कहिले खुल्छ दसैँका लागि अग्रिम टिकट बुकिङ ?
काठमाडौँ । जेनजीको आन्दोलनका कारण ५ दिनदेखि ठप्प सार्वजनिक यातायात शनिबार बिहानदेखि सञ्चालनमा आएका छन् । मंगलबारदेखि बन्द गरेको सार्वजनिक यातायात व्यवसायीहरूले स्थानीय सरकारसँगको समन्वयमा शनिबारबाट सञ्चालन गरेको जनाएको हो ।
देशको वर्तमान परिस्थिति सामान्य बनेसँगै स्थानीय सरकारसँगको समन्वयमा यातायात सञ्चालन गरिएको व्यवसायीहरूको भनाइ छ । अहिले लामो र छोटो दुरीका सवारी साधन सञ्चालनमा आइसकेका छन् । जसले यात्रुहरूलाई आवतजावत गर्न सहज भएको छ ।
यताऽ दसैँ पनि नजिकिएको छ । दसैँमा काठमाडौँ उपत्यकाबाट ठुलो संख्यामा यात्रुहरू बाहिरिने गर्छन् । यस बेला बाहिरिने यात्रुले टिकट नपाउने, दोब्बर भाडा तिरेर टिकट लिनुपर्ने अर्थात् टिकटका नाममा ठगी हुने, उभिएर यात्रा गर्नुपर्ने समस्या यात्रुले बर्सेनि झेल्दै आएका छन् । यात्रुका समस्यालाई मध्यनजर गर्दै सरकारले अग्रिम टिकट बुकिङ खुलाउँदै आएको छ । तर यो वर्ष भने अग्रिम टिकट बुकिङ खुला गर्न ढिला भएको छ । अबको सात दिनपछि दसैँ सुरु हुन्छ ।
गत वर्षको दसैँका लागि घटस्थापनाको ५ दिन अघि टिकट बुकिङ खुला गरिएको थियो । तर बाढी पहिरोका कारण सडक यातायात प्रभावित नै बनेको थियो । यो वर्ष भने एक साता अघि नै खुलाउने भनिएको थियो ।
यातायात व्यवस्था विभागले पनि टिकट बुकिङ खुलाउन ढिलाइ भएको स्वीकार गरेको छ । विभागका निर्देशक श्रीकान्त यादवका अनुसार विभागले गत सोमबार टिकट बुकिङ खुलाउनका लागि सरोकारवालासँग छलफल गर्ने मिति तय गरेको थियो । तर जेनजीको आन्दोलनका कारण छलफल हुन नसक्दा ढिलाइ भएको बताए ।
आइतबार सम्बन्धित सरोकारवालाहरूसँग बसेर टिकट बुकिङ खुला गर्नेबारे छलफल गर्ने तयारी भएको निर्देशक यादवले रातोपाटीसँग भने, ‘टिकट बुकिङ खुला गर्नका लागि यसअघि भदौ २४ गते सरोकारवालासँग छलफल गर्ने तय भएको थियो । तर देशको विषम परिस्थितिका कारण हुन सकेन । अब यही आइतबार छलफल गर्ने तयारी छ ।’ साथै टिकट बुकिङ खुला गर्नका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी र सडक विभागसँग छलफल गरेपछि मात्र टुङ्गो लाग्ने उनको भनाइ छ ।
यसै गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय बहादुर स्वाँरका अनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवालाहरूलाई आइतबार बैठक आह्वान गरेको छ । यस बैठकले दसैँका लागि टिकट बुकिङ कहिलेदेखि खुला गर्ने भन्नेबारे छलफल गर्नेछ ।
अध्यक्ष स्वाँरले पनि यसअघि भदौ २४ गतेका लागि तय भएको बैठक आन्दोलनका कारण स्थगित भएको जानकारी दिए । अध्यक्ष स्वाँरले भने, ‘अब भोलि (आइतबार ) यातायात मन्त्रालयमा सबै सरोकारवाला निकायका प्रतिनिधिहरू, जसमा यातायात सचिवज्यू यातायात व्यवस्था विभागका महानिर्देशकलगायतको उपस्थितिमा अनौपचारिक छलफल गरिनेछ । यस छलफलपछि औपचारिक निर्णय हुन्छ ।’
अहिलेदेखि मानिसहरू दसैँका उपत्यका छोड्न थालिसकेको बताए । लागि यातायात नियमित सञ्चालनमा आउनेछन् । विगतमा घटस्थापनाभन्दा करिब एक हप्ताअघि अग्रिम टिकट बुकिङ खुल्ने गरेको थियो । यस वर्ष पनि सोहीअनुसार हुने सम्भावना रहेको अध्यक्ष स्वाँरले बताए ।
साथै टिकट बुकिङ भौतिक (काउन्टरबाट) र अनलाइन दुवै माध्यमबाट उपलब्ध हुनेछ । यद्यपि, कहिलेदेखि बुकिङ खुल्छ भन्नेबारे भोलिको बैठकबाट मात्रै टुङ्गो लाग्ने उनको भनाइ छ ।
ट्राफिक प्रहरी, प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र मजदुरलगायत सबै सरोकारवालाको सहमतिमा मात्र अन्तिम निर्णय हुनेछ ।
स्वाँरले भने, ‘अहिले पनि वर्षा हुने क्रम जारी छ । सडकको अवस्था, सवारीको चाप र अन्य प्राविधिक पक्षबारे सरकारसँग बसेर सहकार्य नगरी चाडपर्वमा यातायात व्यवस्थापन गर्न सकिँदैन ।’ साथै सडकको अवस्था के कस्तो छ? त्यसबारे बुझेर मात्र टिकट बुकिङ खुला गरिने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण