हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
सारांश
- इजरायल र लेबनानले इरान समर्थित हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न सहमति जनाएका छन्।
- यो सहमति दक्षिणी लेबननमा इजरायली आक्रमणबाट नौ जनाको मृत्यु र हिजबुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार गरेको केही घण्टापछि आएको हो।
- अमेरिकाले लेबनानी सेनाले नियन्त्रण गर्ने विशेष पाइलट क्षेत्र स्थापना गर्न सहयोग गर्ने र हिजबुल्लाहका सदस्यहरू दक्षिणी लेबनान क्षेत्रबाट हट्नुपर्ने सम्झौता छ।
वाशिङटन डीसी । इजरायल र लेबननले युद्धविराम कार्यान्वयन गर्न सहमति जनाएका छन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार यो सहमति इरान समर्थित हिजबुल्लाहले आफ्ना सबै आक्रमण पूर्ण रूपमा बन्द गर्ने शर्तमा आधारित छ।
यो घोषणा दक्षिणी लेबननमा इजरायली आक्रमणबाट कम्तीमा नौ जनाको मृत्यु भएको र हिजबुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार गरेको केही घण्टापछि आएको हो। ती घटनाले अप्रिलमा भएको युद्धविरामलाई पुनः चुनौती दिएको थियो।
विज्ञप्तिमा इजरायल र लेबनानबिचको सम्बन्धको भविष्य दुवै सार्वभौम सरकारले नै निर्धारण गर्नुपर्ने उल्लेख गर्दै कुनै पनि राज्य वा गैर–राज्य पक्षले लेबनानको भविष्यलाई बन्धक बनाउने प्रयास अस्वीकार्य भएको जनाइएको छ। सम्झौताअनुसार हिजबुल्लाहका सबै सदस्यहरू इजरायलको नियन्त्रणमा रहेको दक्षिणी लेबनान क्षेत्रबाट हट्नुपर्नेछ। यो क्षेत्र लिटानी नदीदेखि इजरायली सीमासम्म फैलिएको छ।
अमेरिकाले लेबनानी सेनाले मात्र नियन्त्रण गर्ने विशेष पाइलट क्षेत्र स्थापना गर्न सहयोग गर्ने पनि जनाएको छ। ती क्षेत्रमा कुनै पनि गैर–राज्य सशस्त्र समूहलाई गतिविधि सञ्चालन गर्न अनुमति नदिइने बताइएको छ। यसअघि सोमबार आंशिक युद्धविराम भएको थियो। लेबनानका अनुसार त्यस सम्झौताअन्तर्गत इजरायलले राजधानी बेरुतमा बमबारी नगर्ने र बदलामा हिजबुल्लाहले इजरायलमाथि आक्रमण नगर्ने सहमति भएको थियो।
दुवै देशले आगामी जुन २२ मा पुनः वार्ता गर्ने र व्यापक तथा दीर्घकालीन सम्झौताको सम्भावना खोज्ने सहमति पनि गरेका छन्। यद्यपि हिजबुल्लाहले हालसम्म नयाँ घोषणाबारे औपचारिक प्रतिक्रिया दिएको छैन। वार्ताले हिजबुल्लाहको प्रभावबाट स्वतन्त्र सुरक्षा व्यवस्थातर्फ लैजाने कार्ययोजना तयार पार्ने आशाअमेरिकी विदेशमन्त्री मार्को रुबियोले व्यक्त गरेका छन्।
युद्धविरामको अवधिमा पनि दुवै पक्षबाट आक्रमण जारी रहेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार इजरायली आक्रमणमा दुई जना स्वास्थ्यकर्मीसहित कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणी चेहोर क्षेत्रमा एम्बुलेन्समाथि भएको आक्रमणमा ती स्वास्थ्यकर्मी मारिएका थिए। राजधानी बेरुतको दक्षिणमा एउटा गाडी पनि निशाना बनाइएको थियो।
उता इजरायली सेनाले सीमा पार गरेर आएको एउटा ड्रोन र दुईवटा प्रक्षेपास्त्र खसालिएको जनाएको छ। हिजबुल्लाहले भने आफूले इजरायली सैनिकहरूको जमघटलाई निशाना बनाएको दाबी गरेको छ। घोषणाअघि इजरायली नेतृत्वले उत्तरी इजरायलमा हिजबुल्लाहका आक्रमण जारी रहेमा बेरुतको दक्षिणी उपनगर दाहियेहमाथि पुनः ठूलो सैन्य कारबाही गरिने चेतावनी दिएको थियो।
हिजबुल्लाहका राजनीतिक परिषद्का सदस्य महमुद कामातीले लेबनान–इजरायल वार्तामा भएका प्रतिबद्धताहरू आफूहरूको लागि बाध्यकारी नहुने बताएका छन्। कुनै औपचारिक युद्धविराम सम्झौता नभएको, केवल दाहियेह क्षेत्रको सुरक्षा सुनिश्चित गरिएको बीबीसीसँगको कुराकानीमा उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण