मोबाइलमा आएको एउटा 'लिंक'ले रित्यायो सुजनको २५ लाख, दुई जनाविरुद्ध ठगी मुद्दा
सारांश
- मोबाइलमा आएको शंकास्पद लिंकमा क्लिक गर्दा सुजन खनालले २५ लाखभन्दा बढी गुमाएका छन् ।
- प्रहरीले आकाशकुमार पासवान र चन्देश्वर महतोविरुद्ध ठगी मुद्दा दायर गरेको छ, उनीहरू हाल फरार छन् ।
- दोषी पाइएमा आरोपितलाई ७ वर्षसम्म कैद र जरिवाना हुन सक्नेछ ।
काठमाडौँ । मोबाइलमा प्राप्त एक शङ्कास्पद लिंकमा क्लिक गरेपछि काठमाडौँका सुजन खनालले २५ लाख ४४ हजार १०० रुपैयाँ गुमाएका छन् । सो घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनाविरुद्ध अदालतमा अभियोग पत्र दायर गरेको छ ।
प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सप्तरीका २० वर्षीय आकाशकुमार पासवान र सिरहाका २३ वर्षीय चन्देश्वर महतोलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । उनीहरू हाल फरार रहेका छन् । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुरअन्तर्गत मुद्दा चलाइएको छ ।
दोषी ठहर भएमा उनीहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । साथै, पीडितलाई पूरा क्षतिपूर्ति भराउन समेत माग गरिएको छ । अदालतले फरार रहेका दुवै अभियुक्तलाई पक्राउ गर्न पुर्जी जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
खाताबाट यसरी गायब भयो रकम
गत २९ जेठ २०८२ मा पीडित खनालको मोबाइलमा 'THE_ALERT' नामबाट एउटा सन्देश (SMS) आएको थियो । जसमा लेखिएको थियो– "तपाईंको कनेक्ट आईपीएस खाता सुरक्षाका कारण रोक्का गरिएको छ, सुचारु गर्न यो लिंक (https://rb.gy/o4u15m) मा क्लिक गरी विवरण भर्नुहोस् ।"
उक्त सन्देशलाई आधिकारिक ठानेर खनालले लिंकमा क्लिक गरी आफ्ना बैंकिङ विवरणहरू प्रविष्ट गरे । पछि शङ्का लागेर उनले प्रक्रिया रद्द गरे पनि त्यतिन्जेल ह्याकरहरूले उनको 'कनेक्ट आईपीएस' मा अनधिकृत पहुँच बनाइसकेका थिए ।
खनाल राति सुतिरहेको बेला ह्याकरहरूले उनको दुईवटा बैंक खाताबाट रकम ट्रान्सफर गरे । राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकबाट आकाशकुमार पासवानको नेपाल एसबीआई बैंकको खातामा सुरुमा परीक्षणका लागि १०० र पछि पटक–पटक गरी ११ लाख ७४ हजार १०० रुपैयाँ पठाइयो ।
दोस्रो दिन जेठ ३१ को बिहान पुनः खनालको राष्ट्रिय वाणिज्य बैंकको खाताबाट चन्देश्वर महतोको लक्ष्मी सनराइज बैंकको खातामा १३ लाख ७० हजार रुपैयाँ सारियो । भोलिपल्ट बिहान मोबाइल खोल्दा मात्र खनालले आफ्नो खाताबाट कुल २५ लाख ४४ हजार १०० रुपैयाँ चोरी भएको पत्तो पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री तिमिल्सिना
-
हलेसीमा विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर हस्तान्तरण
-
धूमिलका तीन कविता
-
लेबनानमा शान्ति रक्षकको हत्या भएको घटनाको राष्ट्रसङ्घद्वारा निन्दा
-
राखेपका नवनियुक्त उपाध्यक्ष श्रेष्ठलाई नेपाल फुटबल खेलाडी सङ्घले दियो बधाई
-
समयको कठघरामा उभिएका स्वर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण