आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

युएनमा आफूमाथि भएको षडयन्त्रको छानबिन गर्न ट्रम्पको माग

बिहीबार, ०९ असोज २०८२, ११ : ३९
बिहीबार, ०९ असोज २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघमा तीन वटा शंकास्पद घटनाहरूको शिकार भएको बताए ।
  • ट्रम्पले संगठनको आलोचना गर्दै रुस-युक्रेन युद्ध र आप्रवासी नीतिको बारेमा पनि टिप्पणी गरे ।
  • ट्रम्पले आफूविरुद्ध षड्यन्त्र भएको दाबी गर्दै घटनाहरूको अनुसन्धानको माग गरे ।

वासिङ्टन डीसी । संयुक्त राष्ट्रसङ्घमा मंगलबार आफू तीन वटा शंकास्पद घटनाहरूको शिकार भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । गोप्य सेवाले यी घटनाहरूको अनुसन्धान गर्ने उनले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाको बैठकमा सहभागी हुन ट्रम्प त्यहाँ पुगेका थिए । यसक्रममा उनले संगठनको आलोचना गर्दै यसले आफ्नो पूर्ण क्षमता उपयोग गर्न नसकेको बताए । रुस–युक्रेन युद्धमा अमेरिकाको सहयोगीहरू युरोपेली देशका भूमिका र आप्रवासीहरूलाई स्वीकार गर्ने उनीहरूको तरिकाको पनि उनले आलोचना गरे । बैठकमा उनले विश्व नेताहरूलाई देशहरू पतनतर्फ अघि बढिरहेको बताए ।

संयुक्त राष्ट्र सङ्घमा तीन वटा अशुभ घटनाका कारण आफ्नो मुड निकै खराब भएको पनि आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा ट्रम्पले सङ्केत गरेका छन् । यी घटनालाई उनले आफूविरुद्ध षड्यन्त्रको अंशको रूपमा वर्णन गरेका छन् ।  ट्रम्प र उनका साथीहरू एस्केलेटरमा गइरहँदा यो अचानक बन्द हुनुलाई उनले षड्यन्त्र भनेका छन् । 

यस्तो कार्य गर्नेलाई पक्राउ गर्नुपर्ने ट्रम्पले भनेका छन् । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले अमेरिकी प्रतिनिधिमण्डलका एक भिडियोग्राफरले गल्तीले एस्केलेटर माथि रहेको स्टप मेकानिजम सक्रिय गरेको हुनसक्ने बताए ।  

ट्रम्पले संयुक्त राष्ट्र सङ्घमा भाषण दिइरहेका बेला टेलिप्रम्प्टरले अचानक काम गर्न छाड्यो । संयुक्त राष्ट्र सङ्घका एक अधिकारीले नाम नछाप्ने शर्तमा यो दाबीलाई विरोधाभास भनेका छन् । टेलिप्रम्प्टर संयुक्त राष्ट्रसंघले नभएर ह्वाइट हाउसले नै सञ्चालन गर्ने उनको भनाइ थियो । 

तेस्रो घटनामा आफूले भाषण दिँदै गर्दा उनको माइक्रोफोनले राम्रोसँग काम नगरिरहेको अनि उनले बोलेको शब्दहरू कानमा अनुवादक लगाएका मानिसहरूले मात्रै सुनिरहेको ट्रम्पको दाबी थियो । 

आफ्नी श्रीमती मेलानियाले पनि बुढाको भाषण स्पष्ट रूपमा सुन्न नसकेको बताएको पनि ट्रम्पले भनेका छन् । यो सबै संयोग नभएको उनको तर्क थियो । यी विषयमा अनुसन्धानको लागि ट्रम्पले माग गरेका छन् । 

अनुसन्धानमा गोप्य सेवा संलग्न हुने भन्दै उनले एस्केलेटर रोकिएको फुटेज सुरक्षित राख्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघमा एस्केलेटर रोकिएका घटनाहरू सामान्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप