नाग पञ्चमीको परम्परा र महिमा
वर्षा सकिएको र हिउँदको आगमन भएको संकेतका रूपमा नागपञ्चमी पर्व मनाइन्छ । साउन महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा मनाइने नागपञ्चमीको आफ्नै विशेषता र महत्त्व छ ।
नागको पूजा गर्नाले वातावरणमा छरिएका विषालु तत्त्व एवं वस्तुलाई शोषण गरेर वातावरण स्वच्छ र सन्तुलित राख्नमा ठुलो भूमिका खेलेको हुन्छ भन्ने विश्वासले नागको पूजा गरिन्छ । नाग र सर्पलाई मानव समुदायमा शत्रुका रूपमा हेर्ने गरिन्छ । वास्तवमा नाग र सर्पले वातावरण तथा पर्यावरणीय सन्तुलन कायम गरी मानव जातिलाई ठुलो गुण लगाएका छन् । नाग र सर्पको वंश परम्पराको खोजी गर्दा पौराणिक ग्रन्थमा पुग्नुपर्ने हुन्छ ।
पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार नाग र सर्प कश्यप ऋषिका सन्तान हुन् । नाग र सर्पको जन्म ऋषि कश्यप र उनकी कान्छी पत्नी कद्रुबाट भएको थियो । नागहरू इच्छाधारी हुने भएकाले मानव र नाग दुवै रूप लिन सक्थे । यसकारण मानव र नागजातिका बिचमा विवाह हुने परम्परा थियो ।
पाण्डवहरूको वनवासका समयमा अर्जुन भारत वर्षको मणिपुर पुगेका थिए । उनले त्यहाँ नागकन्या उलुपीसँग विवाह गरेका थिए र उनीहरूबाट बभ्रुवाहन नामक पुत्र जन्मिएका थिए । महर्षि जरत्कारूको विवाह वासुकी नागकी बहिनीसँग भएको थियो । देवताहरूसँग पनि नागहरूको घनिष्ट सम्बन्ध रहेको थियो । देवासुर सङ्ग्राममा नागहरूले देवताहरूलाई ठुलो सहयोग गरेका थिए । समुद्र मन्थनको समयमा नागलाई डोरी (नेती)का रूपमा प्रयोग गरिएको थियो । भगवान् श्रीकृष्णले श्रीमद्भगवद गीतामा म सर्पहरूमा वासुकी हुँ र नागहरूमा शेष हँु भनेका छन् । यसले गर्दा नाग र सर्पहरूको ठुलो महत्त्व छ ।
यी विविध पक्षबाट हेर्दा नागहरूमा देवत्व रहेको हुन्छ । यसले गर्दा नागलाई नागदेवताका रूपमा पुजिन्छ । समुद्र मन्थन गर्दा निस्केको विष भगवान् शिवले पिए र बाँकी रहेको झरल–परल विष सर्पहरूले खाएकाले तिनीहरू विषधारी भएको भन्ने कथन छ । भगवान् शिवले गलादेखि कानसम्म छुने गरी शृङ्गारका रूपमा सर्पका गहना लगाएका छन् ।
श्री गणेशका कम्मरमा पनि सर्पवेष्टित भएका छन् । पार्वतीले पनि जुरो बाँध्न सर्पलाई नै उपयोग गरेको भन्ने भनाइ छ । भगवान् श्रीहरि पनि शेषमा नै शोभायमान भएका छन् । नागको पूजा गर्दा र घरको जग खन्दा नागको शिर विचार गर्नुपर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रीय मान्यता अनुसार भाद्र, आश्विन र कात्तिकमा नागको शिर पूर्वतर्फ; मङ्सिर, पौष र माघमा दक्षिणतर्फ; फागुन, चैत र वैशाखमा पश्चिमतर्फ; जेठ, असार र साउनमा उत्तरदिशातर्फ रहेको हुन्छ । घरको जग खन्दाको फल नागको शिरमा खनेमा पीडा हुन्छ । पछाडितिर खनेमा छोरा र पत्नीलाई पीडा हुन्छ । जाँघमा खनेमा धन खर्च हुन्छ भने पेटमा पारी बनाएमा सर्वसम्मत हुन्छ भन्ने विश्वास गरिन्छ ।
नागपञ्चमी पर्वको उत्पत्तिका सम्बन्धमा नेपालमा प्रचलित परम्परा अनुसार एकजना किसानले खेत जोत्न लाग्दा एक नागिनीका तीनवटा बच्चा मर्न पुगे । त्यसको बदलामा नागिनीले किसानको घरमा गएर ऊ लगायत उसकी स्वास्नी र दुई छोरालाई डसेर मारेपछि लुकेर बसेकी एउटी छोरीलाई पनि डस्न लाग्दा त्यस बालिकाले नागिनीलाई प्रशन्न पार्न दुध पिलाएकी थिइन् । बालिकाबाट प्रशन्न भएर नागिनीले वरदान मागभन्दा बालिकाले भनिन्— मेरा मृत बाबुआमा र भाइहरूलाई बचाइदिनू । नागपञ्चमीको दिनमा कसैलाई पनि नडस्नू । नाग पञ्चमीको दिन नै उनले यसरी वर मागेकी थिइन् । त्यसैबेलादेखि नाग पञ्चमीमा नागको पूजा गर्न थालिएको हो भन्ने जनश्रुति छ ।
पाण्डवहरूको वनवासका समयमा अर्जुन भारत वर्षको मणिपुर पुगेका थिए । उनले त्यहाँ नागकन्या उलुपीसँग विवाह गरेका थिए र उनीहरूबाट बभ्रुवाहन नामक पुत्र जन्मिएका थिए । महर्षि जरत्कारूको विवाह वासुकी नागकी बहिनीसँग भएको थियो ।
सर्पले डसेमा विधिसम्मत तरिकाले मन्त्र प्रयोग गरेमा विष झार्न सकिन्छ भन्ने जनविश्वास छ । शास्त्रमा यस्तो मन्त्र उल्लेख गरेको पाइन्छ, ‘ॐ कुरू, कुल्ये हुँ फट् स्वाहा ।’ (अस्वीकरण ः यस मन्त्रको भर नपर्नुहोला । सर्पले डसेको उपचारका लागि अस्पताल वा चिकित्सककहाँ जानुपर्छ ।)
विष्णु पुराणमा उल्लेख भए अनुसार रमणका द्वीपमा कालिय नाम गरेको नाग थियो । ऊ अत्यन्त स्वार्थी, क्रोधी थियो; परभोजन अपहरण गरेर खाने गर्दथ्यो । यसबाट गरुड क्रोधित भएर त्यस नागलाई सताउन थाले, त्यसपछि ऊ यमुना नदीमा लुकेर बस्न थाल्यो । गरुड यमुना नदीमा आएर माछा खाने हुँदा पहिले नै महर्षि सोमरी रिसाएर गरुडलाई श्राप दिएकाले यस नदीमा गरुड नआउने हुँदा कालिय नागले मनोमानी गरी निडर भएर बसेको थियो ।
बिस्तारै कालिय नागले यमुनाको पानीमा विष फैलायो । यो देखेर भगवान श्रीकृष्णले कन्दुक्रीडाको रचना गरी नदीमा पसे । कालिय नागको विषको असरले श्रीकृष्णलाई कालो बनाइदियो । केही समयको द्वन्द्वपछि श्रीकृष्णले कालिय नागको फँणामाथि नृत्य गर्न थाले । यसपछि नागको मुखबाट रगत बग्न थाल्यो । नागको यो अवस्थादेखि नागिनीहरूले श्रीकृष्णसमक्ष करूण याचना गरे । यसपछि श्रीकृष्णले कालिय नागलाई यमुना छोड्न र निर्भय हुन वरदान दिए । मेरो चरणको छाप तिम्रो फँणामा परेकाले अब तिमीलाई गरुडले दुःख दिने छैनन् । जो मनुष्य तिम्रो यो कथा सुन्छ, उसलाई नागको भयबाट मुक्ति मिल्छ । त्यसै बेलादेखि नाग पञ्चमीको परम्परा चलेको भन्ने जनविश्वास छ ।
नागहरू पनि थुप्रै प्रकारका रहेका छन् । शेष, वासुकी, कर्कोटक, तक्षक, शंख पद्म, महाद्म आदि नागहरू रहेका छन् । कर्कोटक नागलाई उपत्यकाको उत्पत्तिसँग तादात्म्यता देखाइएको छ । वासुकी नागले पशुपतिनाथसँग र तक्षक नागले बौद्धधर्मसँग तादात्म्यता राखेको पाइन्छ ।
विष्णु वचन अनुसार, यस दिन घरको ढोकामाथि नागको मूर्ति अथवा चित्रलाई गोबरले टाँसेर त्यसको माथिल्लो भागमा वा शिरमा सुपारी, रायोको गेडा, दुबो, गाईको दुध, मिष्ठान्न र फलफूल चढाएर नागको पूजा गरेमा नाग र गरुडको भय हुँदैन भनिएको छ । नागपूजाको परम्परा नेपाल, भारतमा मात्र नभएर पाश्चात्य मुलुकतिर पनि भएको पाइन्छ । आजभन्दा तीन हजार वर्षपहिले सिन्धुघाँटीको सभ्यतामा सर्पको पूजा गरिन्थ्यो भन्ने उल्लेख पाइन्छ । नागपञ्चमी आयुर्वेदीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिन्छ ।
कसैको शरीरमा घाउ वा खटिरा आयो भने नाग लागेको भनेर धारा, खोला, सिमसार आदिमा कपास वा चामलको पिठोबाट नागको प्रतीक बनाएर पूजा गरिन्छ । नागको पूजा गर्दा विशेष गरी केसरी चन्दन, चामल, रायो, सर्सिउ, हरियो गोबर र गाईको दुध उपयोगमा ल्याइन्छ ।
नागपञ्चमीको दिनमा ब्रह्माणहरू हातमा नागको चित्र अंकित फोटो लिएर यजमानका घर–घर पुग्छन् । एउटा गाउँको ब्राह्मण अर्को गाउँको यजमान कहाँ नाग टाँस्न पुग्ने भएकाले गाउँघरमा वर्षाको समयमा घटित घटनाका बारेमा खबरको आदान–प्रदान हुने गर्दछ । यसरी नागपञ्चमीलाई आध्यात्मिक तथा वैज्ञानिक दुवै पक्षबाट अध्ययन गर्दा विशेष महत्त्व रहेको पाइन्छ । यस्ता सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी राष्ट्र, राष्ट्रियताको पहिचान फैलाउनु सबैको दायित्व र कर्तव्य हो ।
(लेखक माध्यमिक तहको सामाजिक र नेपाली विषयका शिक्षक हुन् ।)