बागलुङमा पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा
सारांश
- बागलुङमा यस वर्ष बाढी पहिरोको जोखिममा ५,८७२ घरधुरी रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
- निसीखोला गाउँपालिकामा सबैभन्दा बढी घर पहिरोको जोखिममा रहेका छन्, जसले बस्ती स्थानान्तरणको आवश्यकता औंल्याएको छ।
- विपद् व्यवस्थापनका लागि पूर्वतयारीका साथै, प्रभावितका लागि ३० लाखको कोष स्थापना गरिएको छ र उद्धार सामग्री हस्तान्तरण गरिएको छ।
बागलुङ । बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सचेत गराउँदै आएको हो ।
यस वर्षको मनसुनमा जिल्लाभर पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा छन् । जोखिममा रहेका बस्ती तथा घरमा बस्दा सहजकता अपनाउन विपद् व्यवस्थापन समितिले सुझाव दिएको छ ।
यहाँका अधिकांश बस्ती खोला किनार र भिरालो जमिनमा रहेकाले वर्षातको समयमा बाढी पहिरोको जोखिममा पर्ने गरेका छन् । जिल्लामा सबैभन्दा बढी निसीखोला गाउँपालिकाका जोखिममा छन् । यस पालिकामा दुई हजार ४३८ घर बाढी पहिरोको जोखिममा रहेका समितिले जनाएको छ । सबैभन्दा कम जोखिमयुक्त घर जैमिनी नगरपालिकामा छन् । जैमिनीमा १६ घर जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार बागलुङ नगरपालिकामा एक हजार ५५४, ढोरपाटन नगरपालिकामा ३९०, गलकोट नगरपालिकामा १२५, बरेङ गाउँपालिकामा २१०, बडिगाड गाउँपालिकामा १६०, तमानखोला गाउँपालिकामा ११५, ताराखोला गाउँपालिकामा १४४ र काठेखोला गाउँपालिकामा ७२० घर बाढी पहिरोको जोखिममा परेका हुन् । घरसँगै विद्यालय, सिँचाइ, कुलो, विद्युत् गृह, सयौँ रोपनी खेतीयोग्य जमिन जोखिममा रहेका छन् ।
उनले भने, “वर्षातको समय छ, जोखिम रहेका घर तथा बस्तीमा जतिबेला पनि बाढी पहिरोले बगाउन सक्छ, सबै नागरिक सचेत हुन जरुरी छ, हामीले पनि सबै नागरिकलाई सचेत हुनका लागि आग्रह गरेका छौँ, जोखिम मोलेर बस्नु हुँदैन भनेका छौँ, वर्षा हुँदा सुरक्षित स्थानमा गएर बस्नुको विकल्प हुँदैन, विगतमा बाढी पहिरोबाट धेरैले ज्यान गुमाउनुभएको छ ।”
निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले वडा नं १ को हुल्दी क्षेत्रमा सबैभन्दा बढी घर पहिरोको जोखिममा रहेका जनाउँदै बस्ती अन्यत्र सार्नुपर्ने अवस्था रहेको बताए । एकीकृत बस्ती निर्माण गरेर स्थानीयलाई पुनःस्थापित गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने उनको भनाइ छ ।
विपद् व्यवस्थापनका लागि पूर्वतयारीका गरिरहेको भन्दै राहत र उद्धारका लागि ‘विपद् व्यवस्थापन कोष’ बनाइएको पुनमगरले जानकारी दिए । “निसीखोलाको अधिकांश ठाउँ र सयौँ घर जोखिममा छन् । पालिकाको सीमित स्रोतसाधनले बस्ती स्थानान्तरण नभ्याउने हुँदा माथिल्लो तहका सरकारसँग सहकार्य गर्नुपर्छ”, उनले भने, “अहिले विपद्बाट नागरिकलाई जोगाउन सचेतना फैलाउने काम भइरहेको छ । त्योबाहेक विपद्मा परेकालाई राहत तथा पुनःस्थापनाका लागि रु ३० लाखको कोष बनाएका छौँ, उद्धारलाई प्रभावकारी बनाउन निसीखोलाका तीनवटै चौकीलाई उद्धार सामग्री हस्तान्तरण गरेका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण