आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
प्रथम नेपाली महिला

डाक्टर्नी आमा रूपकुमारी गुरुङ

प्लेनको कुरा गर्दा नेपालमा गाडी त चल्याछैन भनी उनलाई जिस्काएपछि..
शनिबार, २४ जेठ २०८२

काठमाडौँ । नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्‍याउँदै आएको देन अविस्मरणीय छ ।

‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरूप्रति समर्पित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् । यस कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अड्चन, उत्पीडन, अन्योल, बेथिती र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कँदै आएका छौँ ।

‘प्रथम नेपाली महिला’ शृङ्खलाको २४ औं एपिसोड रूपकुमारी गुरुङका सम्बन्धमा छ । प्रथम नेपाली महिला स्टाफ नर्स हुन्– रूपकुमारी गुरुङ । उनी ‘डाक्टर्नी आमा’ नामले सुपरिचित थिइन् । रूपकुमारी गुरुङ सामुदायिक स्वास्थ्य सेवासम्बन्धी प्रथम नेपाली विशेषज्ञ पनि हुन् । 

  • जन्ममिति : सन् १९३० मे ३० 
  • जन्मस्थान : मणिपुर, इम्फाल
  • निधन : वि.सं. २०६५ असोज २४
  • माता : श्यामो राई
  • पिता : ललितबहादुर राई
  • शिक्षा : एम.एस्सी. (कम्युनिटी हेल्थ नर्सिङ)
  • पदक/विभूषण : श्री ५ महेन्द्र राज्याभिषेक पदक, श्री ५ वीरेन्द्र राज्याभिषेक पदक, दीर्घसेवा पदक
  • विदेशभ्रमण : संयुक्त राज्य अमेरिका, बेलायत, क्यानाडा, जापान, फ्रान्स, थाइल्यान्ड, सिंगापुर, बाल्कन क्षेत्र, भारत आदि 

फर्क फर्क हे जाऊ समाऊ, मानिसहरूको पाउ

मलम लगाऊ आर्तहरूको, चहर्‍याइरहेको घाउ 

महाकवि लक्ष्मीप्रसाद देवकोटाका साहित्य असाध्यै मन पराउने रूपकुमारी गुरुङको यो आदर्श मन्त्र हो । रूपकुमारीले सेवाको आदर्श मन्त्रलाई ओठ अथवा मनमा मात्रै सीमित नराखी व्यवहारमै उतार्ने काम गरिन् । 

झन्डै अढाई दशकअघि भेट हुँदाखेरि जीवनको ७० औँ वसन्त पार गरिसकेकी उनमा करुणा, त्याग र सेवाको भावना प्रचुर थियो । ‘अहिले म आफ्नो अवस्थाले गर्दा घर, घर गई सेवा पुर्‍याउन असमर्थ छु । 

पहिले जाने गर्थेँ । यो त्यही ठाउँ हो, जहाँ कोही बिरामी पर्नासाथ खालि ढ्याङ्ग्रो ठोक्ने चलन थियो । 

अहिले निकै परिवर्तन आइरहेको छ । म घरबाटै निःशुल्क स्वास्थ्य सेवा पुर्‍याइरहेकी छु । 

अशक्त बिरामीलाई भरतपुर, हेटौँडा जान आर्थिक सहयोग पनि गरिरहेकी छु’ त्यतिखेर रूपकुमारी गुरुङको भनाइ हो यो । मकवानपुरको सुनाचरीनिवासी रूपकुमारी त्यतिखेर ‘ज्योतिर्मय स्वास्थ्य सेवा केन्द्र’ लाई जीवन्त तुल्याउन क्रियाशील थिइन् । स्वास्थ्य सेवा केन्द्र खोल्ने विचार पहिल्यैदेखि राख्दै आए तापनि जिल्ला विकास समिति लगायत कसैले चासो नलिएकामा उनलाई गहिरो दुःख थियो । 

तर आफूले पढाएका कतिपय डाक्टरले पनि त्यहाँ सेवा पुर्‍याउन इच्छा देखाएकाले चाहिँ उनी हर्षित थिइन् । स्वास्थ्य बाहेक शैक्षिक जागरण र स्थानीय विकास, निर्माणका कार्यमा पनि उनको योगदान छ । 

उनले सुनाचरी स्कुललाई आर्थिक सहयोग गरेकी छिन् । ‘विद्यार्थी कल्याण कोष’ समेत खडा छिन् । 

न्यून आय भएका, पिछडिएका परिवारका छोरीहरूलाई पढाउन निःशुल्क शिक्षा र पोसाकको पनि व्यवस्था गरेकी थिइन् । स्थानीय क्षेत्रमा सबैको आवत–जावतका लागि एउटा पुल समेत बनाइन् ।

‘नारी जागरण तथा विकास समाज’ संस्थाकी अध्यक्ष रूपकुमारीको आफ्नो पेन्सनबाहेक अरू कुनै आयस्रोत थिएन । तैपनि, उनको समाज सेवाप्रति गहिरो भावना थियो । 

उनका अनुसार ‘बाढीपीडित मात्रै नभइदिएकी भए समाजसेवाका निम्ति धेरैथोक गर्ने थिएँ ।’ उनी सन् १९३० मे ३० तारिखका दिन मणिपुर, इमफालमा जन्मिएकी हुन्  ।

उनकी माता श्यामो राई र पिता ललितबहादुर राई हुन् । बाल्यावस्थातर्फ फर्कँदै रूपकुमारीले जनाए अनुसार उनका बुवा ब्रिटिस सेनाको अफिसर थिए– इम्फालमा । 

त्यतिखेर दोस्रो विश्वयुद्ध भयो । शरणार्थीका रूपमा घुम, दार्जिलिङमा लगियो । 

केही दिन पशुपतिनगरमा बसे तापनि पछि दार्जिलिङको ‘मिरिक’ मा पढ्न पठाइयो । रूपकुमारीले प्राथमिक शिक्षा चाहिँ इम्फालमा सुरु गरेकी हुन् । 

मिरिकमा केही समय पढिन् । अनि, खर्साङ पुगिन् र ‘सेन्ट जोसेफ’ मा कक्षा आठसम्म पढिन् । 

उनकी आमा शिक्षाप्रेमी थिइन् । उनलाई पढाउन आमाले निकै मिहिनेत गरिन् । 

उनी ‘सेन्ट जोसेफ’ मा पढ्दापढ्दै ‘रिफ्यूजी क्याम्प’ मा रेडक्रस अन्तर्गत काम गर्न थालिन् । त्यहाँ, रूपकुमारी लगायत सबै शरणार्थीका रूपमा थिए । 

आमा पनि सेवा कार्यमा जुटेकी थिइन् । उनका बुवा छ महिना जति जापानी सरकारको बन्धनमा परे । 

यो समाचार परिवारले नौ महिनापछि मात्रै पायो । त्यतिबेला धेरै दुःख, हन्डर र सास्ती बेहोर्नपर्‍यो । 

यत्ति भनिरहँदा रूपकुमारीका आँखा रसाइरहे । आँसु पुछ्दै फेरि उनले भनिन्– ‘त्यसैले लडाइँ भन्यो कि म नर्भस हुन्छु । ........मलाई अझै सम्झना छ, त्यतिखेर नजिकै बम पड्केको थियो, धन्न, हामी टनेल (सुरूङ) मा पसिसक्या’ थियौँ ।’

उनले आठ कक्षा पढ्नुअगावै रेडक्रसमा काम थालिसकेकी थिइन् । व्रिटिशहरूको बन्दोवस्त थियो । 

त्यहीँबाट प्रवेशिका परीक्षा दिइन् । नर्सिङ पनि साढे तीनवर्ष पढिन् । ‘२६ जनवरीको स्वतन्त्रता दिवस’ मा ‘एयर डिस्प्ले’ को कार्यक्रम थियो । 

त्यहाँ उनको ‘स्टुपिड’ भन्ने साथी पनि गएको थियो । रूपकुमारीहरूलाई ‘नेपाली महानुभावहरू’ को सिटमा राखिएको थियो । उनले नेपालमा पनि यस्तै हवाइजहाज उड्ने कुरा गर्दा ‘स्टुपिड’ ले नेपालमा गाडी त चल्या’ छैन भनी हाँसो उडाएको थियो । 

त्यतिबेला उनको चित्त निकै दुख्यो । उनी नर्सिङ पास गरेर बसेकी मात्रै के थिइन् । अमेरिकी संस्था ‘यूएसओएम’ को विज्ञापन देखियो । निवेदन दिइन् । 

उनलाई ‘चिफ पब्लिक हेल्थ नर्स’ का रूपमा बोलाइयो । नेपालमा स्वास्थ्य सेवा भरखर प्रारम्भ भएको थियो । 

‘यूएसओएम’ र तत्कालीन सरकारको संयुक्त प्रयासमा काम हुँदै थिए ।नेपालमा उताको प्रवेशिकाको मान्यता नदिइएकाले रूपकुमारीले दरवार हाईस्कुलबाट फेरि एसएलसी दिइन् । 

त्यतिखेर उनको उमेर २१/२२ को हुँदो हो । जाँच दिनेमा माहिली महारानी प्रिन्सेप शाह, गोमा र उनी थिइन् ।

रूपकुमारीले वि.सं. २०११ सालमा जागिर सुरू गरेकी हुन् । २०१२ सालमा मातृशिशुतर्फ काम थालिन् । त्यतिखेर पब्लिक हेल्थ थिएन, आफैले आफ्नो कामको रूपरेखा बनाई सचिवलाई दिएकी थिइन् उनले । सुन्दरीजलमा मुमा बडामहारानीको टहलुवाका साथ लिई त्यही घरबाट काम सुरु गरिन् । सामुदायिक स्वास्थ्य सेवा भए पनि प्रतिकारात्मक मात्रै नभएर उपचारात्मक काम भयो । साथसाथै, शिक्षातर्फ पनि काम हुँदै आयो । 

रूपकुमारीले ‘राप्ती भ्याली प्रोजेक्ट’ अन्तर्गत हेटौँडामा चारवर्ष जति काम गरेकी छिन् ।  विशेषगरी नेपालमा मातृशिशुतर्फ काम प्रारम्भ गर्ने उनी नै हुन् । 

भरतपुरमा पनि पाँचवर्ष जति बसिन् । अनि, २०२२ देखि २०३० सालसम्म विराटनगरमा सेवा गरिन् । 

त्यहीबखत आई.ए. पढिन् । २०३० सालमा काठमाडौँ फर्किएर भर्खर सुरू भएको ‘महाराजगञ्ज क्याम्पस’ मा ‘हेल्थ असिस्टेन्ट’को प्रोग्राममा पढाउन थालिन् । 

ओहदा ‘मेट्रोन’ तर काम चाहिँ पढाउने थियो । ‘नर्सिङ आर्ट’ को प्राक्टिकल र थ्योरी पढाउँथिन् उनी ।

यसपछि ‘नर्सिङ क्याम्पस’ मा सरुवा भइन् । नेपालगञ्ज पुगिन् । त्यहाँ सी.अ.न.मी.लाई पढाइन् । 

त्यतिखेर ‘को–अर्डिनेटर’ थिइन् उनी । विराटनगरमै छँदा उनले गुजरातको ‘वी.जे. मेडिकल कलेज, अहमदावाद’ बाट बी.एस्सी. पनि पूरा गरेकी हुन् ।

नेपालगञ्जबाट फर्किएपछि दिल्लीको ‘आर.के. कलेज अफ नर्सिङ न्यू दिल्ली’ बाट एम.एस्सी. (नर्सिङ) पनि सकिन् । मूलविषय चाहिँ ‘कम्युनिटी हेल्थ नर्सिङ’ थियो । 

यसअघि सन् १९५७ तिर ‘अमेरिकन युनिभर्सिटी अफ च्यापलहिल’ बाट एकवर्षे ‘सर्टिफिकेट इन पब्लिक हेल्थ नर्सिङ कोर्स’ पनि पूरा गरेकी थिइन् । २०४५ सालमा जागिरबाट बिदा लिइन् ।

पहिल्यैदेखि संलग्न रहँदै आएको ‘यूएनभी’ सँग आबद्ध भइन् उनी । अनि, अरबको नर्थेमनमा गई सातवर्ष सेवा गरिन् । 

जागिरबाट बिदा लिनुको कारणबारे - ‘एक त यता टर्म पुगिरहेको थियो, दुईतिर काम गर्न मन मानेन, त्यसैले राजीनामा दिएकी हुँ,’ उनको भनाइ रह्यो ।

अरबी भाषा लेखपढ गर्न राम्रो जान्ने भएकीले अरबमा पनि उनले प्रशंसा बटुलिन् । खासगरी सुढिनी तालिम, अ.न.मी. तालिम र मेडिकलका विद्यार्थीलाई सामुदायिक स्वास्थ्यसम्बन्धी ज्ञान दिन्थिन् उनी ।

रूपकुमारीले ‘नेदरल्यान्ड्स प्रोग्राम’ मा सल्लाहकारका रूपमा पनि संलग्न भइन् । सन् १९९२ पछि चाहिँ उनी मकवानपुरको सुनाचरी गाउँमा बसेर यथाशक्य जनसेवामा लागेकी हुन् । 

उनको दाम्पत्य जीवनका सम्बन्धमा सोध्दा उनले ज्यादै भावुक हुँदै भनेको सम्झना आउँछ–  सन् १९५७ मा चन्द्रमान गुरुङसँग उनको विवाह भएको हो । 

चन्द्रमान कृषि औजारसम्बन्धी विशेषज्ञ थिए । टी.सी.एन.को एम.डी. भएका हुन् ।

यस अतिरिक्त अरू केही बताउन चाहिनन् उनले,  खालि यत्ति भनिन्– ‘दाम्पत्य जीवन सुखद रहेन ।’

मुटुभरिको पीडा खप्न गाह्रो भए झैँ उनी भन्न थालिन्– ‘जति नर्सहरू छन्, तिनलाई आफ्नै श्रीमान् भएकै ठाउँमा सरुवा गरेर राखिदिए तिनको जीवन सुखमय हुन्छ । नर्सका लोग्नेले नै बच्चा स्याहार्ने गर्छन्, जागिर पनि खाएका हुन्छन् र बच्चाले आमाबाबुको स्नेह पनि नपाउने हुँदैन ।’

उनका एउटा छोरा देव गुरुङ र दुई वटी छोरी प्रेमा र अंशु छन् । उनले भावुक हुँदै ‘हेर बाबु ! म कुशको आसनमा बसेर भन्छु, सत्य कुरा के हो भने मैलै धेरै घर छाडेर, बाहिर हिँडेर गएकीले यिनलाई स्नेह दिन सकिनँ’ भित्रैदेखि उनको वेदना उर्लिएर आएजस्तो भयो ।

अध्यात्ममा रुचि राख्ने रूपकुमारीसित धर्मकर्मबारे निकै विमर्श भयो । प्रसन्न भई ‘डाक्टर्नी आमा’ ले सम्झनास्वरूप एउटा धार्मिक किताब ‘सस्नेह आमाको तर्फदेखि’ लेखी हस्ताक्षरसहित मिति २७/६/२०५७ उल्लेख गरी दिएकी छिन् । 

अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घका संस्थापकाचार्य प्रभुपादद्वारा लेखिएको कृति थियो– ‘भगवान् श्रीकृष्ण’ ।

रूपकुमारीको जीवनको उत्तरार्द्ध ज्यादै कष्टप्रद रह्यो । आठ वर्ष ‘ब्रेन प्यारालाइसिस’ अर्थात् मस्तिष्क पक्षाघातबाट पीडित भइन् उनी । 

उनको यो विषम वस्तुस्थितिमा बुहारी भीमादेवी गुरुङले अनुकरणीय सेवा गरिन् । छोरा देवमानको बाँसबारी, काठमाडौँस्थित घरमै उनले प्राण त्याग गरेकी हुन् । 

उनको वि.सं. २०६५ असोज २४ गते निधन भएको हो ।

सामुदायिक स्वास्थ्य सेवाका क्षेत्रमा स्वदेश तथा विदेशमा उनको योगदान विशिष्ट छ । प्रथम नेपाली महिला स्टाफ नर्स तथा सामुदायिक स्वास्थ्य सेवासम्बन्धी प्रथम नेपाली विशेषज्ञ रुपकुमारी यतिखेर हामीमाझ नभए पनि उनले छाडेर गएका सेवाभाव अमिट रूपमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया