शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सहकारीद्वारा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

शनिबार, ३० जेठ २०८३, ०३ : ५६
शनिबार, ३० जेठ २०८३

सारांश

  • चितवनको सहकारी सङ्घले विद्युतीय सवारी चार्ज गर्ने स्टेसन सञ्चालनमा ल्याएको छ।
  • यसमा रु एक करोड ५० लाख लगानीमा आठ गाडी एकसाथ चार्ज गर्न सकिनेछ।
  • विद्युतीय सवारीको प्रयोग बढेसँगै जिल्लामा चार्जिङ स्टेसन खुल्ने क्रम बढेको छ।

चितवन । जिल्ला सहकारी सङ्घ चितवनले साझा विद्युतीय सवारी साधन (इभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । पेट्रोल पम्प सञ्चालन गर्दै आएको सङ्घले चार वटा चार्जिङ उपकरणबाट आठ वटा गाडी चार्ज गर्ने गरी स्टेसन सञ्चालनमा ल्याएको हो ।

भरतपुर महानगरपालिका–१० मा रहेको आफ्नै परिसरमा चार्जिङ स्टेसन स्थापना गरिएको हो । सङ्घका व्यवस्थापक बिनोद खतिवडाका अनुसार रु एक करोड ५० लाखको लागतमा चार वटा सेन्टरमा आठ वटा गाडी एक पटकमा चार्ज गर्न सकिने गरी विद्युतीय चार्जिङ उपकरण जडान गरिएको हो । १२० किलोवाटको क्षमता भएका उपकरण जडान गरिएका छन् । उहाँका अनुसार यी सेन्टरबाट छिटो चार्ज गर्न सकिने छ ।

तोरीको तेल पेलेर बेच्दै आएको सङ्घले साझा पेट्रोल पम्प सञ्चालन गरेको थियो । डिजेल पेट्रोलमा दैनिक रु ४० लाखको कारोबार हुने गरेको र तोरीको तेल मासिक ६ हजार लिटर खपत हुँदै आएको छ । यससँगै सेवाग्राहीलाई सुविधा दिने उद्देश्यले चार्जिङ स्टेसन स्थापना गरिएको उहाँले बताउनुभयो । सङ्घले अहिले ३० जना कर्मचारीलाई प्रत्यक्ष रोजगार दिँदै आएको छ ।

विद्युतीय सवारीसाधन (इभी) को प्रयोगसँगै जिल्लामा चार्जिङ स्टेसन खुल्ने क्रम वढेको हो । नेपाल विद्युत् प्राधिकरणले भरतपुरको केन्द्रीय बसपार्कमा चार सवारीसाधनले एकै पटक चार्ज गर्न सक्ने गरी चार्जिङ स्टेसन स्थापना गरेको थियो । त्यसलगत्तै प्राधिकरणले मुग्लिङमा अर्को चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो । अहिले बसपार्कमा उपकरण थप गरी १२ पुर्‍याइएको छ । एउटाले काम गरेको छैन भने बाँकी ११ वटामा २२ वटा गाडी चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ । यसबाहेक निजीस्तरबाट व्यावसायिक रूपमा विभिन्न स्थानमा ३१ स्टेसन सञ्चालनमा आएका छन् ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर मिलन सापकोटाका अनुसार प्राधिकरणका दुई स्थानमा र निजी क्षेत्रका ३१ स्थानमा स्टेसन सञ्चालनमा ल्याइएको छ । यीबाहेक होटेल, रेस्टुरेन्टमा आफ्ना ग्राहकलाई सेवा दिने गरी चार्जिङ स्टेसन राख्नेहरू धेरै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप