दोस्तोयभ्स्कीका पाँच उपन्यास
‘दुनियाँलाई जित्न चाहन्छौ भने सुरुमा आफूलाई जित !’
यो कथन फ्योदोर दोस्तोयभ्स्कीले आफ्नो उपन्यास ‘डेमन्स’मा लेखेका छन् । झट्ट सुन्दा चसक्क मन छुने तर वास्तविक जीवनमा लागु गर्न लाग्दा असाध्यै अप्ठेराजस्ता लाग्ने यी कथन थप बुझ्न हामी दोस्तोयभ्स्कीका भव्य कृतिहरूमा पस्नुपर्ने हुन्छ । यहाँ केही कृतिहरूबारे संक्षिप्त चर्चा गरेका छौँ ।
दोस्तोएभस्कीका उपन्यासले वास्तविकतालाई गज्जबले खोतल्छन् र जीवनलाई पुनर्परिभाषित गर्छन् । उनको कुनै एक उपन्यास बोकेर तपाईं कुनै निर्जन टापुमा गएर बस्नुस्— जीवनभर मनमा खेलाउन पुग्ने विचार र तर्कना तपाईंले भेट्नुहुनेछ । विलियम सेक्सपियर र सिग्मन्ड फ्रायडकै स्तरको तीव्रता र सजीव कल्पनाशीलता बोकेर दोस्तोयभ्स्कीले नैतिक पतन, गरिबी र मानवीय विघटनका अँध्यारा कुना चहारेका छन् । तत्कालीन रुसी समाजको नारकीय जीवनको चित्रण गर्न दोस्तोयभ्स्की बराबर कुनै लेखक छैनन् । उनी नैतिक दुराचार, पाखण्ड र अपरिपक्वताको अथक पर्दाफासकर्ता थिए ।
१) ‘क्राइम एन्ड पनिसमेन्ट’
‘क्राइम एन्ड पनिसमेन्ट’को मुख्य पात्र रोदियोन रास्कोल्निकोभ शून्यवादी विचार बोक्ने अलि अजीव खालको मान्छे छ । रास्कोल्निकोभ अस्पष्ट र दोधारे नैतिक मान्यता बोकेको युवक हुन्छ । आफूलाई धेरै नै ठिक लागेको काम गर्न कसैको हत्या गर्नुलाई पनि उसले जायज सोच्छ । ‘म दुनियाँको बन्धनले बाँधिएको साधारण मान्छे हो कि अधिकार सम्पन्न असाधारण मान्छे हो ?’ भन्ने सवाल उसको मनमा हरपल आइरहन्छ ।
२३ वर्षको हुँदा उसले यही नैतिक दोधारको परीक्षणकै क्रममा एकजना वृद्धको हत्या गर्न पुग्छ । गरगहना तथा बहुमूल्य सामान धितो राखेर पैसा दिने ती वृद्ध महिलाको हत्या उसको जीवनमा भयानक दुःख बोकेर आइपुग्छ ।
दोस्तोयभ्स्की अरुलाई खुसी पार्न लेख्ने खालका लेखक होइनन् । उसले विधागत सीमाहरूको परिधिमा आफूलाई सीमित पारेनन्, बरु विधा, मानवीय अपेक्षा र आकांक्षाको बाहिरी घेरालाई अझै फराकिलो बनाउने प्रयत्न गरे ।
यो उपन्यास मनोवैज्ञानिक नागबेलीसहितको गज्जब अपराध कथा हो । उपन्यासको सुरुमै हामीलाई धेरै कुरा थाहा हुन्छ । कसको हत्या कसले गर्यो, कहाँ गर्योे, कसरी गर्यो र किन गर्यो— सबै कुरा हामी थाहा पाउँछौँ तर कथा यतिमै सकिँदैन । अपराधको यो घटनाले कस्तो अस्तित्वगत परिणाम दिन्छ र पात्र यसमा कसरी बाँच्छ भन्ने जिज्ञासा बाँकी नै रहन्छन् ।
दोस्तोयभ्स्की प्रस्ट छन्— लोभ, मोह र कठोरताबाट नगुज्रिएर तथा नैतिक पहाडहरूलाई नछिचोली मान्छेको जीवनमा पश्चातापको गहिराइ हासिल हुँदैन । उनका अनुसार मान्छे विचार र तर्कको थुप्रो मात्रै होइन, मान्छे बन्न धेरै गहिराइमा पुग्नुपर्छ । लेखकले रास्कोल्निकोभले आफ्नो पापको प्रायश्चित गर्ने आशा राखेका छन् । प्रायश्चितको पक्षमा बोल्दै एक पात्र पोरिफिरी पेत्रोभिचले एक गहन वाक्य बोल्छन्— ‘सूर्यजस्तै होऊ तिमीलाई सबैले छर्लङ्ग देख्नेछन् ।’
दोस्तोयभ्स्कीका अनुसार कष्ट भोगेर मात्र क्षमा प्राप्त हुन सक्छ ।
दोस्तोएभस्कीका उपन्यासले वास्तविकतालाई गज्जबले खोतल्छन् र जीवनलाई पुनर्परिभाषित गर्छन् । उनको कुनै एक उपन्यास बोकेर तपाईं कुनै निर्जन टापुमा गएर बस्नुस्— जीवनभर मनमा खेलाउन पुग्ने विचार र तर्कना तपाईंले भेट्नुहुनेछ ।
२) ‘द ब्रदर कारामाजोभ’
सत्य र झुटको प्रश्नलाई प्रस्तुत गर्ने कलामा दोस्तोयभ्स्की जतिको महारथी कोही छैन । ‘नरक भनेको के हो ?’ द ब्रदर कारामाजोभमा उनी लेख्छन्, ‘प्रेम गर्न नसक्दाको कष्ट नै नरक हो ।’
‘श्रापित प्रश्न’हरू बोकेर दोस्तोयभ्स्कीले आफ्नो कलाको जादु देखाएका छन् । पाठकको मथिंगल हलचल गराउने यो उपन्यास आस्था, स्वतन्त्रता र परिवारको वरिपरि जेलिएको छ ।
चाहे त्यो डरलाग्दो फ्योदोर कारामाजोभ होस्, वा मानसिक रूपमा अस्थिर मित्या कारामाजोभ किन नहोस्, दोस्तोयभ्स्की हरेक पात्रको ढुकढुकी चहार्ने प्रयास गर्छन् । हरेक पात्रमा रुसी राष्ट्रिय चरित्रको कठोर चित्र पोत्छन् । जिज्ञासा पैदा हुँदै जान्छ । किन दोस्तोयभ्स्कीका पात्रहरू जीवन–मरणको दोसाँधमा पुगेपछि जीवनको कठिन क्षणमा वा नैतिक पतनको समयमा मात्रै आमूल र अलौकिक रूपान्तरणको बाटो रोज्छन् होला ? जवाफ अनुमान गर्न सकिन्छ । सम्भवतः मान्छेले आफ्नो जीवनको निर्णायक घडीमा निराश भएर सुस्केरा हाल्नका लागि मात्रै आफूलाई इमानदारितापूर्वक हेर्छ ।
अद्भुत र मौलिक लेखन शिल्पका धनी लेखकले आफ्नो तीक्ष्ण मस्तिष्क, पात्रका आधारभूत प्रवृत्ति र कमजोरीलाई संसारको अलौकिक स्वरूपको व्याख्या गर्न कुशलतापूर्वक प्रयोग गरेका छन् ।
यो उपन्यास गज्जब जासुसी उपन्यास जसरी लेखिएको छ । यसमा लेखकले एउटा भद्रगोल रुसी परिवारको विविध नैतिक पाटा–पक्ष केलाएका छन् ।
प्रख्यात लेखक फ्रान्ज काफ्का यो उपन्यासका ठुला प्रशंसक थिए । उनले त दोस्तोयभ्स्कीलाई आफ्नो रक्त सम्बन्धकै नातेदार जत्तिको नजिकको भन्न समेत भ्याए । आफू एक पक्का रुसी हुँदाहुँदै पनि दोस्तोयभ्स्कीका पात्र वैश्विक छन् । तिनीहरू आक्रोश, छटपटी र पीडाले भरिएका छन् । आफ्नो नैतिक स्वतन्त्रता र आस्था खोज्दै यी पात्र जस्तोसुकै मानसिक पीडाबाट गुज्रिन पनि तयार देखिन्छन् । ‘द ब्रदर कारामाजोभ’को अर्को भागको थोरै भाग लेख्दालेख्दै दोस्तोयभ्स्कीको निधन भयो, यो साह्रै नमज्जाको कुरा छ ।
३) ‘द इडियट’
दोस्तोयभ्स्कीका उपन्यास आँधीबेरीले भरिएको आकाशजस्ता छन् । हलिउडका फिल्ममा देखाइनेजस्ता सुखद अन्त्य त्यहाँ भेटिँदैनन् । समाजमा सबैभन्दा जर्जर जीवन बाँचिरहेकाहरूले दोस्तोयभ्स्कीलाई तान्छन् ।
उनी रोगी, निर्धन र बहिष्कृतलाई आवाज दिन्छन् । ‘द इडियट’ उपन्यासमा उनले प्रेम र कृपा, गौरव र दुष्टता अनि उदारता र दयालाई खोतलेका छन् । उपन्यासमार्फत उनी भन्छन्, ‘करुणा नै मान्छेको अस्तित्वको सबैभन्दा महत्त्वपूर्ण र सम्भवतः एक मात्र नियम हो ।’
उपन्यासको मुख्य पात्र राजकुमार लेभ निकोलायभिच मिस्किन छारेरोगले ग्रसित व्यक्ति हो । ऊ सोझो, बालसुलभ, दयालु र असल खालको हुन्छ । उसलाई रुसी साम्राज्यको भविष्यविहीन मान्छेको रूपमा प्रस्तुत गरिएको छ । जसरी कुनै निर्दोष हरिण शक्तिशाली सिकारीको आहारा बन्छ, त्यसै गरी मिस्किन पनि पाफ्र्योन रोगोजिनजस्ता शक्तिको खेलका खतरनाक खेलाडीको जगतमा फस्न पुग्छ ।
दोस्तोयभ्स्की आफैँले भनेका छन्, मिस्किन पात्र सिर्जना गर्न उनलाई जिसस क्राइस्ट र डन क्युहोटेको प्रेरणा थियो । आफ्ना रोल–मोडलहरू कसरी रोज्ने भन्नेबारे उनी धेरै राम्रो गरी जान्दथे ।
लेखक आफैँ पनि कुनै समय छारेरोगका पीडित थिए । दोस्तोयभ्स्कीका केही जीवनीले उनको प्रिय पात्र मिस्किनको छारेरोगलाई उनकै व्यक्तिगत जीवनसँग पनि जोड्ने गरेका छन् । यसका अलावा जब लेभ निकोलायभिच युरोप र रुसमा मृत्युदण्डको सजायबारे कुरा गर्दै आफ्नो गफ सुरु गर्छ । मृत्युदण्ड पर्खिरहेका मान्छेको मनोदशाबारे मिहीन वर्णन गर्दै जान्छ । गज्जबको कुरा त के छ भने दोस्तोयभ्स्की आफैँले यो अनुभव आफ्नो जीवनमा भोगेका थिए । सन् १९४९ मा सेन्ट पिटर्सबर्गका बुद्धिजीवीहरूको समूहमा जोडिएर उनले विद्यमान समाज र राजनीतिको कठोर आलोचना गरेका थिए ।
‘नरक भनेको के हो ?’ द ब्रदर कारामाजोभमा उनी लेख्छन्, ‘प्रेम गर्न नसक्दाको कष्ट नै नरक हो ।’
यति मात्रै नभएर उनीहरू यो व्यवस्था फेर्ने तरिकाबारे पनि छलफल गर्ने गर्थे । २८ वर्षको हुँदा सन् १८५० मा दोस्तोयभ्स्कीलाई युवा आन्दोलनमा लागेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो । अनौठो गरी अन्तिम घडीमा उनको यो सजाय स्थगित भएको थियो । सजाय न्यूनीकरणको यो घटना उनको जीवनमा गहन आघात बनेर आजीवन रह्यो, जसलाई उनले कहिल्यै भुल्न सकेका थिएनन् ।
४) ‘द डेमन्स’
यो उपन्यास ‘द डेमन्स’ संसारलाई उलटपुलट बनाउने तामसी कुचेष्टाका बारेमा लेखिएको छ । यसमा संसारलाई दुष्ट्याइँ र विनाशको तागतले संसारमा कब्जा गरिएको प्रसंग छ । यसमार्फत उनले भविष्यमा घृणा, शून्यवाद र अराजकता फैलिने आंकलन गरेका छन् ।
आफ्नो जीवनमा साइबेरियाको कठोर श्रम कारावास झेलेका लेखकले उपन्यासमा आफूलाई ईश्वरप्रति सच्चा विश्वासी र बाइबलमा जस्तै अगमवक्ताका रूपमा पेस गरेका छन् । उपन्यासमा उनी लेख्छन्, ‘समाजमा सबैले एक–अर्काको चियोचर्चा गर्छन्, एक अर्कोलाई कुरा लगाउँछन् । हरेक मान्छे एक–अर्कोमा आश्रित छन् । कोही स्वतन्त्र छैनन् । सबै दास हुन् । दासत्वमा पनि यी बराबरी छन् । यस्तै रहनलाई यिनीहरू जे पनि गर्छन् । उस्तै पर्दा एक–अर्कोको निन्दा गर्ने वा हत्या गर्ने तहसम्म उत्रन पछि पर्दैनन् ।’
उनी अगाडि लेख्छन्, ‘मान्छेहरू अत्यावश्यक कुरालाई मात्र प्राथमिकता दिनेछन्, त्योभन्दा माथिको कुनै पनि कुराको उनीहरूलाई मतलब हुँदैन । दास नै रहनका लागि यी दासलाई शासक चाहिन्छ । यिनीहरू आफ्नो निजत्व हराएका तथा पूर्ण आज्ञाकारी बन्छन् ।’
अर्थोडक्स क्रिस्चियानिटीमा गहिरो आस्था राख्ने उनी असाध्यै धार्मिक मान्छे थिए । अन्य लेखकले मौसमको उल्लेख गर्ने तहमै उनले आफ्नो उपन्यासमा ईश्वरको पुकारा गर्ने गर्छन् ।
‘द डेमन्स’मा उनले लेखेका छन्, ‘मलाई ईश्वर त सुरुमै चाहिन्छ । किनकि सही प्रेम गर्न सकिने योभन्दा अर्को चिज केही छैन ।’ अगम्य कलात्मकता सहित ‘आकर्षक दानव’को रचना दोस्तोयभ्स्कीले गरेका हुन् । उनको पात्र निकोलाई स्ताभ्रोगिन असाधारण मस्तिष्क र दुःखी आत्मा भएको पात्र हो । फरक–फरक रूप भएको, सनकी, चतुर र स्त्री आशक्त व्यक्ति हो । समग्रमा ऊप्रति (नायक एन्टी–हिरो) हो । रुसी दार्शनिक निकोलाई बेद्र्यायभले यो पात्र स्ताभ्रोगिनलाई विश्व साहित्यकै सर्वाधिक रहस्यमय पात्र भनेका छन् ।
५) ‘नोटस फ्रम द अन्डरग्राउन्ड’
पहिलो अस्तित्ववादी उपन्यास मानिने यो कृति सन् १८६३ मा लेखिएको हो । यो उपन्यासको पात्रले सुरुमै निरस आवाजमा भन्छ, ‘म रोगी मान्छे हुँ । म दुष्ट मान्छे हुँ । म अनाकर्षक मान्छे हुँ ।’ जटिल पोयामा बुनिएका यस्ता अभिव्यक्ति, कथानक र प्रसंगले यो लघु उपन्यासलाई कालजयी बनाएको छ ।
२०औँ शताब्दीको रुसका नामुद भाषाशास्त्री मिखाइल बख्तिनले यस्तो भाष्यशैलीलाई ‘छिद्रसहितका शब्द’ भनेका छन् । उनको लेखन साँच्चै प्याजजस्तो पत्रैपत्र भएको छ । यसमा एकपछि अर्को पत्रमा, हरेक तहमा विविध अर्थ बसेका हुन्छन् ।
‘नोटस फ्रम द अन्डरग्राउन्ड’ सेन्ट पिटर्सबर्गको सरकारी कार्यालयमा काम गरेर जागिर छाडेको पूर्वकर्मचारीको स्वीकारोक्ति हो । यसमा मानव जीवनको सारलाई दार्शनिक कथामा बुनिएको छ । हाम्रा चाहनाहरूको स्वरूपका दुखान्त कथा तथा तर्क र अकर्म बिचको रुग्ण सम्बन्धको नाटकलाई बहुत सुन्दरता साथ प्रस्तुत गरिएको छ ।
उपन्यासको मुख्य पात्र भूमिगत मान्छे (अन्डरग्राउन्ड म्यान)को नाम वा थर केही खुलाइएको छैन । ऊ काल्पनिक तथा वास्तविक दुवै विरोधीसँग तर्क–वितर्क गरिरहन्छ । मान्छेको काम, प्रगति र सभ्यताका कारण जस्ता विषय मनमा खेलाइरहन्छ । ऊ पागलजस्तो छ, उसको हालत दयनीय छ । ऊ कोही बेला रोगबारे जानकार जस्तो छ, निर्धन छ, कसैले देख्ला कि भनेर डरैडरमा लुकेर बसेको एक्लो मान्छे छ । उसले यही भूमिगत जीवनबाट युरोपमा त्यो समय चलेका ठुला दर्शनहरू माथि प्रश्न गर्छ । मान्छे र मान्छेको जीवनलाई नयाँ ढाँचाबाट व्याख्या गर्छ । ‘नोटस फ्रम द अन्डरग्राउन्ड’ पढिसके पछि प्रख्यात लेखक फ्रेडरिक नित्सेले दोस्तोयभ्स्कीको प्रशंसा गर्दै भनेका थिए— ‘मैले कसैबाट अलिकति भए पनि मनोविज्ञान सिकेको छु भने त्यो दोस्तोयभ्स्कीबाटै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमै न्युजिल्यान्ड निरीह, अन्तिम खेल अगावै इङ्ल्यान्डले टेस्ट शृंखला जित्यो
-
मन्त्री दाहाल मनिला प्रस्थान
-
‘इन्जिनियरिङ’ नमिलेको संरचनाले निम्त्याएको काठमाडौँको जाम
-
सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ रोज्यो
-
बशर अल–असद देश छाडे भागेपछि दमस्कसमा खुसियाली, हेर्नुस् तस्बिरहरू
-
नागार्जुनबाट ९ जना जुवाडेहरू पक्राउ