बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी वार्षिकोत्सव

जेन–जीको जागरण : आफ्नै माटोमा सपना रोप्दै

मङ्गलबार, २७ जेठ २०८२, १२ : ०७
मङ्गलबार, २७ जेठ २०८२

समाचार सारांश

  • भक्तपुरकी निष्ठा कायस्थले दिदीबहिनी क्रियसन्स नामक स्टार्टअप सुरु गरिन्, जसले पुराना कपडालाई नयाँ रूप दिन्छ र महिला सशक्तीकरणमा जोड दिन्छ।
  • कैलालीका नवीन तिमिल्सिनाले युट्युब च्यानल 'एलोपित ई-लर्निङ' मार्फत विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्छन्, र हाल ६८ हजारभन्दा बढी सदस्य छन्।
  • यी दुवै युवा उद्यमीहरूले नेपालमै केही गर्न चाहेका छन् तर सरकारी नीति र प्रक्रियाहरू अझै पनि उनीहरूको लागि सहज छैनन्।

भक्तपुर, सूर्यविनायककी निष्ठा कायस्थले स्नातकोत्तर पढ्दै गर्दा (२०७६ सालतिर) तानमा कपडा बुन्ने एक कम्पनीमा सह–व्यवस्थापकका रूपमा काम गर्थिन् । परीक्षाका बेला काम छाडेर बसेका बेला उनलाई आफैँ केही गर्ने हुटहुटी भयो र उनले ‘दिदीबहिनी क्रियसन्स’ खोलिन् । उनले कपडा कम्पनीमा काम गर्दा थुप्रै यस्ता दिदीबहिनीलाई देखेकी थिइन्, जसको हातमा सीप थियो तर उनीहरू आफूसँग पढाइ नभएकाले हीनताबोध गर्थे । कोरोनाको प्रभावले उनीहरूले काम गर्ने कपडा कम्पनी बन्द हुन पुग्यो । उनीहरूलाई आत्मनिर्भर बनाउने हेतुले नै उनले ‘दिदी बहिनी क्रियसन्स’ खोलेकी थिइन् । 

‘पढाइको कागजी प्रमाणपत्रभन्दा सीप महत्त्वपूर्ण कुरा हो,’ २७ वर्षीया निष्ठा भन्छिन्, ‘मैले ती दिदीहरुको अनुभव वा सीपलाई महत्त्व र मूल्य दिने उद्देश्यका साथ कपडा कम्पनी दिदी–बहिनी क्रियसन्स खोलेकी हुँ ।’ 

उनको यो केवल एउटा स्टार्टअप व्यवसाय होइन एक अभियान हो । उनको कम्पनीले खेर गएका वा पुराना कपडालाई कलात्मक किसिमले नयाँ रूप दिन्छ; प्राकृतिक रङको प्रयोग गरेर पर्यावरणमैत्री उत्पादन गर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा त महिलालाई पसिनाको सही मूल्य दिएर सशक्तीकरण गर्छ ।

निष्ठालाई दिदीबहिनी क्रियसन्स सुरु गर्न करिब ४५ हजार रुपैयाँ लगानी लागेको थियो । उनले सुरुमा आवश्यक मेसिन लगायत सामग्री ‘सेकेन्ड ह्यान्ड’का किनेकी थिइन् । सुरुमा उनले पुराना साडीबाट ‘बो रबर ब्यान्ड ( कपाल बाँध्ने रबर), हेयर ब्यान्ड, झोलाहरू तयार गरेर बेच्थिन् । 

एक दिन उनलाई नुहाएपछि लगाउने लुगा (बाथरोब) बनाउने अर्डर आयो । यो काम उनका लागि नयाँ थियो । उनले अर्डर लिइन् । ‘ग्राहकले रुचाउने हो कि होइन भन्ने अन्योल थियो । उताबाट बाथरोब मनपर्‍यो भन्ने म्यासेज आएपछि बल्ल ढुक्क भयौँ,’ निष्ठा भन्छिन्, ‘त्यसपछि हामीले बन्यान (पुरुषले घरमा बस्दा लगाउने वा अपर्झट लगाउने लुगा), हेम्प (फाइबर) लगायत कपडा बनाउन थाल्यौँ ।’ 

IMG_20250609_073522_copy_2560x1591

‘दिदीबहिनी क्रियसन्स’ले बिस्तारै आज नेपाली बजारमा आफ्नो स्थान बनाउँदै छ । अमेरिका र डेनमार्कजस्ता देशहरूमा पनि यसका उत्पादन पुग्न थालेका छन् । अहिले सात दिदीबहिनीलाई रोजगारी दिइरहेकी निष्ठाले वार्षिक २५ लाखको हाराहारीमा आम्दानी गर्छिन् ।

‘यो मेरो मात्र जित होइन दिदीबहिनी क्रियसन्समा काम गर्ने हरेक दिदीबहिनीको जित हो,’ निष्ठा भन्छिन्, ‘हामीले पुराना कपडालाई परम्परागत तानमा बुनेर नयाँ रूप र प्राकृतिक रङ दिन्छौँ । यहाँ तयार पारिएको हरेक उत्पादन पर्यावरणमैत्री मात्र छैन, तिनमा कामदार महिलाको आत्मा समेत जोडिएको छ । हाम्रा उत्पादनमा कला मिसिएको हुन्छ, जुन दिदी–बहिनी क्रियसन्सको पहिचान र आत्मा दुवै हो ।’ 

आज धेरै युवाहरू देशमा केही हुँदैन भनेर निराश छन् र विभिन्न अवसरको खोजीमा बिदेसिन उद्यत् छन् । यस सिलसिलामा निष्ठा एक उदाहरण हुन्, जसले देशमै केही नयाँ गरेर सफलता हासिल गर्दै छन् ।

सरकार भन्छ, अब युवालाई देशभित्रै उद्यमशील बनाउन जेन–जी पुस्ता लक्षित कार्यक्रम ल्याउँछौँ, नीति बनाउँछौँ । सरकारले विगतका वर्षमा भन्दा यसपालि जेन–जी पुस्ता लक्षित कार्यक्रम घोषणा गरेको छ तर सरकारको सोच वा व्यवहार भने पुरानै रहेको निष्ठाको अनुभव छ । ‘सरकारी कार्यालयहरूमा आज एउटा कागज पुगेन भन्नुहुन्छ, भोलि अर्को । म एक्लै जाँदा र कुनै पुरुषलाई साथमा लिएर जाँदा हुने व्यवहारमा आकाश–जमिनको फरक भयो,’ निष्ठा भन्छिन्, ‘राज्यले स्टार्टअप नीति ल्यायो, सहुलियत कर्जाको घोषणा गर्‍यो, तर यी सबै हामीजस्ता वास्तविक उद्यमीसम्म आइपुग्दैन, पहुँचवालाकै कब्जामा हुन्छ ।’ 

IMG_20250609_073420_copy_2560x1707

देशमा नयाँ सोचका साथ काम गर्न राज्यले वातावरण दिइसकेको अवस्था नभए पनि निरन्तरको प्रयासले सफल हुन सकिने निष्ठाको अनुभव छ । आफूजस्तै केही गर्न चाहने युवालाई उनको सुझाव छ, ‘सोचेजस्तो सजिलो कहिल्यै हुँदैन तर निरन्तरताले नै असम्भवलाई सम्भव बनाउँछ । हामी युवा नै चुप लागेर बस्यौँँ भने परिवर्तन कसले ल्याउँछ ?’

  • नवीनको नवीन सोच 

कैलालीको लम्कीका नवीन तिमिल्सिनाको स्टार्टअप व्यवसायको कथा र पृष्ठभूमि निष्ठाको भन्दा फरक छ । उनी कक्षा १० मा पढ्दै गर्दा आमाको निधन भयो, त्यसको केही समयमै बुबा पनि बेपत्ता भए । त्यसपछि उनको पढाइ सहज भए, उनका दाजुभाइका संघर्षका दिनहरू सुरु भए । उनी र उनका दाजु भारतका विभिन्न सहरमा काम खोज्दै पुग्थे, त्यहाँका होटलमा भाँडा माझ्ने लगायत काम गरेर ६ महिनाजस्तोमा घर फर्कन्थे र नवीन ६ महिनाजति स्कुल जान्थे । 

‘मैले १५ वर्षको उमेरमा भारतमा भाँडा धोइरहँदा मेरा साथीहरू लम्कीको स्कुलमा भविष्य कोरिरहेका थिए,’ नवीन आफ्नो विगत र आफूले पालेको ईख सम्झन्छन्, ‘मेरो दाइले पैसा नभएकै कारण साइन्स पढ्न सक्नुभएन । त्यतिबेलै मैले ईख लिएको थिएँ— मैले केही न केही अवश्य गर्छु ।’

IMG_8664

नवीनका दाजुभाइका दिनहरू सधैँ अँध्यारा रहेनन् । दाइले रोजगारीका लागि कोरिया जाने अवसर पाए । कोरिया गएर दाइ कमाउने भएपछि नवीन उच्च शिक्षासँगै केही गर्ने सपना बोकेर काठमाडौँ आए, सन् २०१८ तिर । काठमाडौँमा पढिरहँदा उनलाई आफैँ केही गर्ने कुराले झकझकाइरहन्थ्यो । अन्ततः स्नातक पढ्दै गर्दा उनले एउटा बाटो पहिल्याए । एउटा सामान्य मोबाइल फोन, एउटा सेतो बोर्ड र डेराको सानो कोठालाई स्टुडियो बनाएर युट्युब च्यानल खोले— ‘मास्टर साब’ ।

उनले आफ्नो च्यानलमा स्कुल लेभलका विद्यार्थीलाई लक्षित गरी विभिन्न विषयमा बुझाइएका भिडियो अपलोड गर्थे । आफूले भारतमा काम गर्दै स्कुल तहमा पढ्दा यस्ता भिडियो हेर्न पाएको भए पढाइमा धेरै प्रगति हुन्थ्यो भन्ने उनलाई लागेको थियो । त्यसैले विद्यार्थीले लाभ लिन सकुन् भन्ने उद्देश्यले उनले भिडियो अपलोड गर्न थालेका थिए । 

उनको भिडियो हेर्ने दूरदराजका विद्यार्थीले म्यासेज पठाउन वा कमेन्ट गर्न थाले— तपाईंको भिडियो हेरेर म एसईईमा पास भएँ, मेरो भविष्य बन्यो आदि । 

यसले नवीनलाई हौस्यायो । उनले यसैलाई स्टार्टअप व्यवसायका रूपमा अगाडि बढाउने तयारी थाले । कानुनी प्रक्रिया अनुसार दर्ता गरेर युट्युब च्यानल ‘मास्टर साब’ सुरु गर्ने योजना बनाए, तर उनको यात्रामा चुनौतीका पहाडहरू थपिए । उनले लामो समय सञ्चालन गरेको युट्युब च्यानल ‘मास्टर साब’ कानुनी रूपमा दर्ता गर्न सहज भएन । ‘मास्टर साब’ ब्रान्ड ट्रेडमार्क अर्कैले दाबी गर्‍यो । मास्टर साब दर्ता गर्न नपाए पनि नवीनले हार मानेनन् । उनले ‘मास्टर साब‘लाई परिमार्जन गरी नयाँ नाम दिए, ‘एलोपित ई–लर्निङ’ । 

‘सरकारसँग ई–लर्निङका लागि स्पष्ट नीति नै रहेनछ,‘ नवीन भन्छन्, ‘हरेक पाइलामा झन्झट र अस्पष्टता छ । राज्यको प्रणाली नयाँ सोचलाई स्वागत गर्न होइन निरुत्साहित गर्न बनेको जस्तो लाग्छ । सरकारको प्रणाली त नयाँ सोचलाई निरुत्साहित होइन सहजीकरण गर्ने खालको हुनुपर्छ ।’

निष्ठाको यो केवल एउटा स्टार्टअप व्यवसाय होइन एक अभियान हो । उनको कम्पनीले खेर गएका वा पुराना कपडालाई कलात्मक किसिमले नयाँ रूप दिन्छ; प्राकृतिक रङको प्रयोग गरेर पर्यावरणमैत्री उत्पादन गर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा त महिलालाई पसिनाको सही मूल्य दिएर सशक्तीकरण गर्छ ।

अहिले उनको ‘एलोपित ई–लर्निङ’लाई ६८ हजार भन्दा बढीले सब्सक्राइब गरेका छन् । यो नवीनको एक्लो यात्रा होइन, यसमा उनका सह–संस्थापक साथीहरू विनोद धामी र ऋतु दर्लामीको पनि उत्तिकै साथ छ । उनीहरू सबै मिलेर एउटा यस्तो शैक्षिक क्रान्ति ल्याउन खोजिरहेका छन्, जहाँ ज्ञान किन्नुपर्ने महँगो वस्तु नभई सबैको पहुँचको होस् । 

IMG_8677

यतिबेला नवीनले समूहले वार्षिक १० लाख जति नाफा कमाउँछ । कैलालीको एउटा सानो गाउँबाट उठेका र अभावको आँधीसँग जुधेका २६ वर्षीय नवीन आजका निराश युवा (जेन–जी पुस्ता) का लागि एक उदाहरण र ऊर्जा बनेका छन् ।

‘नेपालमा केही छैन भनेर विदेश जानुअघि एकपटक आफ्नै वरिपरिको समस्यालाई हेरौँ र केही गर्न सकिन्छ कि भन्ने समाधान खोजौँ,’ नवीन भन्छन्, ‘हरेक समस्याभित्र एउटा अवसर लुकेको हुन्छ । मसँग जस्तै तपाईंसँग पनि कुनै व्यक्तिगत पीडा छ भने त्यसलाई नै आफ्नो शक्तिको स्रोत बनाउनुहोस् ।’ 

निष्ठा र नवीनको सफलता र संघर्षले देखाउँछ, आजको जेन–जी पुस्ताले केही नयाँ गर्न चाहन्छ तर राज्यको नीति स्पष्ट हुन आवश्यक छ । निष्ठा र नवीन जस्ता युवाहरूले सोधिरहेका छन्— के यो देशले आफ्नै माटोमा फुल्न चाहने सपनाहरूलाई मलजल गर्छ ?  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप