सभापति देउवासँग सहायक विदेशमन्त्री लूको भेट
आइतबार, २३ मङ्सिर २०८१, १५ : ५१
काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले सत्तासझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
आइतबार दिउँसो साढे २ बजे सभापति देउवा र सहायक विदेशमन्त्री लूबिच भेट भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए ।
‘दिउँसो साढे २ बजे उहाँहरूबिच भेटवार्ता भएको हो‚’ देउवाले भने ।
सो क्रममा उनीहरूबिच दुई देशको आपसी हित र समसामयिक विषयमा छलफल भएको भानु देउवाले बताए ।
तीनदिने नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री लू आइतबार काठमाडौँ आइपुगेका हुन् । भारत र श्रीलंकाको भ्रमणपछि उनी नेपाल आएका हुन् ।