काठमाडौँ। बूढानीलकण्ठको एउटा सानो भाडाको कोठा, जहाँ एक कुनामा भान्छा छ भने अर्को कुनामा पलङ। पलङ नजिकैको दराजमा डेढ वर्षअघि बितेकी श्रीमतीको तस्बिरहरू छन्।
-copy_454IXVN33I.jpg)
यो कोठा कुस्मा, पर्वतका ३१ वर्षीय अनिल परियारको हो, जो भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर पनि बाँचेका छन्।
_JXIMWWn7jX.jpg)
सिलाइकटाई पेसामा प्रायः व्यस्त रहने अनिललाई सुरुमा जेनजी आन्दोलन किन भएको थियो, यसको कारण र जेनजी को हुन् भन्नेबारे कुनै जानकारी थिएन। तर, भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोली लागेर साना विद्यार्थी भाइहरूको मृत्यु भएको क्रूरताले उनलाई आक्रोशित बनायो। यही रिसका कारण उनी २४ गतेको आन्दोलनमा सहभागी हुने निर्णय गरे।
-copy_NrmZwzT5jD.jpg)
आन्दोलनमा जान सवारी साधन नभएपछि उनी नजिकै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरतिर अगाडि बढेको एक समूहमा सामेल भए। आन्दोलनकै क्रममा प्रहरीको गोली चल्यो। गोली अनिलको देब्रे कोखामा लागेर पछाडिबाट बाहिर निस्कियो । उनी अचेत भए।
-copy_oGx0VYd87l.jpg)
करिब डेढ वर्षअघि श्रीमती गुमाएका अनिलले दुःख, सुख मजदुरी गरेर कोठा भाडा तिर्ने र नौ वर्षीय छोरालाई शिक्षादीक्षा दिएर हुर्काउँदै आएका थिए। अहिले आफैं यस्तो अवस्थामा पुगेपछि दैनिक घर चलाउनसमेत उनलाई गाह्रो भएको छ।

भदौ २४ गते करिब ६ बजेतिर गोली लागेका उनी होसमा आउँदा शिक्षण अस्पताल, महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टको आईसीयू मा थिए। २५ गते बिहान करिब ३ बजेतिर होसमा आएका उनको मृत्यु भइसकेको खबर भने पहिले नै फैलिसकेको रहेछ।

अनिलकी भाउजू संगीता परियार लगायत आफन्त अस्पताल पुग्दा त्यहाँका कर्मचारीले ‘तपाईंको मान्छे हिजो साँझ अपरेसन गर्दा नै बितिसकेको’ खबर सुनाएका थिए। निराश हुँदै घर फर्केका उनीहरूलाई २५ गते बिहान ८:३० बजेतिर अस्पतालको नर्ससँग फोन मागेर अनिल आफैंले नै फोन गरी आफूलाई भर्खर आईसीयू बाट वार्डमा सारेको र अवस्था ठीक भएको जानकारी दिए।

गोलीले मुटुमा समेत असर गरेपछि उनको ओपन हर्ट सर्जरी गरिएको थियो। डा. अनिल भट्टराईले अस्पताल ल्याउन केही समय ढिला भएको भए अनिलको ज्यान जान सक्ने खतरा रहेको बताए। ‘हामीकहाँ ल्याउँदा अवस्था निकै क्रिटिकल थियो, गोलीका छर्राले मुटुमा समेत असर गरेकोले ढिला गरेको भए भाइको मृत्यु समेत हुन सक्थ्यो,’ डा. भट्टराईले भने।

चार दिन अस्पताल बसेपछि अनिल भदौ २९ गते डिस्चार्ज भएका छन्। भाउजू संगीता परियारको हेरचाहमा अहिले अनिलको स्वास्थ्यमा सुधार हुँदै आएको छ, तर गोलीका छर्राहरू उनको शरीरमा आजीवन रहने छन्। काम गरेर जीविकोपार्जन गर्ने अनिललाई अहिले कसरी घर चलाउने, छोराको पढाइ र पालनपोषण कसरी गर्ने भन्ने ठूलो चिन्ताले सताएको छ।
_eNbVTMJvo3.jpg)
नेपालमा अहिले अन्तरिम सरकारले काम कारबाही अगाडि बढाएको छ। जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नुका साथै आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गर्ने र आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि सरकारले गरिसकेको छ।
-copy_8sJ5MMxGSs.jpg)
तर, अनिल परियारजस्तै गोली लागेका र घाइते भएकाहरूको लागि सरकारले अहिलेसम्म कुनै ठोस निर्णय गर्न सकेको छैन। उचित सहयोग र सहायता नपाएको भन्दै घाइतेहरूले असोज ५ गते सिंहदरबार परिसरमा धर्ना समेत दिएका थिए।

अनिल निर्दोष विद्यार्थीको हत्या, देशमा भएको भ्रष्टाचार र नेपालीहरू विदेशिनु परेको अवस्थाबाट पिरोलिएका थिए। उनी केवल नयाँ नेपाल, परिवर्तन, र देशमै सहज तरिकाले बस्ने र काम गर्ने अवस्था आओस् भन्ने चाहन्छन्।


प्रतिक्रिया