १ बजेतिर घरमा छिरेर उनीहरूले दराजमा राखिएको २ करोड निकाले अनि, लिएर हिँडे ।

  • बढ्दैछ डेंगु

बर्खा लागेसँगै डेंगु सङ्क्रमणको जोखिम बढ्न थालेको छ । एक पटक डेंगु भइसकेको मानिसलाई फेरि डेंगु हुँदा जोखिम बढ्ने चिकित्सकहरूले बताएका छन् ।

  • भावी अध्यक्षका लागि दौडधुप

 नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशनमा अध्यक्षका प्रमुख दाबेदार देखिएका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले गतिविधि तीव्र पारेका छन् । एमालेसँग विद्रोह गरेको ३४ महिनामा एकीकृत समाजवादीले असार (१६–२०) सम्म काठमाडौँमा महाविधेशन गर्दैछ ।

  • प्रचण्डको जवाफ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर विभिन्न प्रश्हरुको जवाफ दिएका छन् ।   आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयक अन्तर्गत राष्ट्रपतिको कार्यालय,  उपराष्ट्रपतिको कार्यालय,  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकाय  तथा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिएका हुन् ।

  • दुई दलीय व्यवस्था

 ‘धेरै राजनीतिक दल भए अस्थिरता बढ्छ । जति धेरै दल रहन्छन्, त्यति धेरै अस्थिरता हुन्छ’, नेकपा एमालेका महासचिव शंकर पोखरेलले केही वर्ष यता यस्तै र यिनै आशयका अभिव्यक्ति लगातारजसो दिएर दुई दलीय व्यवस्थाको वकालत गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप