‘सिनेमाका नायकनायिका, गायकगायिकाजस्तै देश–विदेश भ्रमण गर्दै कविहरू’

समाचार सारांश
- साहित्यकार राधिका कल्पितका दुई कृति प्रकाशित छन्, जसमा 'बरफका कोइलाहरू' कविता संग्रह र 'सम्मोहन' कथा संग्रह रहेका छन्।
- कल्पित जागिर र घरपरिवारको व्यस्तताका कारण लेखनलाई समय दिन नसकेको बताउँछिन्, तर बचेको समयमा पढ्ने र लेख्ने गर्छिन्।
- उनले पछिल्लो समयको साहित्यिक बजारमा नयाँ विषयवस्तु, शिल्प र प्रयोग भित्रिएको र स्थानीय सरकारको सहयोगले साहित्य गाउँगाउँमा पुगेको बताइन्।
साहित्यकार राधिका कल्पितका दुई कृति प्रकाशित छन्— ‘बरफका कोइलाहरू’ (कविता संंग्रह, २०७७), ‘सम्मोहन’ (कथा संग्रह, २०८१) । विक्रमको ४० को दशकबाट कविता लेख्न थालेकी कल्पितको पहिलो कथा (सुसाइड नोट शीर्षकको) २०७६ मा नवनारी पत्रिकामा प्रकाशित भएको थियो ।
उनै कल्पितलाई हामीले नौ प्रश्न राखेका छौँ ।
१) हिजोआज तपाईं केमा व्यस्त हुनुहुन्छ ? अन्तिमपटक पढेको कृतिको कुरा गर्नु न ।
व्यस्तताको कारण उही हो, जागिर र गृहस्थ । जागिर खाएपछि जागिरले सिर्जनात्मक समय खाइदिँदोरहेछ । बचेको अलिकति समय फेरि घर–परिवारलाई दिनुपर्छ । यी दुई कुरा सम्हाल्न खोज्दाखोज्दै दैनिकी अस्तव्यस्तजस्तो बनिदिँदो रहेछ । यही चक्रजस्तो गतिवान् दौडधुपबाट बचेको समय पढ्ने र लेख्ने काममा फारो गर्छु ।
सार्वजनिक बिदाको मेसो मिलाएर कहिलेकाहीँ यसो साहित्यिक कार्यक्रममा पनि जानुपर्छ । विशेष गरी केही नयाँ कुरा सिकिन्छ भन्ने लागेका यस्ता कार्यक्रममा भरसक जाने समय मिलाउने प्रयत्न पनि उत्तिकै रहन्छ ।
अँ, अन्तिमचोटि पढेको किताबको कुरा गर्छु । सामान्यतः म एकैपटक दुई वा तीनवटा कृति पढ्छु । जस्तो ः अन्तिमपटक कवि रमेश क्षितिजको कथा कृति ‘एउटा मायी नगरमा’, राजबाबु सागरको ‘फिर्दोसको साँचो’ र कवि प्रचण्ड भाष्करको कविता सङग्रह ‘कच्ची रोडसँगैका पक्की चोटहरू’ एकैपटक पढेँ । एकै समयमा बजारमा आएका कृति सकेसम्म एक साथ यसै गरी पढ्ने बानी छ मेरो । यसले फरक–फरक लेखकले एउटै समयलाई कसरी चित्रण गर्दा रहेछन् भनेर बुझ्न सजिलो हुन्छ । यी तीनवटै कुतिमा केही नौलोपन र केही पृथक् स्वाद पनि पाइयो । केही पात्र र परिवेश एकदम नौला आएका छन् । केही पक्ष आशा गरे अनुरूप पाइएन, यस्तै अनुभूति रह्यो ।
२) पछिल्लो समयको साहित्यिक बजार र बहसप्रति यहाँको धारणा के छ ?
कृति प्रकाशनका हिसाबले सत्तरीको उत्तरार्द्ध निकै उर्वर देखिएको छ । सबै विधामा नयाँ–नयाँ विषयवस्तु, नयाँ शिल्प र प्रयोग पनि भित्रिएका छन् । आदिवासी, जनजाति, अल्पसंख्यक र मूलधारभन्दा बाहिरका समुदाय र वर्गका स्वरहरू सम्बन्धित समुदायकै कलम र स्वरबाट आएका छन्; यसले लेखनलाई वैधानिकता पनि दिन्छ । यस्ता कुराले नेपाली साहित्यलाई अझ फराकिलो र बृहत् बनाउँदै गएको छ ।
अर्को सकारात्मक पक्ष भनेको स्थानीय सरकारले कला, संस्कृति र साहित्यलाई पनि बजेट छुट्ट्याउने गरेको छ । स्थानीय स्तरमा साहित्यक गतिविधि बढेका छन् । यसले गर्दा नेपाली साहित्य गाउँ–गाउँमा पुगेको छ । प्रदेश–प्रदेशमा साहित्य प्रतिष्ठानहरू खुलेकाले पनि साहित्यिक चहलपहल बढी देखिन थालेको छ । यस्ता कार्यक्रममा बाध्य भएरै भए पनि स्थानीय सरकारका प्रतिनिधि कार्यक्रममा श्रोता भएर बस्न थालेका छन् । कवि, लेखक र सर्जकका कुरा सुन्न थालेका छन् । केही किताब किनेका छन् । ढिलै भए पनि स्थानीय लेखकको पहिचान, प्रवर्द्धन र प्रोत्साहन गर्ने संस्कृतिको विकास हुँदै छ ।
सधैँ देखिने चर्चित अनुहारबाहेक अल्पसंख्यक र सीमान्तकृत समुदायका प्रतिनिधि र लेखकलाई मञ्चमा ल्याएर उनीहरू बाँचेको जीवन र भोगाइ उनीहरूकै आवाजमा सुन्ने र प्रकाशमा ल्याउने काम भइरहेका छन् ।
सरकारी र जनस्तरबाट आयोजना गरिएका यस्ता साहित्यिक गोष्ठी, महोत्सवहरूमा विद्यालयका बालबालिका, युवापुस्ता र गृहिणीको पनि उपस्थिति बाक्लिन थालेको छ । यो असाध्यै सुन्दर पक्ष हो । बेला बेला आयोजना गरिने यस्ता साहित्यिक सम्मेलन र महोत्सवमा पर्या–पर्यटन, रैथाने संस्कृतिजस्ता विषयहरू बहसमा राखिन थालिएको छ । सधैँ देखिने चर्चित अनुहारबाहेक अल्पसंख्यक र सीमान्तकृत समुदायका प्रतिनिधि र लेखकलाई मञ्चमा ल्याएर उनीहरू बाँचेको जीवन र भोगाइ उनीहरूकै आवाजमा सुन्ने र प्रकाशमा ल्याउने काम भइरहेका छन् । यी निकै सकारात्मक कुरा हुन् । यो समग्र साहित्यिक चहलपहल हेर्दा पठन संस्कृति तीव्र गतिमा मौलाउँदै जानुपर्ने हो तर आशा गरिए अनुरूप हुन सकेको छैन । अब शिक्षा र साहित्यलाई एकीकृत गरी विद्यालय विद्यालयमा पुग्न जरुरी छ ।
३) कविता र कथा गरी यहाँका दुई कृति प्रकाशित छन् । वास्तवमा तपाईंले किन लेख्नुहुन्छ ?
लेखनको प्रारम्भिक चरणमा सोखले लेखिन्थ्यो । मनका कोरा भावनालाई अनियन्त्रित र अव्यवस्थित ढंगले कथा, कविता या अन्य रचनामार्फत पोख्ने गर्थें तर पछिल्लो समय त्यो सानो वृत्तबाट बाहिर निस्किन खोज्दै छु । लहड, सोख या रहरले मात्र होइन अब जिम्मेवारीका साथ कलम चलाउनुपर्छ भन्ने बोध भएको छ । आत्मकेन्द्रित भन्दा बढी समाजकेन्द्रित भएर लेख्न थालेकी छु । यद्यपि कलम चलाइरहन चाहिने ऊर्जा र इन्धन भने लेख्दा आउने आत्मिक सन्तुष्टि नै हुन् ।
४) तपाईंले कविता र कथा बराबरीजस्तो लेख्नुभएको छ । पहिले कविताकै चर्चा गरौँ । कविताप्रति यहाँ किन र कसरी आकर्षित हुनुभयो ?
कवितामार्फत मैले लेखन यात्रा सुरु गरेकी हुँ । बजारमा कृतिको संख्याका आधारमा कविता र कथा बराबरी देखिए पनि संख्यात्मक हिसाबले मेरा कविता धेरै छन् । लामो समयसम्म लेखेका कविता प्रकाशन गर्ने वातावरण नमिलेर थुप्रिएर बसेका हुन्, अहिले पनि अप्रकाशित थुप्रै रचना छन् ।
मेरो कविता लेखनयात्रा कविताको सिद्धान्त बुझ्ने उमेर नहुँदै भएको हो । त्यसबखत किशोरावस्थाका आफ्ना कुतूहल, कल्पना र अनुभूति पोख्ने सबैभन्दा सजिलो विधा कविता लागेको हुनुपर्छ सायद । साहित्यप्रतिको आकर्षण पनि अज्ञात थियो । जानी नजानी कविता लेख्न थालेको ठ्याक्कै चार दशक नै भएछ ।
पछिल्लो समय मलाई सामाजिक मुद्दा, बेथिति र आफू बाँचिरहेको समयले अत्यधिक बिथोल्न थाले । मन उथलपुथल पार्ने त्यस्ता घटना र पात्रलाई कवितामा उतार्ने प्रयास पनि गरेँ तर कुनै कुनै परिवेश र पात्रको जीवन, भोगाइ र परिस्थिति यस्तो हुन्छ कि त्यसलाई व्याख्या नगरी त्यस पात्रप्रति न्याय हुँदैन । त्यसलाई पूर्ण रूपमा चित्रण गर्न सकिँदैन । यसरी कविताले समेट्न नसकेका विषयवस्तुको प्रस्तुतीकरणका लागि कथाको सहारा लिनुपर्यो ।
५) यहाँको बुझाइमा कथा र कविता के हो ? समकालीन नेपाली कथा र कविताको अवस्था कस्तो देख्नुभएको छ ?
विषयवस्तुका हिसाबले कवितामा आए पनि कथामा आए पनि उही हामी बाँचिरहेको जीवनको परिदृश्य र दर्शन आउने हो । जीवन र समाजभन्दा बाहिर के विषय रहन्छ र ! प्रस्तुतिका हिसाबले कविता भनेको कुनै पनि विषयवस्तुमा केन्द्रित रहेर गरिएको सूक्ष्म, सटीक र संवेगात्मक प्रस्तुति हो । यसमा कुनै पनि कुरा प्रत्यक्ष प्रकट नगरेर विम्बात्मक र प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको हुन्छ ताकि थोरै शब्दमा धेरै कुरा भन्न सकियोस् । कवितामा लय, ध्वनि र संरचनालाई सावधानीका साथ प्रस्तुत गरिएको हुन्छ तर कथामा संवाद, पात्र र परिवेश चित्रण अनि कथानकले पाठकलाई अन्तिमसम्म तानिरहन सक्ने चुम्बकीय प्रस्तुतीकरणमा ध्यान दिइन्छ । कुनै कुनै कथा पढ्दापढ्दै पाठक स्वयं कथाको पात्रमा रूपान्तरण भएको महसुस गर्छ भने त्यो कथाको शक्ति हो । हामीले ध्यान दिनुपर्ने कुरा पनि त्यही हो ।
लहड, सोख या रहरले मात्र होइन अब जिम्मेवारीका साथ कलम चलाउनुपर्छ भन्ने बोध भएको छ । आत्मकेन्द्रित भन्दा बढी समाजकेन्द्रित भएर लेख्न थालेकी छु ।
समकालीन कथा र कविताको वर्तमान अवस्था निकै उत्साहप्रद लाग्छ । नयाँ नयाँ विषयवस्तु भित्रिएका छन् । सिर्जनामा विज्ञान, प्रविधि, यन्त्रमानव, अन्तरिक्ष, पर्यावरण, तेस्रो लिङ्गी, आदिवासी स्वर, स्वाद र रङहरू भित्रिएका छन् । उमेरका हिसाबले भर्खरका युवा लेखक राम्रा कृतिसहित साहित्यिक बजारमा बलियो उपस्थिति जनाएका छन् । पर्फर्मेन्स आर्टका कारणले कविताका पाठकभन्दा बाहिरका श्रोतासम्म कविको पहुँच पुगेको छ । कविता पनि मञ्चन हुन थालेका छन् । कविता कसले पढ्छ र ? कविताका किताब कहाँ बिक्छन् र भन्ने समयबाट अब कविहरू पनि सिनेमाका नायकनायिका र गायकगायिकाजस्तै देश–विदेश भ्रमण गरी श्रोतालाई मनोरञ्जन दिन थालेका छन् । ‘पोयट आइडल’जस्ता कार्यक्रमले कविता घरघरमा पुगेको छ । परिवारसँगै बसेर सुन्न र हेर्न थालेका छन् । प्रविधिका कारण कविता र कथा पढ्नेभन्दा बढी सुन्नेहरू बढेका छन् । सुन्ने कथाजस्तो च्यानलहरूले सामाजिक परिवर्तनमा ठुलो भूमिका खेल्न थालेको छ । यसरी हेर्दा कविता र कथाको स्वरूप र सम्प्रेषणका तौरतरिका बदलिएका छन् । जुन माध्यमबाट विस्तारित भए पनि समष्टिमा भन्दा साहित्यको वृत्त फराकिलो बन्दै गएको छ, यसलाई पनि सकारात्मक मान्नुपर्छ ।
६) आर्थिक हिसाबले लेखेर कति कमाउनुभयो वा गुमाउनुभयो ?
आर्थिक हिसाबले हेर्ने हो भने साहित्यबाट खासै केही कमाउन सकिएको छैन । केही पुरस्कार र सम्मानबाट प्राप्त रकम हो, त्यो गौरव गर्न त पर्याप्त छ तर जीविकोपार्जन गर्न पर्याप्त छैन । कृतिबाट प्राप्त हुनुपर्ने लेखकस्वको पारदर्शिता छैन नेपालमा । त्यसको आस गर्न सक्ने वातावरण बनिसकेको छैन । साहित्यबाट कमाउने भनेको कृति, आफूले सिर्जना पात्रहरूको अमरत्व र पाठकको प्रेम हो । त्यही नै सबैभन्दा ठुलो लेखकस्व हो जस्तो लाग्छ ।
लेखक बन्ने सपना र प्रतिबद्धताले आर्थिक नोक्सानी बरु धेरै गरेको छ । लेख्नका लागि वातावरण मिलाउनकै खातिर आकर्षक तलब आउने जागिर र पद छाडेकै हो । राम्रो मुनाफा दिइरहेको व्यवसाय मात्रै छाडिनँ कि त्यसमा लगाएको ठुलो आर्थिक लगानी नै डुबाएकी छु । ठुलो मूल्य चुकाएर अब लेखक बनेरै छाड्ने हो बरु जे जे कुरा गुम्ला–गुम्ला भनेर लागेको भएर आर्थिक हिसाबले हेर्यो भने त जोगीकै पारा भइसकेको छ । यद्यपि साहित्यले दिएको अभौतिक प्राप्ति आर्थिक लाभभन्दा कैयौँ गुणा बढी छ, त्यस कारण गुमेकामा कुनै गुनासो छैन । म लेख्नै जन्मेको हो धन कमाउन होइन भन्ने कुरा आत्मसात गरेकी छु । यसमै सन्तुष्ट छु । विलासी जीवनभन्दा सादा जीवनशैलीमा रमाउन मन लाग्छ । भावी पुस्तासम्म रहने कुनै गतिलो चिज लेख्न सकिएछ भने त्यही नै सबैभन्दा ठुलो कमाइ हुनेछ मेरा लागि । त्योभन्दा पर कुनै चाह र जीवनप्रति कुनै गुनासो पनि छैन ।
७) यहाँको पछिल्लो कथासंग्रह ‘सम्मोहन’को कुरा गरौँ, पाठकलाई पढ्न सिफारिस गर्नका लागि यहाँको पछिल्लो कृतिमा के छ त्यस्तो ?
धन्यवाद रमाजी यो प्रश्नका लागि । मेरो नवोदित कथा सङ्ग्रह ‘सम्मोहन’मा केही चिज अवश्य छन् । अहिलेसम्म पाठकबाट आएको प्रतिक्रिया निराशाजनक छैन, बरु सोचेभन्दा राम्रो प्रतिक्रिया पाएकी छु । कृति किनेर पढ्नेहरू अहिलेसम्म एकजनाले पनि निराश बन्नुपरेको कुरा भन्नुभएको छैन । कथा लेखनमा मेरो मुख्य ध्येय नारी–पुरुष सम्बन्धका एकदम सूक्ष्म र संवेदनात्मक अनुभूति र मनोदशालाई मसिनो गरी चित्रण गर्न सकियोस् भन्ने थियो । विशेषतः महिलाका नितान्त व्यक्तिगत कुराहरू प्रेम, विवाह र यौनजन्य अनुभूतिलाई न्यायपूर्ण हिसाबले प्रस्तुत गर्न सकियोस् भन्ने थियो, त्यसमा प्रशस्त प्रशंसा पाएकी छु । मेरो यो पहिलो कथासङ्ग्रहबाट आएका सल्लाह र सुझावलाई मनन् गरी भावी लेखन यात्रालाई अघि बढाउनेछु ।
८) पछिल्लोपटक तपाईंलाई झकझकाएको कुनै एउटा कथा वा कविता सम्झिनुपर्यो भने !
पछिल्लोपटक मलाई एकदमै मन परेको कविता हो– कवि यकिना अगाधको कविता ‘आइमाईको लोग्नेमान्छेको जस्तो बल हुन्न’ । कविको मातृभाषा (तामाङ) मा लेखिएको उक्त कवितालाई नेपाली भाषामा अनुवाद गरेका छन् कवि तथा अनुवादक ईश्वर थोकरले । अत्यन्तै सरल भाषामा लेखिएको यो कविता यति बलशाली छ कि कविताको अन्त्यले पाठकलाई रन्थनिने बनाइदिन्छ । मान्छेहरूको सोचलाई तीन सय साठी डिग्रीको कोणमा फनक्क घुम्न बाध्य बनाउँछ । आइमाईको लोग्नेमान्छेको जस्तो बल हुन्न भन्ने जुन सदियौँदेखिको बुझाइ छ, त्यसलाई नराम्रोसँग झापड हानेका छन् कविले यस कवितामा ।
यस्तै सबैभन्दा पछिल्लोपटक पढेको कथा हो, अमेरिकी आख्यानकार केट चपिनको ‘दी स्ट्रोम’ । यस कथामा कथाकारको कथा बुन्ने शिल्प र महिलाको मनोदशा चित्रण गर्ने उनको कला देखेर म निकै लोभिएकी छु । लगभग सवा सय वर्षअगाडि महिलाको निजी चाहना र स्वतन्त्रतालाई त्यो ढंगले प्रस्तुत गर्न सक्ने उनको आँट र जोखिम मोल्न सक्ने साहसलाई सलाम भन्न मन लागेको छ । कथाको अन्त्यमा ‘सो दी स्ट्रोम पास्ड एन्ड एभ्रिवन वाज ह्याप्पी’ भनेर निकै प्रतीकात्मक हिसाबले टुङ्ग्याइएको कथा अद्भुत छ ।
९) आखिर जिन्दगी के रहेछ ?
जिन्दगी प्याजको पत्रजस्तै रहस्यै रहस्यको पत्र रहेछ । जति पत्र जिउँदै गयो, उति नयाँ अध्याय भेटिँदोरहेछ । प्रत्येक उमेर चरणका पृथक् चाहना, पृथक् अनुभूति र पृथक् सुन्दरता हुँदा रहेछन्, केवल तिनलाई पर्गेल्न सक्ने धैर्यता र खुसी हुने कला सिक्न पर्दोरहेछ । प्रत्येक सुखदुःख र उतारचढावमा केही शिक्षा हुन्छ, दर्शन हुन्छ, केही सौन्दर्य हुन्छ ।
जिन्दगीको नमिठो अध्याय साङ्गे गरिसकेपछिको मिठास अनुपम हुन्छ, फगत हामी हरक्षण उत्सुक अन्वेषकजस्तो भएर आफ्नै जीवन उत्खनन गर्दै जान सक्नुपर्छ । आफ्ना क्षमता र सम्भावनाको पहिचान र खोजी गर्दै जान सक्नुपर्छ । जीवन त मात्र एकपटक पाइने सर्वोत्कृष्ट उपहार हो । जीवन विरोधाभासहरूको संगम पनि हो, यसलाई चलाखीपूर्ण र सजगतासँग यसका पत्रपत्र उप्काउँदै जानुपर्छ र प्रत्येक पत्रमा जीवनभित्रको एउटा अर्को जीवन बाँच्न जान्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु