बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

चार दिनपछि खुल्यो 'हिट एन्ड रन' को रहस्य : टिपर चालक पक्राउ

बिहीबार, २८ जेठ २०८३, १४ : २९
बिहीबार, २८ जेठ २०८३

रौतहट  । रौतहटको गढीमाई नगरपालिका–४ गरुडा समनपुर सडकखण्ड अन्तर्गत सुन्दरपुर चोकमा साइकल यात्रीको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको रहस्य चार दिनपछि खुलेको छ । दुर्घटनापछि फरार रहेका टिपर चालकलाई प्रहरीले पक्राउ गरेसँगै घटनाको वास्तविकता बाहिर आएको हो।

गत जेठ २४ गते राति करिब १ बजे गढीमाई नगरपालिका–९ मलाही निवासी ३५ वर्षीय प्रमोद सहनीलाई प्रदेश–२–०३–००१ ख २६३३ नम्बरको टिपरले ठक्कर दिएको खुलेको हो। दुर्घटनामा  सहनीको घटनास्थलमै मृत्यु भएको थियो भने लगत्तै चालक सवारीसहित फरार भएका थिए।

घटनापछि आक्रोशित स्थानीयवासी र मृतकका आफन्तले दोषी चालक तथा सवारी साधनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै गौर–चन्द्रनिगाहपुर सडकसँग जोडिएको गरुडा बजार क्षेत्रको सहायक राजमार्ग अवरुद्ध गरी आन्दोलन गरेका थिए।

प्रहरीले एक साताभित्र दोषी चालक र सवारी साधनलाई नियन्त्रणमा लिने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको थियो।

यससँगै दुर्घटनाको अनुसन्धानलाई तीव्र बनाएको इलाका प्रहरी कार्यालय गरुडाले १९ वटा टिपर र १७ भन्दा बढी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। अनुसन्धानकै क्रममा बृन्दावन नगरपालिका–२ निवासी टिपर चालक २४ वर्षीय अब्दुल एजाज पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यले एजाजले प्रमोद सहनीलाई आफूले चलाएको टिपरले ठक्कर दिएको स्वीकार गरेका छन्।

प्रहरीका अनुसार एजाजले बृन्दावन नगरपालिकास्थित शिवम् क्रसर उद्योगबाट ढुङ्गा बोकेर गरुडातर्फ जाँदै गर्दा साइकलमा घर फर्किरहेका सहनीलाई ठक्कर दिएका थिए। 

पक्राउ परेका चालकविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप