शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अमला रोकाको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखियाे

आइतबार, ०८ असार २०८२, २१ : ०५
आइतबार, ०८ असार २०८२

काठमाडौँ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोका विरुद्ध आइतबार भएको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएकाे छ । रोकाको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा परेको थियो ।

सुन प्रकरणमा फरार प्रतिवादी रहेकी रोक शुक्रवार टोखा नगरपालिका–३ स्थित सुर्यदर्शन हाइटबाट पक्राउ परेकी हुन् । थुनछेक बहस नसकिएपछि उनलाई सीआईबीको हिरासतमा फिर्ता गरिएको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको ६० किलो सुन प्रकरणमा उनका श्रीमान्  बेल्जियन नागरिक दावा छिरिङ पुर्पक्षका लागी थुनामा छन् ।

२०८० साउनमा दोस्रो साता छिरिङ पक्राउ परेपछि अमला रोका फरार भइन् ।रोल्पा घर भएकी अमला  ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

अमला माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुन ‘अनन्त’ सँग निकट छिन् । रोल्पा–काठमाडौँ सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष भएर काम गरेकी अमला र अनन्तको बिचमा ‘पारिवारिक सम्बन्ध’ रहेको सो पार्टीका कार्यकर्ताहरू बताउँछन् ।

२०८० भदौमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अमलालाई फरार प्रतिवादी बनाएर अदालतमा सुन तस्करीको मुद्दा दायर गरेको थियो ।उनी ठमेल स्थित ‘होटल भियना’को सञ्चालिका पनि हुन् । अमला पतिकै कारण सुन तस्करीमा जोडिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

दावाले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । दावा अहिले सुन प्रकरणमा थुनामा छन् ।अमला विरुद्ध २०८० माघ २४ मा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले डिफ्युजन नोटिस जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप