बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ब्याजदर नबढाएका बैंकलाई निक्षेप जोगाउनै गाह्रो : पुरानो सहमति भोलि ब्युँतने सम्भावना

बुधबार, ०६ असार २०७५, १७ : ०२
बुधबार, ०६ असार २०७५

काठमाडौँ । केही साता अघि खुला बजारलाई नै ब्याजदर निर्धारण गर्न छोडिदिने सहमतिका कारण बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेपछि बैंकर्स एसोसिएसले फेरि पुरानो सहमतिलाई ब्युँताउने देखिएको छ  । 
ब्याजदर बढेर निक्षेपमा नै झण्डै १४ प्रतिशत पुगेकाले ब्याजदर बढाउन नचाहने बैंकहरुलाई अहिले निक्षेपको अभाव हुन थालेको एक बैंकरले गुनासो गरे । ती बैंकरले दुई चार वटा बैंकले ब्याजदर बढाएपछि आफूहरुलाई निक्षेप जोगाउनै हम्मे हम्मे परेको बताए ।  

ती बैंकरका अनुसार सम्भवतः पुरानो सहमति भोली ब्युँताउने गरी बैंकर्सहरुबीच छलफल भएको पनि बताए । उनका अनुसार भोलि (बिहिबार) नै बैंकर्सहरुबीचको पुरानो सहमति ब्युतने सम्भावना छ । 

बैंकर्सहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत र साधारण निक्षेपमा ८ प्रतिशत भन्दा माथि नजाने सहमति केही साता अघि तोडेका हुन् । फेरी ८ र ११ प्रतिशतको सहमति ब्युँताउन बैंकरहरु बीच नै लबिङ चलेको छ । केही बैंकर भने ब्याजदर खुला बजारलाई छोडिदिनुपर्ने बताउँदै आएका छन् । 

अहिले पुराना बैंकहरुको साधारण बचत र मुद्दति निक्षेपमै ठूलो ग्याप भएकाले त्यसको असर नयाँ बैंकहरुमा परेको भन्दै अर्का एक बैंकर्सले नाम नखुलाउने शर्तमा भने, ‘हाम्रो नियामक नै बलियो भएन ।

एक बैंकको साधारण बचतमा ३ प्रतिशत र मुद्दतीमा ११ प्रतिशत छ तपाई नै बिचार गर्नुस् त कति धेरै ग्याप छ साधारण बचत र मुद्दति निक्षेपमा ।

राष्ट्र बैंकले यसमा अब क्याप लगाउनु पर्छ । हाम्रो जस्तो अर्थतन्त्र भएको देशमा ब्याजदर खुला बजारलाई छोडिदिँदा असर गर्छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ब्याजदरलाई सम्बोधन गर्नुपर्छ ।’ 

बिग मर्जर र ब्याजदरमा क्यापले नै समस्या समाधान नहुने हो भने बैकिङ सिस्टमले धान्नै नसक्ने गरी अराजकता फैलने अर्का बैंकर बताउँछन् ।

ती बैंकरले गर्भनरको कुरा उद्धृत गर्दै भने, ‘गर्भनरसँग हामीले कुरा गर्दा  ब्याजदरमा सीमा लगायो भने खुला बजार नीतिलाई माइक्रो म्यानेज गर्यो भन्छन् । राष्ट्र बैंकले ब्याजको सीमा तोकिदिन मिल्दैन भन्नुभयो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप