चित्रकथा : २६ जना कलाकारको कलामा भक्तपुरको आत्मा
सारांश
- भक्तपुरका कलाकारहरूको 'चित्रकथा' नामक प्रदर्शनी सम्पन्न भयो, जसमा २६ जना कलाकारका कला प्रदर्शनी गरियो।
- प्रदर्शनीमा क्यानभासदेखि लाइट इन्स्टलेसनसम्मका विभिन्न माध्यम प्रयोग गरिएका थिए, जसमा भक्तपुरको कला र संस्कृति झल्कन्थ्यो।
- प्रदर्शनीमा समसामयिक कलासँगै देवीदेवता र संस्कृतिको मिश्रण थियो, मुकेश, मीना कायस्थ र सुदीप वल्लालगायतका कलाकारका विशेष सिर्जनाहरू थिए।
सिद्धार्थ कला दीर्घामा भक्तपुरका कलाकारहरूको ‘चित्रकथा’ नामक प्रदर्शनी भर्खरै (११ अप्रिलदेखि ११ मेसम्म चलेर) सम्पन्न भयो । यो सामूहिक कला प्रदर्शनीमा २६ जना कलाकारका कला प्रर्दशनी गरिएको थियो । धेरैजसो कलाकारले आफ्ना कलामा अनेक माध्यमलाई प्रयोगात्मक (एक्सपेरिमेन्टल आर्ट) रूपमा प्रयोग गरेका छन् । कलागत माध्यमको चलखेललाई प्रदर्शित हरेकजसो कलामा छाम्न सकिन्छ ।
साधारण क्यानभासदेखि प्रिन्ट मेकिङ, सेरामिक, कोलाज अनि एसम्बलसम्मका कलाहरू चित्र र मूर्तिका रूपमा राखिएका छन् । कति कलामा त लाइट–इन्स्टलेसनले पनि ठाउँ पाएको देखिन्छ । तिहारमा झलमल पार्नेजस्तो बत्तीहरू भित्तामा टाँसिदा अनौठो र मनमोहक देखिँदो रहेछ । अलिकता चित्रजस्तो अलिकता मूर्तिजस्तो अनि कहिलेकाहीँ दुवैको समीश्रण हुँदा पनि प्रदर्शनी आफैँमा रमझम भएजस्तो देखिन्थ्यो ।
झट्ट हेर्दा कलाहरू रंगी–विरङ्गी मोटिफले धपक्कै बलेका देखिन्थे । अनेकानेक विधिहरू प्रयोग हुँदा पनि अलग–अलग परिदृश्यहरू कक्षभित्र छरिएका थिए । कलाकारको रोजाइमा बढी मात्रामा देवी–देवता परेका छन् । आराध्य देवदेवीलाई श्रद्धा–भक्तिका साथ अँगालेको देखिन्छ । कलालाई अलग–अलग पाराले पस्कनु यी कलाकारको स्वभाव देखिन्छ ।

कलाकार सबै भक्तपुरकै हुन्— अञ्जिला मानन्धर, बालकृष्ण बनमाला, विकास तमाखु, धिरज मानन्धर, हितेश वैद्य, कबिर कायस्थ, लक्ष्मण कर्माचार्य, मनीष धोजु, मंगोल प्रजापति, मीना कायस्थ, मिनोद वल्ला, मुकेश श्रेष्ठ, नारायण भोजु, निरोज बोडे, पूजा दुवाल, प्रीति दुवाल, पूजन केसी, पुण्यराम माताङ, रविता किसी, राजेन्द्र याख्मी, रमेश प्रधान, रोशन सोखा, शारदा वैद्य, सिर्जना उलक, सुदीप वल्ला र सुरज शिल्पकार ।
त्यसैले यसपालिका कलामा भक्तपुरको कला–संस्कृति उत्रेको देखिन्छ । काठमाडौँसँग टाँसिएकै भए पनि भक्तपुरको एक अलग्ग सस्कृति र संस्कार छ । भक्तपुर आफैँमा नेपाली कलाको धरोहर हो । सयौँ वर्षदेखि रहँदै आएको यहाँको परम्परागत धातुकला, वास्तुकला र लोककला अद्भुत छन्; प्राचीन चित्रकला वा मूर्तिकलाको बेग्लै गौरवमय इतिहास छ । यहाँको घर, आँगन र चोकतिर जताततै बहुमूल्य कला मिल्किएकै अवस्थामा थुप्रिएका देखिन्छन् ।
जात्रा, चाडपर्व, परम्परा र संस्कारमा भक्तपुरवासी अझ बढी डुबेका देखिन्छन् । यहाँको आधुनिकतामा पनि परम्परा गाँसिएको देखिन्छ । चाडपर्वमा बुढाबुढी, केटाकेटी र महिलाहरू ठुलो सङ्ख्यामा उमङ्गका साथ संलग्न हुने गर्छन् । के रात के दिन— चौबिसै घण्टा यसमा रमाउनु उनीहरूको दैनिकीजस्तै छ । भक्तपुर सहरभित्र अहिले पनि गाउँको जीवन छ, चालचलन र दैनिकी छ । माटाका भाँडाकुँडादेखि अनेकानेक उपयोगी वस्तु बनाउँदै गरेका व्यक्तिहरु यहाँ भेटिनु नौलो होइन । यहाँ पुग्दा प्राचीन नगरीमा पुगेको जस्तै जोकोहीलाई पनि लाग्ने गर्छ ।
कलाकारले लोकगाथालाई टपक्कै टिप्दै थप कथा बुन्दै चित्रकथा बनाउने उपक्रम गरेको देखिन्छ । मुकुण्डो लगाएर नाचिने नाचको जात्रा कलाभरि छछल्केर बगेको देखिन्छ । कलामा मुकुण्डो आफैँ प्रतीकात्मक विम्ब बनिदिन्छ ।
यी र यस्तै अवयव कलामा गाँसिदा कला स्वयं पनि अरूभन्दा पृथक् देखिन्छन् । कलाकारले लोकगाथालाई टपक्कै टिप्दै थप कथा बुन्दै चित्रकथा बनाउने उपक्रम गरेको देखिन्छ । मुकुण्डो लगाएर नाचिने नाचको जात्रा कलाभरि छछल्केर बगेको देखिन्छ । कलामा मुकुण्डो आफैँ प्रतीकात्मक विम्ब बनिदिन्छ । यसमाथि धार्मिक आस्थादेखि सामाजिक–सांस्कृतिक पक्षहरु कलामा झुल्कँदै गरेको आभास भावकले गर्न सक्छन् ।
- समसामयिक कला
यस प्रदर्शनमा कलाकारले समसामयिक कलालाई पस्केका छन्, तथापि देवीदेवता र संस्कृतिलाई समेट्न खोज्दा कलाहरु समसामयिकतामा परम्परागत शैली मिसिन पुगेको छ । परम्परागत कलामा देखापर्ने लक्षणलाई कलाकारले आजको कलामा भित्र्याएका छन् । यसले भावकलाई नयाँ किसिमको स्वाद दिन्छ ।

यस प्रदर्शनीमा मुकेशका तीनवटा चित्र थिए । उनी दशकौँदेखि देवी–देवता (पौभा चित्र) लाई थोरै आधुनिक फर्ममा प्रस्तुत गर्ने कलाकार हुन् । यही कलागत शैलीमा उनको स्पष्ट सिग्नेचर पनि बनिसकेको छ । यसपल्ट यसैको निरन्तरतामा तीनवटा देवी (ग्रिनतारा, मञ्जुश्री र सप्तलोचनी) लाई उनले सगोलमा प्रस्तुत गरेका छन् । मुखाकृतिमा खासै फरक नदेखिए पनि यी देवीका आसन, आयुध, वेशभूषा र गरगहनाहरू नितान्त अलग–अलग देखिन्छन् । धर्मशास्त्रले अर्थका साथ परिकल्पना गरेका अवयव र आयुध देवीले धारण गरेका छन्, यस कारण यी देवी शक्तिशाली हुने जनविश्वास छ । यही जनविश्वासलाई टपक्क टिप्दै उनले सौन्दर्यताले भरिएका चित्र बनाएका छन् । चित्र आफैँमा शान्त स्वभावमा देखिन्छ । उनका चित्रमा अनेकानेक अर्थ दिने भाव–अभिव्यञ्जना पनि लुकेको देखिन्छ, यस्तै लालित्यपूर्ण रङहरूको जमघट पनि देखिन्छ । पृथक् गतिपूर्ण रङ–बहाबको पनि यथेष्ट अनुभव गर्न सकिन्छ उनका चित्रमा ।
परम्परागत पौभा चित्रमा आसन, आयुध, रङ र मुद्राहरूले नै हरेकजसो देवीको अलग–अलग पहिचान हुने गर्दछ । यो सदियौँदेखि चल्दै आएको परम्परा हो । शास्त्रमा हरेक देवीको आसन, आयुध अनि वेशभूषाका लागि अलग–अलग व्यवस्था गरिएको हुन्छ । जसमा गहिरो अर्थ लुकेको हुन्छ । मुकेशले यी सबै कुरालाई सूक्ष्म तरिकाले अनुशरण गरेका छन् । कहीँकतै अलिकता पनि तल–माथि हुन दिइएको छैन । बरु उनले यो परम्परालाई आधुनिकतामा ढाल्दै चित्रमा नयाँपनका साथ प्रस्तुत गरेका छन् । यसैले उनको कलालाई समसामयिक चित्र भन्नैपर्ने हुन्छ । उनले विशेष गरेर चित्रमा आकर्षक रङहरूको हल्का र बाक्लो टेक्चरको लेप लगाएर बाक्लो लेयर बनाउने गर्छन् । मोटो, खँदिलो टेक्चरले गर्दा पनि यस्ता चित्र अलग्ग देखिन्छन् । झट्ट हेर्दा उनका चित्रमा एउटा गति बगेर क्यानभासभरि छताछुल्ल पोखिएको देखिन्छ । यसैबाट कलामा अनौठो प्रभावको सिर्जना गर्नु उनको विशेष खुबी हो ।
रङको पारदर्शिता र हल्का फिक्का रेखाहरूलाई डिटेलमा नदेखाइनु उनको अर्को विशेषता हो । यसर्थ उनका चित्रहरू आकारमूलक हुँदाहुँदै पनि अमूर्त हुन्छन् । मधुरो र धमिलो तुँवालोले ढाकेको बस्तीझैँ देखापर्ने उनका यी चित्रमा टेक्चरहरूले बढी नै ढाक्दा स्वभावतः अलौकिक देखिन्छ ।
महायान र वज्रयानमा यी देवीलाई बोधिसत्त्वका रूपमा मानिन्छ । कतै–कतै यी विभिन्न देवी ताराहरूलाई फिमेल बुद्ध वा फिमेल बोधिसत्त्व पनि भन्ने गरिन्छ । बोधिसत्त्वको परिकल्पना आफैँमा ईसाको छैटौँ शताब्दीदेखि प्रचलनमा आएको हो भनिन्छ ।
मीना कायस्थ अलग्ग पाराका मूर्ति बनाउने समसामयिक मूर्तिकार हुन् । जंक आर्टमा उनको विशेष दक्खल छ । उनी फालिएका विभिन्न सरसामान (विशेष गरेर मेटलका सामान) लिएर काम गर्ने गर्छिन् । फालिएका मेटलका सामग्रीलाई जोडजाड गर्दै कला बनाउने हुँदा उनलाई एसेम्बल आर्टिस्टका रूपमा पनि हेर्ने गरिन्छ ।
यसपल्ट उनका तीनवटा मूर्ति प्रदर्शन गरियो— सत्य गुण, रजस गुण र तमस–गुण नामक । मूर्तिहरू भित्तामा झुन्ड्याइएका थिए । खेर गएका काम नलाग्ने भनी फालिएका सामान (जस्तै : सिरामिक प्लेट, ढोकाको ह्यान्डिल, फलामको पाता, मोटरसाइकलका अनेक पाटपुर्जा) लाई प्रयोग गरी खाइलाग्दो मूर्ति बनाएको देखिन्छ । रङ र आकारले सत्त्व गुण, रजस गुण अनि तमस गुणलाई अथ्र्याउनु पनि गजब देखिन्छ ।
सुदीप वल्ला अर्का चाखलाग्दा कलाकार हुन् । यसपल्ट उनले ऐनालाई कलाको पृष्ठभूमिका रूपमा प्रयोग गरेका छन् । ‘ह्वाट अ वन्डरफुल वल्र्ड मिरर’ नामक उनको काम अनौठो रूपमा दृश्यावलोकन हुन्छ ।
यस्तै ‘महाङ्काल’ नामक चित्र स्क्रिन प्रिन्ट माध्यमबाट फरक ढंगले देखापरेको छ, जो लक्ष्मण कर्माचार्यको काम हो । मिथकलाई नितान्त अत्याधुनिक पाराले प्रस्तुत गर्नु उनको यसपटकको कलाको विशेषता बन्न गएको छ ।

नारायण बोजुको ‘फ्लोटिङ होप्स’ नामक काम रहरलाग्दो संरचनामा देखापरेको छ । सडकमा गुडिरहेका गाडीहरू अनि कर्कलोका ठुल्ठुला पात मिलेमतोमा बसेका देखिन्छन्, जुन कला संयोजनको थप आकर्षण पनि हो । चित्रपटमा खैरा रङहरूको पृष्ठभूमि छ । यसैमाथि कमलो हरिया रङहरू चारैतिर ढाकेर बसिदिएका छन्, जसले चित्रलाई थोरै रहस्यमयी बनाएको छ । खोजी पस्नेका लागि यो चित्र अलौकिक पनि छ । दर्केर परिरहेको पानीले आहाल बनिदिँदा काठमाडौँ सडकबिचमा जामजस्तो देखिन्छ, सयकडौँ चिल्ला गाडीहरू ठेलमठेल छन्, एक किसिमले यो चित्र सन्तुलन गुमाएको बस्तीजस्तो पनि देखिन्छ । आहालमाथि तैरिरहेका वस्तुहरु देखिनु समग्रमा आशा तैरिरहेको परिदृश्य हो । आम नेपाली मान्छेका आशा यसरी नै कल्पनामा तैरिरहनु आजको अवस्थाको प्रतिविम्ब पनि हो । गाडीहरूको जाम देखिनुले दशकौँदेखि जड भई जमिरहेको दिमागको जामलाई दर्शाएझैँ लाग्छ । उनको यो अनौठो परिकल्पनाले धेरै कुराको वकालत गरिरहेको भान हुन्छ ।
सिर्जन उलुकले आफ्नो चित्रमा देवी महाकालीलाई अनौठो संरचनामा ढालेका छन् । मिक्स मिडिया अपनाएर बनाइएको उनको यो काम मूलतः कोलाज हो । रञ्जना लिपिको भाव र स्वरूप देखाउने अक्षरहरूका भिडमा देवी महाकाली मुकुण्डोको स्वरूपमा देखिन्छिन् । राति मनाइने जात्रा अनि यसैमा गाँसिदै देखापर्ने परम्परागत नृत्य कलाका अनुपम प्रतिविम्बलाई यस चित्रमा ल्याइएको छ । उनको यस चित्रमा फोटोग्राफी र रङहरूलाई गजबले समायोजन गरिएको छ ।
यस्तै प्रकारले ‘पेन एन्ड इन्क’ले बनेको यथार्थवादी चित्रका रूपमा दृश्यचित्र पनि छन् । जहाँ भक्तपुरको मौलिक वास्तुकलालाई छर्लङ्गै देखाउने जमर्को गरिएको छ ।
‘इट्स फन’ नामक रोशन सोखाको काममा मुखाकृति चम्किलो वर्गाकारमा देखापरेको छ, जो अनौठो कलागत संरचनामा तयार भएको चित्र हो । यस्तै रविता किसिले आफ्नो क्यानभासमा फूल र पातहरूको संयोजन गरेकी छन् । फूल र पातले चित्रपटलाई पूरै ढाके पनि यो स्वभावतः यथार्थभन्दा निकै पर देखिन्छ । उनी प्रिन्ट मेकिङ कलामा क्रियाशील युवा महिला कलाकारका रूपमा चिनिन्छन् । उनले किसिम–किसिमका यस्ता यस्तै प्रिन्ट मेकिङका काम दर्जनौँपल्ट प्रदर्शनमा ल्याइसकेकी छन् ।
ट्रिपटिकमा (तीनवटा क्यानभास जोडेर बनाइएको चित्रपट) बनेको निरोज बाडेको चित्र अलग्ग पाराको देखिन्छ । निलो, रातो, हल्का हरियो समिश्रणमा बनेको योे ‘चेन्ज’ नामक चित्रमा परिवर्तनको वकालत र अपेक्षा गरिएको छ । ‘भैरव एन्ड हर इन्नोभेसन’ नामक चित्रमा मनीषले रिस, आवेग र असन्तुष्टता बोकेकी महिलालाई देखाइएका छन् ।

बालकृष्णको ‘ब्रह्म–विष्णु–महेश्वर’ नामक चित्र गोलाकार क्यानभासमा प्रस्तुत छ । जात्रा आदिमा धारण गर्ने मुकुण्डो प्रतीकात्मक विम्बका रूपमा उनको चित्रमा आएको छ । मान्छे आफैँले मुकुण्डो लगाई प्रतीकात्मक विम्बका रूपमा देव–देवीको धार्मिक नाच नाचिने गजबको संस्कार भक्तपुरमा छ । यसैको विम्ब यो चित्रले बोकेको देखिन्छ । यी र यस्ता मिथकलाई आजको कलामा समिश्रण गर्नु सुन्दर पक्ष हो ।
सुरजले काठको माध्यमबाट ‘बाजा–गाजा’ नामक मूर्ति बनाएका छन् । उनले मूर्ति देवी–देवताका मूर्तिलाई सुनौलो रूपमा प्रस्तुत गरेका छन् । यी मूर्तिलाई भित्तामा मिलाएर झुन्ड्याइएको छ, जुन एक तमासको लाग्छ । प्रीतिले ‘कन्टिन्यु स्पेस’ नामक काम प्रस्तुत गरेकी थिइन् । उनले बनाएका सिरामिक (माटो)का बक्सा, झोला अनि टम्म भरिएका बोरा पनि वास्तविक लाग्छन् ।

कबिरको ‘मिगहाइटेस्ट’ नामक चित्र कल्पनाशील कलाको रूपमा देखापरेको छ । गोचे माध्यममा बनाइएको यो चित्रमा नेपाली परम्परागत कलामा महत्त्वपूर्ण पात्रहरूको प्रयोग गरिने शार्दूल, सिंह, हात्तीलाई देखाइएको छ । शार्दूललाई सिंहले बोकेको, सिंहलाई हात्तीले अनि हात्तीलाई एउटा मान्छेले काँधमा बोकेर बसेको अनौठो चित्र उनले बनाएका छन् । नेपाली परम्परागत चित्रमा पनि यस्ता फेन्टासीलाई प्रयोग गरेको देखिन्छ ।
जुगलले अनेकानेक ज्यामितीय रूपलाई श्यामश्वैत रेखामा समेट्ने प्रयत्न गरेका छन् । यस्तै पूजनले श्यामश्वैत रङमा मूर्त तर अमूर्त कला प्रस्तुत गरेका छन्, जो आफैँमा अनौठो संयोजनमा देखिन्छ । यो उनको प्रिन्ट मेकिङ काम हो ।
अञ्जिलाले ‘पेन एन्ड इन्क’ माध्यमबाट ‘एभ्रिथिङ’ नामक चित्र बनाएकी छन् । चित्रमा मुर्कट्टाको टाउकोदेखि हातखुट्टाको स–साना थुप्रै रूप समेटेर अमूर्तताको स्वरूप निर्माण गर्नु उनको ध्येय देखिन्छ ।
यस प्रदर्शनीमा अन्य सामान्य चित्रहरू दृश्यचित्रहरूका रूपमा देखिएका थिए । शारदाले ‘हेलो गाईजात्रा’ नामक फेन्टासी चित्र बनाएकी छन् । जहाँ अग्रभागमा चार्ली च्याप्लिन देखिन्छन् भने पृष्ठभूमिमा नाटकीय ढंगबाट मुकुण्डोको रेखाङ्कन गरिएको छ ।
विकासले सर्पहरु च्याप्दै गरेको परम्परागत आइकन गरुडलाई अचम्मलाग्दो किसिमबाट प्रस्तुत गरेका छन् । यी र यस्तायस्तै काम र चित्रकलाले भरिएको यो कला प्रदर्शनीमा कलाका विविध पक्ष अवलोकन गर्न सकिन्थ्यो ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण