शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पर्सामा गाडिएका डीप बोरिङमा व्यापक अनियमितता भएको वडाध्यक्षहरूको आशंका

दुई दिनभित्र हिसाब नदिए कडा एक्सनमा उत्रिने चेतावनी
आइतबार, २५ साउन २०८२, २० : ०५
आइतबार, २५ साउन २०८२

सारांश

  • वीरगन्जमा खानेपानी आपूर्तिका लागि डीप बोरिङमा अनियमितता भएको भन्दै एमालेका वडाध्यक्षहरूले सीडीओको ध्यानाकर्षण गराएका छन्।
  • वडाध्यक्षहरूले डीप बोरिङको लगत उपलब्ध नगराएको र समन्वय बिना काम गरेको गुनासो गर्दै दुई दिनभित्र हरहिसाब माग गरेका छन्।
  • हरहिसाब नदिए पार्टीगत निर्णय गरेर कडा एक्सनमा उत्रिने र कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिइएको छ।

वीरगन्ज । जलसंकटको बेला खानेपानी आपूर्तिका लागि गाडिएको डीप बोरिङमा भयङ्कर अनियमितता भएको भन्दै एमालेबाट निर्वाचित वडाध्यक्षहरूले पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को ध्यानाकर्षण गराएका छन् । 

आइतबार एमाले महानगरका इन्चार्ज एवम् मधेस प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादवको नेतृत्वको टोलीले सीडीओ गणेश अर्यालयको ध्यानाकर्षण गराएको हो । 

महानगरमा गाडिएका डीप बोरिङहरूको लगत उपलब्ध नगराइएको, कुनै पनि ठाउँमा वडाअध्यक्षसँग समन्वय नगरी गाडिएकाले व्यापक अनियमितता भएको हुन सक्ने गुनासो आइरहेको उनीहरूको भनाइ छ । 

आठ जना वडाध्यक्षहरू सम्मिलित टोलीले सीडीओ अर्यालसँग भने, 'कुनै पनि ठाउँको स्टिमेट सार्वजनिक गरिएको छैन, माग्दा पनि कहीँबाट पाइरहेका छैनाैँ । तपाईं विपद् समितिको अध्यक्ष पनि हो, हामीलाई दुई दिनभित्र कहाँ कति खर्चमा डीप बोरिङ गाडियो, त्यसको हरहिसाब दिनुहोला ।’ 

दुई दिनभित्र हरहिसाब नदिए पार्टीगत निर्णय गरेर आफूहरू कडा एक्सनमा उत्रिने पनि सीडीओसमक्ष चेतावनी दिइएको यादवले जानकारी दिए । 

सूचना उपलब्ध नगराए लिखित रूपमा माग्ने र त्यसपछि पनि उपलब्ध नगराए खानेपानीको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिइएको टोलीमा सहभागी वडाध्यक्ष रामकिशोर सिंह (पराग) ले बताए । भने, ‘अहिले सरकारी पैसा कार्यकर्ताको घर अगाडि खन्याउने काम भइरहेको छ, कसैसँग समन्वय नगरी आवश्यकताविनै डीप बोरिङ गाडिँदैछ । त्यही भएर हामीले सीडीओको ध्यानाकर्षण गराएका हौँ ।’ 

सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपछि धमाधम डीप बोरिङ गाड्ने काम भइरहेको छ । जनताको आवश्यकता पूरा गर्ने महानगरसहित संघीय खानेपानी मन्त्रालयले वडा कार्यालयसँग समन्वय नगरी मनपरी गाडिरहेको आरोप लागिरहेको छ । 

ध्यानाकर्षण टोलीमा सुरेश साह कानु, रामकिशोर सिंह (पराग), प्रदीप चौरसिया, अवधकिशोर कुशवाहा, जितेन्द्र यादव, सञ्जु क्षतकुली, विजय कुर्मी, हिरा गिरीलगायतको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप