आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय
ब्लग

गोली लागेको हात त्यति दुख्दैन, देशको अवस्था देखेर दुख्छ दिल

मङ्गलबार, ०९ वैशाख २०८२, १४ : ४५
मङ्गलबार, ०९ वैशाख २०८२

१९ वर्षअघिको आजैको दिन अर्थात् ०६३ वैशाख ९ गते । मृत्युको मुखबाट जोगिएको त्यो दिन । मैले अर्को नयाँ जीवन पाएको दिन । देशको सुनौलो भविष्य कोर्ने सपना बोकेर रगत बगाएको ऐतिहासिक दिन । 

यतिखेर त्यतिबेलाको त्रिपुरेश्वरको दृश्य मेरो स्मृतिमा उत्रिरहेको छ । सडक तात्तिएका थिए । आँखाले भ्याएसम्म जताततै मानव सागर उर्लिएको देखिन्थ्यो । म भर्खर १७ वर्षको ठिटो । त्यतिबेला भर्खर आईएको परीक्षा दिएर बसेको म, दैनिकजसो आन्दोलनमा सहभागी भएको थिएँ ।

त्यस दिन उफ्रँदै उफ्रँदै नारा लगाउँदै जुलुसको अग्रपंक्तिमा गएको थिएँ । यता भक्तपुर, कोटेश्वर, नयाँ बानेश्वर क्षेत्रबाट विशाल जुलुस अगाडि बढ्यो । उता कलंकी, कालिमाटी, टेकु हुँदै त्रिपुरेश्वर आईपुगेको जुलुस एकै ठाउँमा मिसियो । आँखाले हेर्दा पनि नभ्याउने त्यो विशाल जनसागर जब त्रिपुरेश्वरबाट रत्नपार्कतिर अगाडि बढ्यो, तब एकाएक गोली चल्यो ।

निरन्तर प्रहरीका लाठी बज्रिरहे । आन्दोलनमाथि दमन भइरहे, गोली चलिरहे, विशाल जनसागर बिस्तारै तितरबितर हुन पुग्यो । भागदौडमा मानिसहरू लडेर ठुलै थुप्रो बनेको थियो । त्रिपुरेश्वरस्थित त्रिभुवनको सालिकबाट त्यति नजिकैको आँखा अस्पतालको परिसर पुग्न निकै समय लागेको थियो । त्यति ठुलो भिड, लाठी, गोली छल्न हम्मे भएको थियो । एकाएक मेरो बायाँ हातमा तातो महसुस भयो । आँखा अस्पतालको परिसरमा पुगेर हेर्दा थाहा भयो, मेरो बायाँ हातमा गोली लागेछ । रगत चुहिरहेको थियो ।

तत्कालीन शाही सरकारले कफ्र्यु जारी गरे पनि नागरिकले सडकमा उत्रिएका थिए । रेडक्रस, मिडिया, मानव अधिकारकर्मी सबै सडकमा थिए । मैले नेपाल रेडक्रसको प्रतिनिधिलाई मेरो हात देखाएँ । सामान्य उपचार गरेर थप उपचारका लागि मलाई काठमाडौँ मोडल हस्पिटल लगियो । त्यसै दिन मेरो हातको अप्रेसन गरियो । सामान्य अवस्थामा आउन भने अलि समय लाग्यो ।parichaya patra

०६२ चैत २४ गतेदेखि दोस्रो जनआन्दोलनको आँधी चलेको थियो । गाउँ–सहर हुँदै सिंगो देश परिवर्तन र स्थायी शान्तिको पक्षमा उर्लिएको थियो । एकातिर सशस्त्र द्वन्द्व, अर्कोतिर तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शाही शासनले गर्दा सर्वसाधारण मारमा परेका थिए । सबैको चाहना थियो— देशमा शान्तिको श्वास फेर्न पाइयोस्, आन्तरिक कलहको अन्त्य होस्, सबैले सुखका दिन भोग्न पाइयोस्, नयाँ नेपाल छिटै हेर्न र महसुस गर्न पाइयोस्, नयाँ संविधान आओस् । 

एकाएक मेरो बायाँ हातमा तातो महसुस भयो । आँखा अस्पतालको परिसरमा पुगेर हेर्दा थाहा भयो, मेरो बायाँ हातमा गोली लागेछ । रगत चुहिरहेको थियो ।

हरेक नागरिकको आँखाले अग्रगामी परिवर्तन खोजिरहेको थियो । नयाँ नेपाल बनाउने सपना र आकांक्षा बोकेर सिंगो देश जुर्मुराएको थियो । सारा नेपालले शान्ति, समृद्धि र न्यायका लागि आवाज उठाएका थिए । त्यही आवाजमा मैले पनि आवाज थपेको थिएँ । 

जनआन्दोलन चर्कंदै गयो । हरेक दिन सडकमा जनताको सागर उर्लंदो थियो । पसल, स्कुल, कार्यालय, बैंक सबै ठप्प थिए । वातावरण उकुसमुकुसपूर्ण थियो । आन्दोलन दबाउन राजाले सक्दो शक्ति लगाएका थिए । यद्यपि घरघर, चोकचोक, गल्लीगल्लीबाट निस्किएका जुलुस मुख्य सडकमा पुग्थे र मुठी उठाएर गगनभेदी नारा घन्काउँथे ।

अन्तत: जनताको जीत भयो l मलाई गोली लागेको तेश्रो दिन, जनताको शक्ति सामु राजा ज्ञानेन्द्र झुक्न बाध्य भए l प्रतिनिधिसभा पुन:स्थापना भयो, लोकतन्त्र आयो, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने l 

त्यस १९ दिने आन्दोलनमा २५ जना सहिद भएक थिए । देशभर साढे ७ हजार नागरिक घाइते भएका थिए, जसमध्ये एक म पनि हुँ । ०६२/०६३ को जनआन्दोलनका घाइतेहरू संगठित भएर ‘ऐतिहासिक जनआन्दोलन घाइते पीडित समाज’ नामक संस्था स्थापना गरेका थिए । संस्थामा मुलुकभरका करिब ४५ सय घाइते पीडित जोडिएका थिए । जनआन्दोलनका घाइतेलाई निःशुल्क शिक्षा, घाइतेका सन्तानलाई प्राथमिक तहदेखि उच्च शिक्षासम्म छात्रवृत्तिको व्यवस्था, उनीहरूका परिवारलाई निःशुल्क स्वास्थ्य उपचार, घाइतेको निःशुल्क जीवन बिमाको माग समाजले राखेको थियो । कोइरालाको सरकारले जनआन्दोलनका घाइतेलाई परिचयपत्र प्रदान गरेको थियो भने त्यस्ता परिचयपात्र प्राप्त नागरिकलाई निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारी प्रदान गर्ने र यातायातमा छुट दिने लगायत अन्य सुविधा प्रदान गर्ने निर्णय गरेको थियो ।

जसै समय बित्दै गयो, जनआन्दोलनका सहिद र घाइतेहरूलाई बिर्सिन थालियो, पूरै बेवास्ता गरियो । आज ‘ऐतिहासिक जनआन्दोलन घाइते पीडित समाज’ पनि कतै हराए जस्तो, अस्तित्व मेटिए जस्तो अवस्थामा छ। narendra raule

लाखौँ जनताको बलमा गणतन्त्र आयो । संविधानसभाको चुनाव भयो । नयाँ संविधान लेखियो । जनता जुन आशा र उत्साहका साथ जनआन्दोलनमा होमिएका थिए, आज सोचेजस्तो पटक्कै भएन । जताततै निराशा, आक्रोश, आवेगको आगो बलिरहेको छ । व्यवस्था बदलियो, जनताको अवस्थामा सुखद् परिवर्तन आएको छैन । बरु, झन्झन् कष्टकर बन्दै गएको छ । नेता र तिनका आसेपासे, केही कर्मचारी र बिचौलियाको जीवनमा भने कायापलट नै भयो । 

हिजो राजतन्त्रको अन्त्यका लागि जनआन्दोलन भएको थियो । आज १९ वर्षपछि एउटा यस्तो जमात तयार भइसक्यो, जो राजतन्त्र फर्काउन संघर्षरत छ ।

जनआन्दोलनमा हिजो जो नेता अग्रपंक्तिमा थिएनन्, जसको खासै भूमिका थिएन, आज उनीहरूकै हालिमुहाली देखिन्छ । आज उनीहरू शासक छन् । सट्टा सन्चालकहरुले जनअपेक्षा अनुरुप काम गर्न सकेको भए यस्तो दिन आउँदैनथ्यो । जनतामा बढेको निराशाको बादल हटाउने ताकत अहिलेका कुनै राजनीतिक दल वा नेतामा देखिँदैन, न उनीहरूमा त्यस्तो इच्छाशक्ति नै छ । पद, पैसा र शक्तिको आहालमा नेता र दल चुर्लुम्म डुबेका छन् । त्यो जालोबाट तत्कालै बाहिर आउने छाँटकाँट देखिँदैन ।Narendra Sir photo

सरकारले पर्सि वैशाख ११ गते १८औँ लोकतन्त्र दिवस मनाउने तयारी गरिरहेको छ । तर जनतामा कुनै रौनकता छैन; उत्साह, उमंग छैन । जनआक्रोश र निराशा चुलिँदो छ । युवा पलायन हुने क्रम बढ्दो छ । रोजगारीका लागि भौँतारिँदै विदेश जानेको लर्को बढ्दो छ । जनताका चाहना सरकार र सरकारी संयन्त्रले काम गर्नै सकेनन् । नेताहरू बिचौलियाको जालोमा फसे । 

यतिखेर २१ दिनदेखि शिक्षकहरु सडकमा छन् । सुन्नुपर्नेले उनीहरुको आवाज सुनेका छैनन् । लाखौँ रकम गुमाएका सहकारी पीडित सडकमा रोइरहेका छन्, न्याय दिनैपर्नेले दिएका छैनन् । सरकारको कान कमजोर हो कि, संवेदना मरिसकेको हो ! बुझ्नै कठिन छ । 

मेरो हातमा कहिल्यै नमेटिने चिह्न छ, गोली लागेको घाउको दाग । यतिखेर त्यो दाग त्यति दुख्दैन तर देशको अवस्था देखेर मन दुख्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप