‘जति उत्तेजक बोल्यो भने पनि लोकतन्त्र र संविधान मास्न दिइने छैन, कुरा स्पष्ट छ’

नेपाली राजनीतिमा सबैभन्दा धेरै आलोचित हुने तर साथै सबैभन्दा धेरै प्रशंसाको पुष्पगुच्छाबाट प्रशंसित हुने पात्रमा पर्छन् – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । उनी नाकाबन्दीविरुद्ध कडा अडान लिएर प्रशंसित हुन्छन् तर सँगै संसद् विघटन गरेर आलोचित हुन्छन् ।
ठिक त्यसैगरी अहिले फेरि उनी विवादमा तानिएका छन् । जेठ १५ अर्थात् आजका दिन ‘काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेपछि उनको पक्ष–विपक्षमा समर्थन–आलोचना भइरहेको हो ।
गणतन्त्र दिवसको अवसरमा रातोपाटीसँग विशेष कुराकानी गरेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनरुत्थानवादीहरूलाई लोकतन्त्र र संविधान मास्न नदिइने स्पष्ट पारे । रातोपाटीको संविधान संशोधन बहस शृङ्खलामा प्रस्तुत छ ओलीसँग नरेश ज्ञवाली र फणीन्द्र नेपालले गरेको कुराकानीको सम्पादित अंश ।
- नयाँ संविधान जारी भएर १० वर्ष पुग्नै लाग्दा, हामीले नयाँ संविधानको कार्यान्वयन कत्तिको गर्न सक्यौँ ?
हामीले संविधान कार्यान्वयन गर्न सकेका छौँ । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली स्थापना गरेको छ र त्यसको सञ्चालनको विधि तोकेको छ । त्यो स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई हामीले व्यवहारिक रूपमा सफलतापूर्वक संरक्षण, कार्यान्वयन र विकास गर्दै अगाडि बढाएका छौँ । त्यस सम्बन्धमा संविधानले निर्दिष्ट गरेका संविधानका मूल मर्महरू राज्यका निर्देशक सिद्धान्त र नीतिहरूको मार्गदर्शनमा रहेर संविधानमा उल्लेखित जनताका मौलिक हकहरूको रक्षा र कार्यान्वयन गर्दै सुशासन तथा विकासका लागि जे जसरी काम गर्न सकिन्छ, मौजुदा परिस्थितिमा त्यस अनुसार हामीले काम गरेका छौँ ।
जहाँ बिग्रिएको थियो, त्यसलाई सपार्ने तथा जहाँ शिथिलता र व्यवधानहरू थिए तिनीहरूलाई पन्छाउने कामहरू भइरहेका छन् ।
यसका साथै देशलाई पछि फर्किन नदिने, उपलब्धिहरूको रक्षा गर्ने, थप उपलब्धिका लागि अघि बढ्ने । समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्दै राजनीतिमा लोकतान्त्रिक, अर्थतन्त्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्दै सामाजिक न्याय र समानताको सिद्धान्त अनुसार सामाजिक सद्भाव कायम गर्ने, राष्ट्रिय एकता कायम गरेर राष्ट्र निर्माणको काममा लाग्ने भरपुर कामहरू भइरहेका छन् ।
यसका लागि जहाँ बिग्रिएको थियो, त्यसलाई सपार्ने तथा जहाँ शिथिलता र व्यवधानहरू थिए तिनीहरूलाई पन्छाउने कामहरू भइरहेका छन् । यसरी संविधानको व्यवहारिक रूपमा रक्षा भएको छ, कार्यान्वयन भएको छ । र, यसलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रयास जारी छ । आगामी दिनहरूमा संविधानलाई अनुभवका आधारमा, आवश्यकताका आधारमा परिवर्तन, परिमार्जन, संशोधन गर्दै अगाडि बढ्ने पनि हामी प्रयास गरिरहेका छौँ । यसको महसुस गरेका छौँ, त्यसैले कमिटमेन्ट पनि गरेका छौँ ।
- संसद्मा भएका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा (एमाले) बिच भएको सात बुँदे सहमतिमा संविधान संशोधन गर्ने भनियो तर त्यसमा कसरी अघि बढ्ने भन्ने केही उल्लेख छैन । हालसम्म कुनै प्रगति पनि हुन सकेको छैन । तपाईं पहिले संविधानको समीक्षा गरेर संशोधनमा जानुपर्छ भन्ने ठान्नुहुन्छ वा सोझै संविधान संशोधनमा जानुपर्छ भन्ने ठान्नुहुन्छ ?
संविधान असंशोधनीय दस्ताबेज होइन । यो संशोधनीय दस्ताबेज हो । यो कुनै धर्म ग्रन्थ होइन । यो सामाजिक गतिलाई, सामाजिक प्रबन्धलाई व्यवस्थित र अगाडि बढाउने कुरा हो । त्यसकारण यो गतिशील छ ।
संविधान भनेको समाजको सुव्यवस्था कायम गर्ने, समाजलाई अघि बढाउने दस्ताबेज हो । यो कुनै ईश्वरीय वा दैवीय देन होइन । मानवजातिले मानवजातिका लागि, नेपालीले नेपालीका लागि बनाएको दस्ताबेज हो । नेपालीका लागि आवश्यकता अनुसार यो परिमार्जन र संशोधन हुन्छ, गर्नुपर्छ ।
संविधान, व्यवहारमा कार्यान्वयनका दौरान, अनुभवका आधारमा समीक्षा हुने हो । र, कुनै समीक्षा मनगढन्ते हुन सक्दैन । व्यवहारमा आएका सहजता–असहजता, सजिला–अप्ठ्यारा, केमा व्यवधान भयो वा कहाँ अमिल्दो छ, समयानुकूल परिमार्जन र विकास गर्नुपर्ने आवश्यकता कहाँ देखियो, तदनुसार हुने हो । यो बौद्धिक विलास मात्रैको विषय होइन । अथवा यो कुनै ध्यान, तपस्या अथवा चिन्तन–मननको विषय होइन । व्यवहारबाट जे प्रकट भयो, त्यसलाई व्यवस्थित गर्न चिन्तन गरिने हो । नतिजा व्यवहारले निकाल्ने हो । कार्यान्वयनले निकाल्ने हो, आग्रहले होइन ।
तसर्थ संविधान संशोधन उचित समयमा हुन्छ । मलाई के लाग्यो भन्ने आधारमा संशोधन गर्ने होइन । कसरी संशोधन गर्ने भन्दा संविधान संशोधनको प्रक्रिया संविधानले नै बताएको छ । सरकारले प्रस्ताव राख्छ त्यस विषयमा संसद्मा छलफल गरेर, दुई तिहाइले पारित गरेर संशोधन गर्ने हो । यसमा सम्पूर्ण आमजनता यसका ‘स्टेकहोल्डर’ हुन् ।
हिजो त हामीले कसैको खल्तीबाट दिइएको संविधानलाई अस्वीकार गरेर संविधानसभाबाट संविधान ल्यायौँ भने अब पनि संविधान अन्यत्र कतैबाट संशोधन हुने होइन । संसद्को दुई तिहाइबाट संशोधन गर्ने हो । तर, हामी चाहन्छौँ संसद्मा सर्वसम्मत होस् ।
र, हामीसँग सर्वसम्मतिले संविधान संशोधन गरेको अनुभव छ । हामीले वर्तमान संविधानलाई दुईपटक संशोधन गरेका छौँ । दुई–चारजना साथीहरूको असहमति थियो होला, तैपनि पनि हामीले सर्वसम्मतिले संशोधन गरेका हौँ । त्यसैले सर्वसम्मतिले संविधान संशोधन असम्भव छ भन्ने होइन । तर, यो संविधान हामी नेपालीहरूकै लागि हो भन्ने कुरा बुझ्नुपर्यो । समस्याहरू झिक्नका लागि होइन समाधान दिनका लागि संविधान संशोधन हो भन्ने बुझ्नु पर्यो । सङ्कीर्ण राजनीति खेल्नका लागि होइन । राष्ट्रिय उपलब्धिका लागि संविधान संशोधन हो भन्ने बुझ्नु पर्यो । त्यो बुझियो भने सर्वसम्मत हुन सक्छ । अब बुझिएन भने के भन्न सकिन्छ र ?
- तर, सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले नै सरकार गठन भएको ११ महिनासम्म संविधान संशोधनका निम्ति ठोस पहलकदमी लिएको देखिँदैन नि । त्यस्तो किन ?
छलफल भइरहेको छ । हामीले समिति बनाएर छलफल थालौँ कि भन्ने कुरा पनि गर्यौँ बनाउन पनि चाह्यौँ, तर...
- तपाईँले संसद्मा समिति बनाउने कुरा गर्नु भएको वा राजनीतिक दलहरूबिचको ?
पहिले राजनीतिक दलहरूका बिचमा के गर्ने भन्ने छलफल हुन जरुरी छ । राजनीतिक दलहरूको छलफल बिना संसदीय समितिबाट मात्रै गर्दा त्यहाँ कुरा जस्ताको त्यस्तै हुन्छ । बल्झिन्छ । यो दलीय व्यवस्था हो । यसमा निर्दलीय कुरा गर्नुको खास अर्थ छैन किनभने संसद्मा दलहरू नै छन् । एकाध स्वतन्त्र भनेका पनि दलबाट उछिट्टिएर भएका होलान् । होइन भने संसद्मा दलहरू नै छन् । त्यही भएर दलहरूकै बिचमा छलफल हुन्छ । राजनीतिलाई संवादको माध्यमबाट सहमतिको बिन्दुमा लगेर कमसेकम आधारभूत सहमति त गर्न सकिन्छ नि । त्यो आधारभूत सहमतिबाट दलीय प्रतिस्पर्धाबाट स्वस्थ ढंगले गर्न सकिन्छ ।
तर, सरकारले गरिरहेको प्रयासलाई प्रतिपक्षमा रहेकाहरूले सत्ता छोड्नु परेको, सत्तामा पुग्न नपाएको छटपटीले मिची रहेका छन् । देशको लोकतन्त्र र राजनीतिमा पलाएका विकृत अभ्यासहरूले गर्दा जो सुकैले, जस्तो सुकै सपना देख्ने भए । त्यसका लागि कुनै आधार नचाहिने भयो । डेमोक्रेसीमा प्रधानमन्त्री हुनका लागि विश्वासको मत प्राप्त गर्नुपर्छ भन्ने हेक्का पनि छैन । एउटा फुत्त कताबाट निस्किन्छ र ‘बैंकको ऋण तिर्नु पर्दैन है साथी हो ! बैंकको ऋण तिर्नु पर्दैन’ भनेपछि ऋण खाएर पचाउन खोज्ने अलिकति मान्छे आउँछन् अनि ताली बजाउँछन् । अनि ‘ल म प्रधानमन्त्री नभईकन यो देश बन्दैन है, साथी हो !’ भन्छ ।
अब सपना देख्नेलाई के भन्नु । भन्यो भने फेरि मलाई नै भन्लान् । तैँले नै सपना देखाएको होस् भनेर । तर, मैले त हावादारी सपना देखाउन खोजेको होइन नि । मैले त देश विकासको सपना देखाउन खोजेको हुँ । साँचो अर्थमा स्वाधीन, स्वतन्त्र, आफ्नो स्वाभिमानसहित ठाडो सिर लगाएर हिँड्ने राष्ट्र कसरी बन्छ भनेर त्यतातर्फ हिँड्ने बाटो देखाएको हुँ । हिँड्न, उभिन सपना देखाएको हुँ । देशमा सुशासन र विकास कसरी ल्याउन सकिन्छ भनेर सपना देखाएको हुँ । मैले अनियमितता, भ्रष्टाचार र अनुचित क्रियाकलाप नगरी जनताको प्रतिनिधिले शुद्ध आचरण, व्यवहार तथा अभ्यासबाट देश र जनताप्रति लोकतन्त्रप्रति समर्पित भएर कसरी काम गर्न सकिन्छ भन्ने बाटो देखाएको हुँ ।
त्यो सहन नसक्नेहरूले अरू कुरा गर्लान् । तर, संविधान संशोधन लहडबाजी, आलोचना, समर्थनको विषय भन्दा अलिक पृथक् विषय हो । संविधान संशोधन आवश्यक छ – गर्नुपर्छ, गरिन्छ र, अनुकूल परिस्थिति निर्माण गरेर गरिन्छ । जतिबेला राजनीतिलाई ध्रुवीकृत र तनावग्रस्त बनाउन खोजिएको छ, त्यतिबेलै संविधान संशोधन जस्तो महान् विषयलाई यो छुद्र राजनीतिको गालीगलौजभित्र हुल्दिएर के अर्थ ? त्यसकारण अहिले हामीले संविधान संशोधनको विषयलाई गालीगलौजको छुद्र राजनीतिमा नहुलेको हो ।
- म पुनः कांग्रेस–एमालेबिच भएको सात बुँदे सहमतिमा फर्कन चाहन्छु । त्यसको पाँचौँ बुँदामा ‘भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्नेगरी काम गरिनेछ’ भनिएको छ । तपाईंले पनि सुशासनको, राष्ट्र निर्माणको सपना देखाउन खोजेको हुँ भन्नु भयो । तपाईंले यो भन्दै गर्दा तपाईंकै नेतृत्वको मन्त्रिमण्डलमा हुने गृहमन्त्री भ्रष्टाचारमा संलग्न भएको भनी दैनन्दिन समाचार प्रकाशित भइरहेका छन् । ती समाचार देख्दा मैले सोच्नु पर्ने बेला भयो भन्ने लाग्दैन ? वा तपाईंलाई त्यो सहमतिकै बुँदाहरूले गिज्याए जस्तो लाग्दैन ?
तपाईंले सक्दो नकारात्मक कोणबाट प्रश्न बनाउन खोज्नु भयो । तर, अहिलेको हल्ला के होभन्दा अख्तियारले एकजना कर्मचारीलाई बोलाएर केही विषयमा सोध्यो । त्यति होइन ? गिरफ्तार पनि गरेको छैन । केही पनि गरेको छैन । बोलाएर के कसो भइरहेको छ भनेर सोध्यो । पठाइदियो । भ्रष्टाचार भएको रहेछ भने छानबिन होला नि त । किन बोलायो त भन्दा बोलाउनुको केही कारण होला ।
अनि एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्ने बित्तिकै गृहमन्त्रीले राजीनामा गर्नुपर्यो । किन बोलायो अख्तियारले ? के सोध्यो अख्तियारले भन्ने गृहमन्त्रीलाई जानकारी पनि छैन । हुने कुरा पनि भएन । अख्तियारले स्वतन्त्र ढंगले बोलाउन सक्छ । सोध्न सक्छ । सोध्यो । त्यसै त सोधेन होला । केही लाग्यो होला– सोध्यो । अब त्यसपछि तिलस्मी कथाहरूको सिलसिला सुरु हुन्छ । तपाईंहरुले पनि प्रकाशित गर्नुभयो होला । किनभने यो पपुलिस्ट विषय हो । ‘गृहमन्त्रीको राजीनामा !’ गजब कुरा । सुन्दै आमरुपमा पपुलिस्ट छ ।
अहिले त कस्तो छ भने राजीनामाको कुरा सुन्यो भने आनन्द लाग्छ मानिसलाई । त्यसो त तपाईंहरुको धर्म नै हो । तपाईंहरुलाई त समाचार चाहियो नि । केही पाइएन भने एउटा मान्छे सडकमा लडेर हात भाँचियो भने पनि तपाईंहरुलाई त्यो समाचार बन्छ । मलाई के पिर हुन्छ भने कोही सडकमा लडेर हात बाचियो भने बिचराले दुःख पायो, काम गर्ने मान्छेको हात भाँचियो भन्ने हुन्छ । तपाईंका लागि समाचार बन्यो । मेरा लागि पीडा बन्यो । फरक छ नि । त्यसकारण तपाईंले हेर्ने राजीनामा, मैले हेर्ने भ्रष्टाचार नियन्त्रण । तपाईंको प्रश्न र मेरो जवाफको अन्तर यत्ति हो ।
- पुनरुत्थानवादीहरूले संगठित रूपमा फेरि टाउको उठाउन खोजेका छन् । पुनरुत्थानवादीहरूले टाउको उठाउन खोज्नु र दलहरूले जनताको अपेक्षा पूरा गर्न नसक्नुमा बढी जिम्मेवार को छ ?
अपेक्षा भनेको के ? तपाईं केलाई जनताको अपेक्षा भन्नुहुन्छ ? कुन जनताको, के अपेक्षा ? विकासको अपेक्षा ? हाइवेहरू बनेका छन् । कनेक्टिभिटी पुगेको छ । बाटाहरू बनेका छन् । झण्डै–झण्डै नेपाल एउटा दुर्गम देश अहिले दुर्गम भन्न मिल्ने अवस्थामै छैन । जुम्लाको स्याउ काठमाडौँमा लगेर बेच्न पाए हुन्थ्यो भन्ने गायकहरूको गीत हुन्थ्यो । व्यङ्ग्यकारहरूको व्यङ्योक्ति हुन्थ्यो । पत्रकारहरूको समाचार हुन्थ्यो । साहित्यकारहरूको साहित्य आग्रह हुन्थ्यो । अहिले त आएको छ त । देशको जुनसुकै स्थानको उत्पादनले बजार पाएन भन्ने अवस्थै छैन ।
अब, तराईको जस्तो फोरलेनको बाटो छैन होला । अनि कालिकोटको भीरमा तराईको फोरलेनको बाटो खोजेर हुन्छ त ? विकासमा हामी भर्खर अगाडी बढ्दै छौँ । बाटो पुगेको छ । पक्की बाटो पुगेको छ । देशका सबै सदरमुकामहरूमा, हुम्लाको सदरमुकाम सिमकोटसम्म पनि गाडी पुगेकै छ । एउटा खोलामा बेली ब्रिज बाँकी थियो । त्यो पनि तयार गरेर गाडी पुगिसक्यो । अब दुर्गम रहेन ।
दुर्गम मानिएको हिमाल त सुगम भइसक्यो । अहिले डोरी टाँगिएको छ, बाटो तोकिएको छ । डोरी समाउँदै शेर्पाले तान्दै सजिलै लैजान्छ । बेस क्याम्पसम्म पुगेको मान्छे पनि यसो मास्तिरसम्म जाऊँ कि क्या हो भन्ने भइसक्यो । त्यो डोरीको करामत त हो । बेस क्याम्प हेर्न जाँदा मलाई पनि मनलाग्यो भने अलि मास्तिर जान बेर लाउँदिनँ ।
अर्थात् आजको नेपाली समाजको निराशामा परिवर्तनकारी राजनीतिक शक्तिहरू जिम्मेवार छैनन् भन्न खोज्नु भएको ?
म के भन्छु भने, यो देश केही युट्युबले भने जस्तै विकास नभएकै हो ? देशमा व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन नभएकै हो त ? साँच्चै अवस्थामा परिवर्तन छैन ? बाटाघाटा साँच्चै नबनेकै हो ? टेलिफोन नपुगेकै हो ? बिजुली गाउँ–गाउँमा नपुगेकै हो ? खानेपानीका आयोजना नभएकै हुन् ? तपाईंको घर कुन जिल्ला ?
नवलपरासी ।
ए... त्यहाँ के–के परिवर्तन भएको छ भन्ने थाहा पाउनु भएकै होला । बाटो हेर्नु भएकै होला । अहिले बनाउँदै गरेको बाटोमा दाउन्नेको ७ किलोमिटरमा बढी धुलो भयो भन्ने पिर होइन ? त्यो पनि अलिकति समय पर्खिनुस् । त्यो धुलो पनि उठ्दैन, पानी परेर होइन । बाटो पक्की भएर । अलिकति पछि धुलो उठ्दैन ।
तपाईंले नवलपुरमा देख्नुभएकै छ । कृषिमा के फरक परेको छ । सुपर जोनहरू कसरी बनेका छन् र सब्जी खेती कसरी भएको छ । त्यसको आधुनिकीकरण कसरी भएको छ भन्ने देख्नु भएकै होला । रुपन्देही देख्नुभएको होला । बुटवल–भैरहवा सडकखण्ड देख्नु भएकै होला । फुसका घर भएका ठाउँमा बिल्डिङ बनेको देख्नु भएको होला । नवलपरासी कुन ठाउँ हो तपाईंको घर ?
सुनवल ।
सुनवलमा एउटा चिनी मिल थियो । ओल्तिर–पल्तिर दुई–चारवटा घर मात्रै थिए । आजको सुनवल हेर्नुस्, तपाईंले हेर्दाहेर्दै तपाईंकै जीवनमा के परिवर्तन भयो । बहुदल आएपछि के परिवर्तन भयो ? कहिले परिवर्तन कहाँसम्म पुग्यो ? त्यो तपाईंहरुले देख्नु भएकै छ । अर्थात् विकास भएको छैन भन्ने होइन । अनि वार्षिक रूपमा खाद्यान्न वृद्धि भएपनि बाहिरबाट आयात गर्नुपरेको छ । किन भन्दा हिजो पहाडका मानिसले कहिलेकाहीँ टिका लाउँदा मात्र अक्षता देख्थे । धानको भात खानलाई दसैँ आउनुपर्थ्यो । तिहार आउनुपर्थ्यो । होइन भने हुनेखाने कहाँ ज्वाइँ आउनु भयो भनेर ससुरालीमा धानको भात खान पाइन्थ्यो । नत्र भने भात खानै पाउँदैन थिए । त्यसैगरी तराईका मान्छेले धान बेच्थे ।
पहाडका मान्छेले पेटभरि धानको भात खान पाएका थिए ? भुटेको मकै खाएर सुत्थे । तर, आजका दिन त त्यस्तो छैन । आजको दिन हिजो जस्तो हुँदै होइन । तपाईंहरु त पत्रकार गाउँतिर गएर सोध्नुस् त । कालिकोट जस्तो जिल्ला हेर्न जानुस्, त्यहाँ आजका दिन विद्यालय कति छन् ? अस्पताल कति छन् ? ‘म्याटर्निटी’ का सुविधा भएका अस्पताल कति छन् आज ? आयुर्वेदिक अस्पताल हेर्नुस् । बाटाघाटा हेर्नुस् । कालिकोट जस्तो जिल्लामा कुन पालिका, कुन वडामा पुगेको छैन मोटरबाटो ?
‘केही पनि भा’छैन’, ‘केही भएन’, ‘खै केही भएन’ ‘केही भएको छैन’ भन्ने त एउटा आदत भयो । बहुदल आउन भन्दा अगाडि तपाईंले चलाउने जस्ता क्यामेरा कतिवटा थिए नेपालमा ? तपाईंहरुले जस्तो गाउँका मान्छेले क्यामेरा बोकेर हिँड्न पाउँथे ? सक्थे ? अस्ति ०४२ सालमा पहिलो पटक टेलिभिजन सुरु भएको होइन नेपालमा । त्यसलाई आज कहाँ पुर्याइयो ? पहिले एउटा विश्वविद्यालय थियो । आज कतिवटा विश्वविद्यालय छन् ? पहिले वीर र टिचिङ अस्पताल मात्रै थिए, आज के छ अस्पतालहरूको अवस्था । हिजो साक्षरताको प्रतिशत के थियो ? प्रतिव्यक्ति आम्दानी कति थियो ? जीवनस्तर कति थियो ? त्यो हेरौँ न ।
नेपालीको प्रतिव्यक्ति आय तीन सय डलर होइन । त्यसबाट अहिले १५ सय डलर पुगिसक्यो । आज खाली खुट्टा हिँडेको मान्छे देख्नुहुन्छ तपाईं ? तपाईंले देख्दा–देख्दै खाली खुट्टा कति मान्छे हिँड्थे भन्नुस् त ? आज खाली खुट्टा हिँड्दैन मान्छे । नभएर, गरिब भएर त होइन होला । गरिबी स्वाट्टै घट्या छ । ४२ प्रतिशतभन्दा बढी निरपेक्ष गरिबी थियो, अहिले चरम गरिबी कति छ भन्नका लागि तथ्यांक विभाग छ, गएर हेर्नुस् त । चरम गरिबी कसरी घट्या छ ।
बाघले मान्छे खायो भने त्यसलाई आदमखोर भनिन्छ, लोकतन्त्र खाने नेपालको राजतन्त्रलाई लोकतन्त्रखोर भन्नुपर्छ, लोकतन्त्रभक्षी ।
नेपालीको औसत आयु ४२ वर्ष थियो, आज ७२ पुगेको छ । यतिकै त भएन होला । त्यसैगरी बालमृत्यु दर स्वाट्टै घटेको छ । यो त बनावटी होइन होला । त्यसकारण केही भएन होइन, बहुत भयो तर पुग्या छैन । हामीले गर्दै जानुपर्छ । अझ बढी विकास गर्नुपर्छ । अझ बढी सुशासन दिनुपर्छ । हिजो सुशासन न कुशासन, भ्रष्टाचारबारे बोल्नै पाइँदैनथ्यो । आवाजै उठाउन पाइँदैन थियो । अहिले त एउटा कर्मचारीलाई अख्तियारले सोध्यो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्न पाइएको छ । कुनै लिमिटेसन, कुनै सीमा छ र ?
आफ्नो व्यवसाय बढाउनका लागि, सनसनीखेज समाचार बनाउनका लागि भन्ने गरिएको छ । अनि संसद् अवरुद्ध किन हुन्छ ? गृहमन्त्रीको राजीनामा किन मागिन्छ ? किन मागेको राजीनामा ? आधार के छ ? ‘तपाईं मुछिनु भएपछि तपाईंले पदबाट राजीनामा गर्नुपर्छ गृहमन्त्रीजी’ भनेको गृहमन्त्रीले पहिले बोलेको क्लिप सुनाइँदै छ अहिले । त्यतिबेला जसका बारेमा कुरा गरिएको थियो, उहाँ त मुछिनु भएको थियो । अहिलेका गृहमन्त्री कहाँ मुछिएका छन् ? बलजस्ती मुछ्न खोजिएका बारे म के भन्छु भने कसैले पनि बेठिक गरेको पाइएमा ‘नो इस्क्युज’ । कसैलाई छोडिने छैन ।
मैले भनेको छु– अनुहार हेरेर काम गरिँदैन । अनुहार हेरेर केही हुँदैन । व्यक्तिको काम हेरिन्छ, कानुन हेरिन्छ । फरक पार्टीको गृहमन्त्रीलाई नरुचाउने दलीय व्यवस्थाको विकृत रूप हो । विकृत तरिका हो यो । विरोधी भनेपछि विरोध गर्नैपर्ने । बेला न कुबेला विरोध गर्नुपर्ने । ठाउँ न कुठाउँ विरोध गर्नुपर्ने । मौका मिलेर, मौका पाएर विरोध गर्दा त हुन्थ्यो नि । मौकै नपाईकन के–के न भेटाए जस्तो गरेर विरोध गरेको छ । अख्तियारले कर्मचारी बोलाएर सोध्यो । भएको त्यति हो । त्यसमा गल्ती छ भने कारबाही हुन्छ ।
- जेठ १५ गते दक्षिणपन्थी शक्तिहरूले फेरि टाउको उठाउन खोजेका छन् । गणतन्त्र दिवसका दिन दक्षिणपन्थी तथा परिवर्तनकारी शक्तिहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
राजा–रजौटाहरू पहिले पनि नभएका होइनन् । अढाई सय वर्ष पुरानो राजतन्त्र फेरि फर्काउने हो भने ती सबै रजौटाहरूले मेरो पनि राज्य चाहियो भनेर बाइसे–चौबिसे राज्य फिर्ता किन नगर्ने भन्ने कुरा पनि आउँला । ती रजौटाहरूका सन्तान, नाति/पनाति पनि होलान् । तिनीहरूले पनि हाम्रो राज्य पाउनुपर्यो भन्लान् । त्यसैले राजतन्त्र फर्काउने भनेको काम लाग्ने कुरा होइन । यो देश कसैको निजी सम्पत्तिको अंश हुन सक्दैन । यसमा कसैको पुस्तैनी हकको लाग्दैन । २१औँ शताब्दीको आजको युगमा लोकतन्त्रबाहेक अलोकतान्त्रिक प्रणाली, जनतालाई रैती बनाएर राख्ने कुरा स्वीकार्य हुन सक्दैन । अन्यत्र के गर्छन् थाहा छैन, नेपालमा हुन सक्दैन । हुँदै हुँदैन । लोकतन्त्र हुन्छ यहाँ ।
अनि लोकतन्त्रमा जनताले बेठिक भनेर फालिसकेको अधिनायकवादी, तानाशाही, पारिवारिक जहानियाँ शासन, जो जनताले बनाएको संविधानबाट चलेको पनि थिएन, चल्ने पनि होइन । बाघले मान्छे खायो भने त्यसलाई आदमखोर भनिन्छ, लोकतन्त्र खाने नेपालको राजतन्त्रलाई लोकतन्त्रखोर भन्नुपर्छ, लोकतन्त्रभक्षी । यो पटक–पटक देखिएकै, भोगिएकै कुरा हो । अस्ति मात्रै ०५८ सालको दरबार हत्याकाण्डपछि जनताले फेरी आन्दोलन गरेर फाल्नु परेको होइन ? उसले संविधान मिचेर जनताका सबै अधिकार कब्जा गरेको होइन ? यत्ति भन्नका लागि पनि अप्ठ्यारो मान्नुपर्ने छ र ?
जति उत्तेजक बोल्यो भने पनि, कसैले सचेत गरायो भने पनि मैले भन्नुपर्छ– म सचेत छु । सचेत ढंगले भनिरहेको छु – लोकतान्त्रिक प्रणाली मास्न दिइँदैन । संविधान मास्न दिइने छैन ।
हिजो जनताले भोगेको सत्य होइन ? हामीले बुझेको सत्य होइन ? हो, आजको २० वर्षको मान्छेलाई यो सबै कुरा थाहा छैन होला । किनभने यो २० वर्ष अगाडिको घटना हो । २५ वर्षको युवालाई थाहा छैन होला किनभने ऊ पाँच वर्षको हुँदाको घटना हो । जेन–जी पुस्ताले थाहा नपाउनु एउटा कुरा हो । तर यो त नेपालले देखेको, भोगेको कुरा हो नि । अनि त्यो व्यवस्था चाहियो भन्नेहरू त्यहाँ फाइदा लिइरहेकाहरू हुन् । ती मान्छेहरूको चेहरा तपाईँले देख्नु भएकै छ । त्यस्ता मान्छेहरू किन लाग्या छन् भन्दा हिजो परिक्रमा गरेका भरमा, प्रणाम, नमस्कार, स्वस्ति गरेका भरमा मन्त्री खान्थे । आज जनताका बिचमा जानुपर्यो । जनताको विश्वास जित्नुपर्यो । हिजो जस्तै टिको लगाउन नपाइने भयो । अनि जनताबाट चुनिनु पर्ने यस्तो व्यवस्था पनि मनपर्छ त उनीहरूलाई । मन परेको छैन नि ।
अर्काथरी मान्छे पनि छन्– बहुमत कहिले आउँछ कहिले ? बहुमत ल्याउन गारो छ । पार्टी बनाउन, चलाउन गाह्रो छ । उनीहरूलाई पार्टी दर्ता गरेको भरमा नेता भइहाल्नुपर्छ भन्ने छ । परिक्रमावाद, स्वस्तिवादको छोटो बाटोबाट धेरै दुःख नगरीकन अघि बढ्न चाहन्छन् उनीहरू । दुई–चार हजार मान्छेलाई ढुंगा हान्न लगाएको भरमा, आगो लगायो ढ्याङ–ढुङ गर्यो नेता भइहाल्यो ।
उहाँहरूका भनाइ त्यति उत्तेजक हुँदैनन् । के हुन्छन् भने– सब भाग्ने तयारी गर । प्रधानमन्त्रीलाई हेलिकप्टरसम्ममा भाग्ने सुविधा उपलब्ध गराउँला । भाग्ने ? किन ? उहाँहरूले हामीलाई फूल दिनुहुन्छ भनेर भाग्ने ? माला लाइदिनुहुन्छ भनेर भाग्ने ? सम्मान स्वागत गर्नुहुन्छ भनेर भाग्ने ? भाग्ने तयारी गर भनेको के हो ? शान्तिपूर्ण ढंगले आग्रह गरेर भगाउँछु भनेको हो ? के भनेको ? अर्थात् तोडफोड, कुटपिट, काट–मार, लुटमार, आगजनी यही गर्छौँ भनेको होइन ? जे होस् म त्यसलाई त्यति उत्तेजक भाषण मान्दिनँ । तर, स्पष्ट कुरा के हो भने जनताले ल्याएको लोकतान्त्रिक प्रणाली र संविधान असंवैधानिक, हिंसात्मक बाटोबाट मास्न पाइँदैन, दिइँदैन । जति उत्तेजक भने पनि यो स्पष्ट कुरा हो ।
उनीहरूले चाखेको शासनको स्वाद बेग्लै छ । अधिनायकवादी, तानाशाही हुकुमको शासन । मुकुटको शासन वाह !
जति उत्तेजक बोल्यो भने पनि, कसैले सचेत गरायो भने पनि मैले भन्नुपर्छ– म सचेत छु । सचेत ढंगले भनिरहेको छु – लोकतान्त्रिक प्रणाली मास्न दिइँदैन । संविधान मास्न दिइने छैन । जनताले लडेर, बलिदान दिएर ल्याएको गणतन्त्र मास्न दिइँदैन । गणतन्त्रको रक्षा गरिनेछ । अब यसो भनेपछि राजतन्त्र ल्याउन दिँदैनौ भनेर भनिरहनुपर्छ र ! त्यो स्वतः बुझिने कुरा हो । कुरा यही हो । यो प्रणाली मास्ने उनीहरूको प्रबल इच्छा हो । उनीहरू कुनै ख्यालख्याल गरिरहेका छैनन् । सजिलो बाटो, सजिलो तरिका, सजिलै देश लुट्न पाउने व्यवस्था उनीहरू ल्याउनै चाहन्छन् ।
रसबरीका कुरा गरौँ त, तपाईँले रसबरीको स्वाद सम्झनु हुन्छ । किन ? तपाईँले खानु भएको छ । त्यसको स्वाद थाहा छ तपाईंलाई । उनीहरूलाई पनि शासन भन्ने बित्तिकै त्यसको स्वाद थाहा छ । जनताको शासन कस्तो हुन्छ हामीलाई थाहा छ । जनताको शासन कति सावधानी साथ, कति होसियार भएर चलाउनुपर्छ भन्ने हामीलाई थाहा छ । इमानदार भएर मात्र पुग्दैन, कसैले बेइमान देख्ने हुन् कि, भ्रम पर्ने हो कि भन्ने डर हुन्छ । जनतामा भ्रम नपरोस् भनेर सचेत पनि हुनुपर्छ । तर, उनीहरूले चाखेको शासनको स्वाद बेग्लै छ । अधिनायकवादी, तानाशाही हुकुमको शासन । मुकुटको शासन वाह !
मैले सानोमा एउटा कविता पढेको थिएँ । एउटा आमाले काखमा सानो बच्चा निदाइराखेको देखेर आफू माइतमा टुक्रा–टाला खेलेका दिनहरू सम्झेर भन्छिन्– गए नि त्यस्ता दिन हाई–हाई, तैँले भुलाइस् कसरी मलाई । यहाँ मैले एउटा मात्रै अंश लिन खोजेको । गए नि त्यस्ता दिन हाई–हाई । जो मानिस अधिनायकवादका दिनहरूको झल्कोमा रमाएका छन् उनीहरूलाई म भन्न चाहन्छु– गए नि त्यस्ता दिन हाई–हाई । यो कुनै चर्को कुरा होइन । उत्तेजक कुरा होइन । यो नेपालको राजनीतिको यथार्थ हो । र, म प्रधानमन्त्रीको हैसियतले मेरो कर्तव्यको कुरा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा करिब ११ हजार क्यान्सर रोगीलाई उपचारको अभाव
-
मध्यविन्दु अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गर्ने निर्णय
-
थाइल्यान्डकी ओपलले पहिरिइन् मिस वर्ल्ड- २०२५ को ताज
-
डाइभर्सन बनाएर ‘एसियन हाइवे’ सञ्चालनमा
-
रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश
-
सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा