शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

यी नदीमा पानीको बहाव उल्लेख्य बढ्ने, दर्जनौँ जिल्लामा आकस्मिक बाढीको जोखिम

आइतबार, १५ असार २०८२, ०९ : ४६
आइतबार, १५ असार २०८२

सारांश

  • जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका नदीहरूमा पानीको बहाव बढ्ने पूर्वानुमान गरेको छ।
  • कर्णाली, महाकाली र नारायणी बेसिनका नदीहरूमा बहाव बढ्ने र पहाडी क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
  • विभागले तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन, यात्रा गर्दा होसियारी अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आजदेखि आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। 

विशेषगरी कर्णाली, महाकाली र नारायणी बेसिनका नदीहरूमा बहाव बढ्ने तथा पहाडी क्षेत्रका दर्जनौँ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आज  बिहान जारी गरेको बुलेटिनअनुसार आज बिहानको मापनमा प्रमुख नदीहरूको जलस्तर सतर्कता तहभन्दा तलै रहे पनि कर्णाली, पश्चिम सेती र महाकालीमा बहाव बढ्दो क्रममा रहेको छ।

कर्णाली र महाकालीमा तीन दिनसम्मै जोखिम
महाशाखाका अनुसार कर्णाली र महाकाली नदी तथा त्यसका सहायक नदीहरूमा आज, भोलि र पर्सि (असार १५, १६ र १७ गते) तीनै दिन बहाव उल्लेख्य बढ्ने छ। महाकालीको पारिगाउँ र कर्णालीको चिसापानीसहितका जलमापन केन्द्रमा जलस्तर निरन्तर बढ्ने देखिएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन सुझाइएको छ।

त्यसैगरी, आज नारायणी नदी र यसका सहायक नदीहरू त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा पनि बहाव उल्लेख्य रूपमा बढ्नेछ। यद्यपि, भोलिदेखि यी नदीहरूमा बहाव सामान्य हुने पूर्वानुमान छ। कोशी बेसिनका सप्तकोशी, अरुण, तमोर, सुनकोशी लगायतका नदीहरूमा भने बहाव सामान्य रूपमा मात्र बढ्ने देखिएको छ।

धेरै जिल्लामा आकस्मिक बाढीको चेतावनी

महाशाखाले आजका लागि ससाना नदीहरूमा बाढीको विशेष चेतावनी जारी गरेको छ। कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुलाका साथै काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्लाहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

यसैगरी, पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रे, अर्घाखाँची, रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, डडेलधुरा र बझाङका केही ससाना नदीमा पनि बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान छ।

महाशाखाले नदीतटीय क्षेत्र तथा बाढीको जोखिम रहेका जिल्लाका बासिन्दालाई विशेष सावधानी अपनाउन, यात्रा गर्दा होसियारी रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।

508681976_732343382637843_3961091381283698525_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप