शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पैसाको लेनदेन विवादमा युवतीको हत्या

शुक्रबार, २२ जेठ २०८३, २० : ४३
शुक्रबार, २२ जेठ २०८३

विराटनगर । झापाको रतुवा खोलामा १० दिनअघि बोराभित्र फेला परेको युवतीको शव प्रकरणको रहस्य खुलेको छ। पैसाको लेनदेनमा भएको विवादले उग्र रूप लिँदा २१ वर्षीया युवतीको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले दमक–५ मा डेरा गरी बस्ने ३४ वर्षीय भारतीय नागरिक राकेश कुमार पण्डितलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गर्दै दमक–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्यामा पण्डितको संलग्नता पुष्टि भएको जनाएको छ। भारतको बिहार, अररिया घर भएका पण्डित दमक क्षेत्रमा टायल्स तथा मार्बल जडानको ठेक्कापट्टा गर्ने मिस्त्री हुन्। गत जेठ १६ गते दमक–१० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोरामा प्याक गरिएको अवस्थामा बेवारिसे शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रहरी अनुसन्धानका अनुसार तिवारी र पण्डितबिच जेठ १६ गते भेट भएको थियो। दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकैको झाडीमा उनीहरूबिच शारीरिक सम्पर्क भएको र त्यसबापत पण्डितले पैसा समेत दिएको खुलेको छ । तर, थप रकमको विषयलाई लिएर दुवैबिच विवाद सुरु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

‘आर्थिक लेनदेनमा कुरा नमिलेपछि किशोरीले जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिएको र सोही आवेगमा पण्डितले घाँटी थिचेर हत्या गरेको बयानबाट देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । हत्यापछि शव व्यवस्थापनका लागि पण्डितले अर्को मोटरसाइकल मे २ प ८२३ प्रयोग गरी शवलाई बोरामा बाँधेर पुलमुनि फालेका थिए।

हत्यापछि पक्राउ पर्ने डरले पण्डित सोही दिन भारततर्फ फरार भएका थिए । घटना साम्य भएको ठानेर ३–४ दिनपछि उनी जेठ २० गते पुनः दमक फर्किएका थिए। उनी नेपाल आएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकका नायव निरीक्षक हरि बहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले उनलाई जेठ २१ गते राति उनकै डेराबाट नियन्त्रणमा लिएको हो।

झापा प्रहरी प्रमुख एसपी बसुन्धारा खड्काका अनुसार घटनास्थलको सूक्ष्म निगरानी, सीसीटीभी फुटेजको विश्लेषण र कल डिटेल रेकर्ड (सीडीआर) का आधारमा प्रहरी आरोपितसम्म पुग्न सफल भएको हो । सुरुमा पहिचान हुन नसकेको शवलाई पछि मृतकका बुबा नारायण तिवारीले सनाखत गरेका थिए।

प्रहरीले घटनामा प्रयोग गरिएको मोटरसाइकल र आरोपितले घटनाका बेला लगाएका लुगाहरू समेत बरामद गरेको छ । पक्राउ परेका पण्डितविरुद्ध झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी कर्तव्य ज्यान र जबरजस्ती करणीको कसुरमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप