'भावी प्रधानमन्त्री'को भारत भ्रमण : बहाना महाकुम्भको, मेसो सम्बन्ध सुधार्ने
काठमाडौँ । नेपाल–भारत सम्बन्ध बिग्रिरहेका बेला सत्ताधारी गठबन्धनका मुख्य दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले चाहना राखे पनि भारत भ्रमण गर्न पाएका छैनन् । ओली प्रधानमन्त्री बनेको ६ महिना बढी भइसक्यो तर, भारतले हालसम्म भ्रमणको निम्तो दिएको छैन ।
यस्तोमा महाकुम्भ स्नानको बहानामा ‘वेटिङ प्राइममिनिस्टर’का रूपमा रहेका सभापति देउवाको भारत भ्रमण चर्चाको विषय बनेको हो ।
उत्तर प्रदेशको प्रयागराजमा सुरु हुने ‘कुम्भ ग्लोबल समिट’ मा वक्ताका रूपमा उनी त्यसतर्फ जान लागेका हुन् । दिल्ली हुँदै प्रयागराज पुग्ने सभापति देउवाको यो भ्रमणलाई बिग्रेको सम्बन्ध सुधारको प्रयासको रूपमा लिइएको छ ।
भारतीय जनता पार्टी (भाजपा) निकट रहेर थिंक ट्यांकको रूपमा काम गर्दै आएको इन्डिया फाउन्डेसन र भाजपा नेतृत्वको उत्तर प्रदेश सरकारले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा देउवालाई वक्ताका रूपमा निम्त्याउनुलाई सम्बन्ध सुधारको प्रयास भनेर अर्थ्याइएको छ ।
_yLgXtnDSMI.jpg)
उक्त कार्यक्रमका लागि नेपाली कांग्रेसका नेतृ एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई निम्तो थियो । तर, उनी आफू त्यहाँ नगएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई पठाउन लागिएको हो । परराष्ट्रमन्त्री आरजु हाल ओमानमा छिन् ।
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भारतले सहज रूपमा लिएको छैन । कांग्रेसकै अगुवाइमा चीनसँग बीआरआई फ्रेमवर्कमा सम्झौता भएपछि भारत थप झस्किएको छ ।
गत असारमा ओली प्रधानमन्त्री भएपछि भ्रमणको वातावरण बनाउन परराष्ट्रमन्त्री राणा भदौमा भारत भ्रमणमा गएकी थिइन् । त्यहाँ उनलाई राजकीय सम्मान प्राप्त भयो । परराष्ट्रमन्त्री आरजुसँग भारतका प्रधानमन्त्री आरजुदेखि विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्च पदस्थका व्यक्तिहरूको पनि राणासँग भेटघाट भएको थियो ।

तर, चीनमा बीआरआई सम्झौता गरेर भारत पुगेकी परराष्ट्रमन्त्री राणालाई पहिलाझैँ भारतले सम्मान दिएन । निकै ‘चिसो’ आतिथ्य पाएयता भारत–नेपालबिच सम्बन्ध खासै राम्रो देखिएको छैन ।
बिग्रेको सम्बन्ध सुधार्ने प्रयासस्वरूप परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबिच फागुन ४ गते ओमनमा भेटवार्ता भएको थियो । त्यो भेटवार्तालाई पनि सम्बन्ध सुधारको कडीका रूपमा लिइएको छ ।
अहिले पूर्वप्रधानमन्त्री देउवा स्वयं भारत जान लागेका छन् । कार्यक्रममा सबै वक्ता मन्त्री वा मन्त्रीसरह छन् । सभापति देउवा मात्र पूर्वप्रधानमन्त्रीको हैसियतमा सहभागी हुनेछन् । यसले पनि उनी कार्यक्रमको बहानामा भारतमा उच्चस्तरको भेटघाटका लागि जान लागेको पुष्टि हुने कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् ।
पूर्वराजदूत एवं विदेश मामिलाका जानकार विजयकान्त कर्णले सभापति देउवाको यो निजी भ्रमणले दुई देशबिच सम्बन्धमा पक्कै पनि सुधार आउने बताए । उनले भने, ‘यो भ्रमणलाई अन्यथा लिनुहुँदैन, यो एउटा धार्मिक र निजी भ्रमण हो, उत्तर प्रदेश सरकारको आयोजना भइरहेको यो कार्यक्रममा नेपालबाट मात्र होइन, विभिन्न देशका विशिष्ट व्यक्तिहरू सहभागी हुनेछन् ।’
_bMAipoPVAN.jpg)
यो भ्रमणले नेपाल–भारतबिच चिसिएको सम्बन्धमा थोरै भए पनि सुधार ल्याउने विश्वास गर्ने ठाउँ रहेको उनले बताए । यद्यपि सभापति देउवा सम्बन्ध सुधारकै लागि भारत जान लागेको भन्नु गलत हुने उनको भनाइ थियो ।
‘गएपछि विभिन्न भेटघाट हुन्छन्, कुराकानी हुन्छन्, त्यसले पनि सम्बन्धमा फरक पर्छ’, उनले भने, ‘यसलाई दुवै देशको हितमा लिनुपर्छ ।’
सत्ता सहकार्य गरिरहेका दुई दलबिचको सहमतिअनुसार देउवा २०८३ असारमा प्रधानमन्त्री बन्दैछन् । कुनै राजनीतिक दुर्घटना भएन भने कांग्रेस–एमालेबिच भएको सात बुँदे सम्झौताअनुसार देउवा प्रधानमन्त्री बन्ने निश्चित छ ।
प्रधानमन्त्री देउवा प्रधानमन्त्री बन्नुअघि भारतसँग सम्बन्ध सुधार गर्न चाहन्छन् । यसका लागि उनले विभिन्न प्रयासहरू गरिरहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण