कविता
आउने जाने
शनिबार, २४ फागुन २०८१, ११ : ००

यो पृथ्वी यस्तै छ
आएपछि थाहा हुन्छ
आउने आउँछन् रुँदै
जाने जान्छन् रुवाउँदै
आउने एक्लै रोइरहेको हुन्छ
आमाको न्यानो मायामा
तर वरिपरि सबै
खुसीले मुस्काइरहेका हुन्छन्
नयाँ आगमनको
नयाँ उत्साह, उमङ्ग, र नयाँ किरणमा
जाने न रुन्छ न पोल्यो भन्छ
दनदन बलेको चितामा
तर उसलाई माया गर्नेहरू
दुःखी भई रोइरहेका हुन्छन्
सधैँको लागिको बिछोडको
पिर, चिन्ता, र चित्कारमा
यस्तै छ यहाँको रीत
आउनेलाई सत्कार गरिन्छ
किनकि ऊ सुरु हुन्छ
जीवनको लामो
आरोह अवरोहमा
बगिरहन खोला जस्तै
अनि कहिले नफर्किने गरि
जानेलाई बिदा गरिन्छ
किनकि ऊ अन्त्य हुन्छ
जीवनको पावर सकिएर
करेन्ट सप्लाइ बन्द भई
त्यागेको बिजुलीको पोल जस्तै
यो आउने जाने क्रम चलिरहन्छ
जबसम्म सूर्य चन्द्र रहिरहन्छ
तबसम्म आँसु हुनेले रुनुपर्छ
हाँसो हुनेले खुसी हुनुपर्छ