अमरदीप सुनुवारका तीन कविता

- १) पृथ्वीको श्वेतपत्र
ब्रह्माण्डको उत्पत्तिकथा
सौर्यमण्डलको गतिशील मन्त्र र
खगोल विज्ञानको प्रयोगशालामा
प्रतिपादित कोरा सिद्धान्तहरूको फूल
उत्पत्तिकालको सङ्ग्रहालयमा कैद भएको पृथ्वीमा
समयको गुरुत्वाकर्षण बलका ज्वाराभाटाहरूसँगै
अनेकन लामपुच्छ«े ताराहरू देखिए
कति वास्तविकताहरू उल्कावर्षा भएर बिलाए
यो महाजात्रा महासभ्यताको कोसेढुङ्गा हो
यो महायात्रा पृथ्वीको श्वेतपत्र हो ।
महादेशमा मान्छे नै मान्छे भएका
मान्छेहरूमा मन थरीथरी भएका
निलाम्य महासागरहरूमा
थरीथरीका चलचरहरू बाँचेका र
रङ्गिन माछैमाछाहरू पौडिएका
जलवायुको शीतलतामा हाँसेका
सेताम्य हिमालले शिरताज लाएका
पहाडको टुप्पाले प्रेमगीत गाएका
तराईका समथर फाँटले अन्न उब्जाएका
प्रकृति फूल म यही पृथ्वी हुँ ।
मान्छेहरूमा प्रेम र करूणा अङ्कुराएको
सद्भाव र सहिष्णुता पाउलिएको
भौतिक विज्ञानको भौतिक अन्वेषण
रसायन विज्ञानको रसायनिक अणुसूत्र
सूत्रपात भएको प्रयोगशालामा
धर्मग्रन्थ खारिएको धर्मशालामा
सांसारिकताको सारमा ओथारो बसेर
मानवताको अमरत्व उमार्ने
चराचर जगत्को स्थायी घर यही पृथ्वी हुँ
मानवताको शष्यश्यामला फूलबारी म यही पृथ्वी हुँ ।
म नीलो ग्रह पृथ्वी हुँ
जन्मजन्मान्तर पृथ्वी नै हुन चाहन्छु
ब्रह्माण्डभरि शीतलता छर्न चाहन्छु
गोलार्धभरि जीवनका लाँलीगुराँस फुलाउन चाहन्छु
भूमध्यरेखामा जीवनको रेल गुडाउन चाहन्छु
कसैले मेरो आकार र आयु नाप्न सकौला
तर करुणा र प्रेम नाप्न सक्दैनौँ
कसैले मेरो व्यास र तौल नाप्न सकौला
तर मैले आजीवन बोकेको
जीवन र जगत्को मूल्य मापन गर्न सक्दैनौ
मलाई पृथ्वी भएकोमा कुनै खेद छैन
मलाई नाङ्गिएर बाँच्नुमा कुनै ग्लानि छैन
म जसले जे गरे पनि पृथ्वी नै भइरहन सकूँ
म जसले जे भने पनि पृथ्वीमा जीवन उमारिरहन सकूँ ।
००
- २) पञ्चतत्त्व बन्ने रहर
पञ्चतत्त्वहरूको सभ्यतामा
असरल्ल इच्छाहरूको पृथ्वीमा
जीवनको पञ्चतत्त्व हुन चाहन्छु
पञ्चतत्त्वको इच्छापत्र बन्न चाहन्छु
र पञ्चतत्त्वकै घोषणापत्र घोषणा गर्न चाहन्छु ।
ब्रह्माण्डको अणुसूत्र हुन चाहन्छु
पञ्चतत्त्वको अद्भुत शक्ति हुन चाहन्छु
पञ्चतत्त्वको दिव्य सृष्टि रचना गर्न चाहन्छु
पञ्चतत्त्वको चमत्कार बन्न चाहन्छु
अनि सृष्टिको विज्ञान सन्तुलन गर्न चाहन्छु ।
अमृतमय पानी बन्न चाहन्छु
हिमनदीको चिसो पानीजस्तै
शीतलताको चिसो छर्न चाहन्छु
समुद्रमा जमेको पानीजस्तै
संसारमा सुकर्मले जम्न चाहन्छु
नदीको कलकल पानीजस्तै बग्न चाहन्छु
कलकल बगेको पानीजस्तै
निर्मल र कञ्चन हुन चाहन्छु
पानी पानी हुनेहरूको भिडमा दौडेका
पानी बन्ने धुनमा हिँडेका
मान्छेहरूको तिर्खा मेटाउन चाहन्छु
पानी बनेर प्रकृति बचाउन चाहन्छु ।
अनन्त हावा हुन चाहन्छु
वायुमण्डलको स्वच्छ वायु बन्न चाहन्छु
चौतर्फी स्वच्छन्द बहन चाहन्छु
प्रकृतिको प्राणवायु अक्सिजन हुन चाहन्छु
प्रत्येक प्राणीमा जीवन्त प्राण भर्न चाहन्छु
विकृति विसङ्गतिका डङ्गुरलाई
आँधी हुरी भएर बढार्न चाहन्छु
लेकबेँसी भिरपाखा सबैतिर
सीमाविहीन मानवताको
अन्तर्राष्ट्रिय उडान भर्न चाहन्छु ।
रङ्गिन आकाश बन्न चाहन्छु
जीवनको आकाशलाई चुम्न चाहन्छु
आकाशको कालो बादल फार्न चाहन्छु
बादलपारिको पराईपन चिर्न चाहन्छु
शकुनि षड्यन्त्रहरूमा चट्याङ पार्न चाहन्छु
अप्राकृतिक उल्कावर्षा छेक्न चाहन्छु
मनभरि आकाङ्क्षाको ओत हाल्न चाहन्छु
जीवनहरूको जीवन फक्राउँदै
आकाश फुलेको जीवन बाँच्न चाहन्छु
आकाशको जीवन जिउन चाहन्छु
र जीवन आकाशको क्षितिज उघार्न चाहन्छु ।
शश्यश्यामला पृथ्वी बन्न चाहन्छु
धर्तीमाताको आधार हुन चाहन्छु
पृथ्वीको प्रतिमूर्ति भई शीतलता छर्न चाहन्छु
धर्ती फाट्दा फाटेका मनहरू सिउन चाहन्छु
धर्तीमाथि टेकेर उभिएका, बाँचेका
मनहरू टुट्दाटुट्दै धर्ती जोड्न चाहन्छु
प्रकृतिको सुन्दर ब्याडमा
सुशासनको बिउ उमार्न चाहन्छु
सिरिसेका खेतका गह्राहरूमा
समृद्धिको धान रोप्न चाहन्छु
मेरा वनपाखा लेखबेँसीमा
सुखको हरियाली बन्न चाहन्छु
र पृथ्वीका प्रत्येक घरहरूमा
खुसीको धर्ती बन्न चाहन्छु ।
अस्तित्वको अग्नि बन्न चाहन्छु
प्राकृतिको संसारको अग्निसूत्र हुन चाहन्छु
अग्नि भई संसारका कालोहरू निल्न चाहन्छु
अन्धकारको जालोलाई तोड्न चाहन्छु
अग्निको बिउ बनेर सधैँ
ज्वालामुखीको अग्नि रूख भएर
अग्निले प्रकृतिलाई सेकताप गर्न चाहन्छु
मान्छेहरूलाई न्यानोपन बाँड्न चाहन्छु
अग्निको दिव्य ऊर्जा छर्न चाहन्छु
दिव्य ऊर्जाको जीवन प्रकाश फैलाउन चाहन्छु ।
जीवन ब्रह्माण्डको सेरोफेरोमा
घुमेर हेर्दा, फर्केर गम्दा
जीवनमा पञ्चतत्त्वहरू मात्रै हुँदो रैछ
पञ्चतत्त्वहरूमा जीवन बाँचिरहँदो रैछ
जीवनमा पञ्चतत्त्व बन्ने इच्छाहरू उम्रँदो रैछ
पञ्चतत्त्वहरूमा जीवन बुन्ने रहर फक्रँदो रैछ
त्यसैले जिन्दगीमा बाँच्नलाई
बाँचेर जिन्दगीको सार्वभौमिकता चुम्नलाई
पञ्चतत्त्वको प्राकृतिक जीवन जिउन चाहन्छु
जीवनको पञ्चतत्व सार्वजनिक गर्न चाहन्छु ।
००
- ३) मलाई प्रश्नभन्दा उत्तर मन पर्छ
कतिपय उत्तरहरू
प्रश्नको पछि लागेर आउँछन्
कतिपय प्रश्नहरू
उत्तरहरूको पुच्छर बनेर धाउँछन्
प्रश्नले जन्माएको मलाई
प्रश्नहरूको प्रश्न पनि मन पर्छ
उत्तरले हुर्काएको मलाई
उत्तरहरूको उत्तर अझ बढी मन पर्छ
सापेक्षतावादको आजको दुनियाँमा
मलाई प्रश्नभन्दा उत्तर मन पर्छ ।
हरदम उत्तरको खोजी गर्दै
प्रश्नै प्रश्न गरिरहेको यो ब्रह्माण्ड
अविरल सृष्टिका प्रश्नहरू सोधिरहेका
यी जल, जमिन, जङ्गल र जडीबुटी
हरपल जीवन प्रश्न गरिरहेका
यी किसान, कवि र दार्शनिक
यी सपना, आकाङ्क्षा र गन्तव्य
निद्रामा पनि नसुती नसुती चिमोटिरहन्छन्
तन्द्रामा पनि बेहिसाब घचेटिरहन्छन्
प्रश्नहरूले विनिर्माण गरेको
मलाई प्रश्नहरूको सुगन्ध मन पर्छ
उत्तरहरूले विकास गरेको मलाई
उत्तरहरूको सुवास अझ बढी मन पर्छ
मलाई प्रश्नभन्दा उत्तर मन पर्छ ।
प्रश्न गर्न सजिलो ब्रह्माण्डमा
उत्तर दिन गाह्रो पृथ्वीमा
प्रश्न सोधिरहेको कालापत्थरलाई
हिमालले हाँसेर उत्तर दिइरहेकै छ
प्रश्न सोधिरहेको ज्वालामुखीलाई
जमेर समुद्रले उत्तर दिइरहेकै छ
प्रश्न सोधिरहेको मरूभूमिलाई
फुलेर प्रकृतिले उत्तर दिइरहेकै छ
प्रश्न सोधिरहेको घृणालाई
बाँचेर प्रेमले उत्तर दिइरहेकै छ ।
मैले टेकेका पैतालाले सोधेका
चट्टानी प्रश्नहरूउपर
मलाई कविताको उत्तर दिन मन पर्छ
प्रश्नहरूको भट्टीले खारेको मलाई
प्रश्नहरूको सङ्कुचनभन्दा
उत्तरहरूको उदारता मन पर्छ
उत्तरहरूको फूलबारीले प्रित गाँसेको मलाई
प्रश्नहरूको लालचाभन्दा
उत्तरहरूको त्याग मन पर्छ
मलाई प्रश्नभन्दा बढी उत्तर मन पर्छ ।
०००
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने