आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

अग्नि नियन्त्रकले काम गरेको हेर्न युवकले लगाए आफ्नै घरमा आगो

आइतबार, २१ वैशाख २०८२, १५ : १८
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । मानिसहरूका अनौठा रुचिहरू हुन्छन् । बेलयातमा यस्तै रुचिका कारण एक युवकले जेल सजाय नै पाएका छन् । 

ती युवकलाई अग्नि नियन्त्रक असाध्य मन पर्ने, त्यही अग्नि नियन्त्रकहरुलाई हेर्नका लागि उनले आफ्नै घरमा एक रातमा दुईपटक आगो लगाएका हुन् ।

नर्थअम्बरल्याण्डका २६ वर्षीय जेम्स ब्राउनलाई सानैदेखि अग्नि नियन्त्रक मनपथ्र्यो  । उनी आफै पनि अग्नि नियन्त्रक बन्न चाहन्थे । तर, उनको सपना पूरा हुन सकेन । त्यही भएर उनले अग्नि नियन्त्रकहरुलाई काम गरिरहेको हेर्न आफ्नै घरमा आगो लगाउने निर्णय गरे ।

सन् २०२३ को सेप्टेम्बर ९ मा एसिङटनको ११ औँ एभेन्यूमा रहेको घरका मालिकले दमकल सेवामा फोन गरेर घरमा आगो लागेको रिपोर्ट गरेका थिए । उनले बिजुलीको मिटरमा आगोको झिल्काहरू निस्केर खाटको कपडा र दराजमा आगो लागेको बताए । 

लगत्तै अग्नि नियन्त्रकहरू सो घरमा पुगेर आगो निभाएका थिए । यसरी फोन गर्ने युवक थिए, जेम्स ब्राउन । त्यसको ९० मिनेटपछि ब्राउनले पुनः घरमा आगो लागेको भन्दै रिपोर्ट गरे ।

दोस्रोपटक पनि अग्नि नियन्त्रकहरू घरमा पुगेर आगो निभाए । कसरी आगो लाग्यो भनेर सोध्दा ब्राउनले पुनः बिजुलीको मिटरबाट आगो लागेको बताए । तर, यो सम्भव थिएन । किनभने अग्नि नियन्त्रकले यसअघि नै बिजुलीको तार छुटाएका थिए । उनीहरूले यो आगजनी जानीजानी गरिएको आशंका गरे । 

अदालतमा प्रस्तुत गरेको दस्ताबेज अनुसार अग्नि नियन्त्रकहरू ब्राउनको घरमा पुग्दा उनले निकै रुचिका साथ आगो निभाउने प्रक्रिया क्यामेरामा रेकर्ड गरेका थिए । रेकर्डहरु हेर्दा ब्राउनले पछिल्लो १२ महिनामा ८० पटक दमकल सेवा फोन गरेको खुल्यो । त्यसपछि ब्राउनले दुईपटक जानीजानी आगलागी गराएको स्वीकार गरे । 

यो मुद्दामा गत महिना उनलाई आठ महिना जेल सजाय सुनाइयो । तर, उनी जेल भने जान पर्ने छैन । उनले १५० घण्टा निःशुल्क काम गर्नुपर्नेछ । यो घटनापछि उनलाई दमकल सेवामा फोन गर्नसमेत प्रतिबन्ध लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप