कांग्रेस, एमाले, माओवादी सुध्रिँदैनन्, बालेन र हर्कहरू एक ठाउँमा आऊन्
सारांश
- लेखकले युवा पुस्ताको विद्रोहलाई समर्थन गर्दै सरकारले घाइतेको उपचार र शहीद परिवारलाई सहयोग गर्नुपर्ने बताए।
- उनले नयाँ शक्ति अभियानबाट पद त्याग गरे तर वैकल्पिक राजनीतिको लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।
- लेखकले भ्रष्ट नेताहरूको विरोध गर्दै युवा पुस्तालाई नयाँ र वैकल्पिक शक्ति निर्माण गर्न आह्वान गरे र बृहत गठबन्धनको आवश्यकता औंल्याए।
नेपालको राजनीति अहिले निर्णायक मोडमा पुगेको छ। गत भदौ २३ र २४ गते नयाँ पुस्ताका युवाहरूले आयोजना गरेको जेनजी विद्रोह नेपाली इतिहासमा लोकतान्त्रीकरणको अर्को महत्त्वपूर्ण कडी बनेको छ।
युवाहरूको महान् विद्रोहलाई मैले सुरुदेखि नै स्वागत, सम्मान र सक्दो सहयोग गर्ने प्रयत्न गरेको छु। तत्कालीन सरकारले गरेको दमनका कारण होनहार युवायुवतीहरू सहिद हुनुभयो, जसप्रति म हार्दिक श्रद्धा सुमन प्रकट गर्दछु। सयौँ घाइतेहरू अहिले पनि अस्पतालमा छटपटाइरहेका छन्, उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
अहिले बनेको सरकार आन्दोलनकारीहरूकै बलमा पुरानो सरकारलाई विस्थापित गरेर बनेको हो। त्यसैले यो सरकार आन्दोलनकारीहरूप्रति प्रतिबद्ध हुनुपर्छ र यसले घाइतेहरूको पूर्ण उपचारको व्यवस्था गर्नुपर्छ। शहीद परिवारहरूसँगको भेटमा उनीहरूको गुनासो छ— न्यूनतम सहयोगसमेत व्यवहारमा प्राप्त भएको छैन। परिवारहरूको भनाइ छ– बुवा गुमाएका बालबालिकाहरूको पढाइको व्यवस्था, घरका कम्तीमा एक जनालाई रोजगारी र घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गरिनुपर्छ। म यी मागसँग पूर्ण ऐक्यबद्ध छु।
- पदत्याग र नयाँ पुस्तालाई मार्गप्रशस्त
विगत १० वर्षदेखि नयाँ शक्ति अभियान मार्फत देशमा वैकल्पिक राजनीतिको लहर सिर्जना गर्ने पहल मैले गरेको थिएँ। अहिले विभिन्न उतारचढाव हुँदै त्यो विभिन्न धारमा अगाडि बढिरहेको छ। हिजोसम्म मैले नेतृत्व गरेको नेसपा अध्यक्ष पदबाट मैले हिजो पदत्याग गरेको छु।
यस सन्दर्भमा मलाई साथ दिनुहुने सबै साथीहरूलाई धन्यवाद दिँदै म स्पष्ट पार्न चाहन्छु— म कुनै आन्दोलनबाट अलग भएको होइन। नयाँ शक्ति र वैकल्पिक राजनीतिक अभियान देशलाई एउटा विकल्प निर्माण गर्ने अभियानमा म निरन्तर रहनेछु।
मैले पदत्याग गर्नुको मुख्य कारण नैतिक हिसाबले हो। युवाहरूले ढोका ढकढक्याइ सके। हाम्रो नाति पुस्ता, नातिनी पुस्ता अगाडि आइसक्यो। अब उनीहरूलाई हामीले प्रोत्साहन दिनुपर्छ र उनीहरूले यो देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता म राख्छु। यो विद्रोहको ठुलो ऐतिहासिक सकारात्मक पाटो भनेको नेपाली इतिहासलाई अब केही दशक अगाडि बढाउने नेतृत्व गर्ने नयाँ पुस्ता सङ्घर्षबाट दीक्षित भएको छ। त्यसैले उहाँहरूलाई प्रोत्साहन गर्न र नयाँ पुराना दलहरू सबैले आफूलाई कि त रूपान्तरित हुनुपर्छ कि त सच्चिनुपर्छ कि सकिनुपर्छ भन्ने अवस्था सिर्जना होस् भन्ने हेतुले मैले यो कदम चालेको हुँ। वैकल्पिक राजनीति अभियन्ताहरूले पनि नयाँ पुस्तालाई अगाडि सार्ने प्रयत्न गर्नुपर्छ।
विवेकशील साझा, स्वतन्त्र अभियान, बालेन, हर्क लगायतकाहरू र जेनजी पुस्ता— यी सबै शक्तिहरू अगाडि आउन र उनीहरूका लागि हाम्रो जस्ता पुस्ताले बेलैमा मार्गप्रशस्त गरिदिनुपर्छ भन्ने सन्देश जाओस् भन्ने ढङ्गले मैले यो कदम चालेको हुँ।
- भ्रष्ट 'तीन टाउका' विरुद्धको जेनजी विद्रोह जायज
पहिलो कुरा त यो विद्रोह के हो भन्ने कुरा हामी प्रष्ट हुनुपर्छ। जुन पुराना बदनाम भएका, भ्रष्टीकृत भइसकेका र वैचारिक बन्ध्याकरण भइसकेका शक्तिहरू हिजो आन्दोलनको बेलामा देश तहसनहस हुँदा आगो निभाउनुको सट्टा दुलाभित्र पसे, ती फेरि बाहिर आएर गर्जन खोजिरहेका छन्। उनीहरूले यो विद्रोह कुनै अमुक वा वैदेशिक शक्तिले गरेको भन्ने गलत भाष्य निर्माण गर्न खोजेका छन्। म स्पष्ट पार्न चाहन्छु— यो विद्रोह यहाँका युवाहरूको जायज विद्रोह हो।
गत १० वर्षमा पुराना तीन दलका भ्रष्ट तीनटा टाउकाहरूले आलोपालो देशको जसरी दोहन गरे र देशलाई भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबाएर हाम्रा युवाहरूलाई विदेश जान बाध्य पारे, त्यसको विरुद्धको एउटा जायज विद्रोह हो यो।
विद्रोहको बलमा २३ गते दमन गरिएपछि २४ गते प्रतिगामी शक्तिहरू (सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन चाहने) र बाह्य शक्तिहरू (नेपाललाई अस्थिर बनाई राखेर स्वार्थ सेक्न चाहने) ले पनि प्रवेश गरेको सहजै बुझ्न सकिन्छ। तर त्यो सहायक कुरा हो। विद्रोह जायज थियो र नेपाली युवाहरूको आफ्नै मौलिक विद्रोह हो त्यो। यो आन्दोलनलाई बदनाम गर्ने प्रयत्न गर्ने पुराना भ्रष्ट नेताहरूको कामको म पुरै भर्त्सना गर्दछु र युवा पङ्क्तिलाई प्रष्ट रहन आग्रह गर्न चाहन्छु। मेरो ऐक्यबद्धता उहाँहरूसँग निरन्तर रहन्छ।
- आंशिक जित पर्याप्त छैन: प्रणालीगत सुधार अपरिहार्य
म आफैँ ३६ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, २०५२–६२ को जनयुद्ध र जनआन्दोलन भोगिसकेको र नेतृत्वदायी भूमिकामा रहेको व्यक्तिको नाताले के भन्न चाहन्छु भने— तपाईंहरूले आंशिक जित हासिल गर्नुभयो (पुरानो सरकार ढाल्नुभयो), तर सत्ता ढलेको छैन।
हामीले व्यवस्था नै बदल्न खोजेको त होइन, तर व्यवस्थामा केही महत्त्वपूर्ण सुधार गरेर भ्रष्टहरू फेरि नजन्मिऊन् र तपाईंहरू आफैँ पनि त्यो सत्ताले भ्रष्ट नहोस् भन्नको निम्ति केही सुधार गरेर मात्रै निर्वाचनमा जानु पर्छ। खासगरी निर्वाचन प्रणालीमा त्रुटि छ। मैले संविधान बनाउने बेलादेखि नै यो संविधान 'आधा गिलास भरी आधा खाली' छ भनेको थिएँ। किनकि यसको शासकीय त्रुटिले गर्दा कसैले पनि बहुमत ल्याउन दिँदैन, कुनै पनि सरकारलाई पाँच वर्ष टिक्न दिँदैन। जब देशमा लोकतान्त्रिक स्थिरता हुँदैन, तबसम्म सुशासन र समृद्धि हुँदैन।
त्यसको निम्ति शासकीय प्रणालीमा सुधार गर्नैपर्छ। त्यो भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नै हो। प्रत्यक्ष रूपमा निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन र यिनै भ्रष्टहरू फेरि सत्तामा आउने खतरा रहन्छ र तपाईंहरूको यो बलिदान खेर जाने खतरा रहन्छ।
युवा साथीहरूले अहिलेको सरकार (जुन तपाईंहरूले बनाएको सरकार हो) सँग व्यवस्थित ढङ्गले वार्ता गरेर लिखित रूपमा निर्वाचन हुनुभन्दा अगाडि दुई मुख्य सुधारका काम गराउनुपर्छ:
१. उच्चस्तरीय विश्वसनीय आयोग: भ्रष्टाचारीहरूको छानबिन गर्ने, यिनलाई ठेगान लगाएर अरबौँ लुटेर राखेको सम्पत्ति जफत गर्ने।
२. संविधान संशोधन: अहिलेको प्रक्रियाबाट नै अध्यादेश मार्फत संविधानमा आवश्यक संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको निर्वाचनमा जाने।
यति सुधार गर्न सकियो भने बल्ल तपाईंहरूको त्याग र बलिदानको अर्थ रहन्छ। तपाईंहरू कमजोर हुने बित्तिकै आन्दोलनको रफ्तार सेलाउने बित्तिकै फेरि प्रतिगामी शक्तिहरू खेल्न थाल्छन् र चुनाव टार्दै जान्छन्। त्यसको निम्ति तपाईंहरूले निरन्तर दबाब बनाई राख्नुपर्छ।
राज्यका अङ्गहरूको कमजोरी र विश्व शान्तिको केन्द्रको परिकल्पना
हाम्रो राज्य र सुरक्षा अङ्गको पनि गम्भीर कमजोरी देखियो। युवाहरूको हत्या गर्नु हुँदैनथ्यो। अर्को दिन सिंहदरबार लगायतका राज्यका अङ्गहरू दल जलिरहँदा एउटा दमकल समेत नदौडाउनु र सुरक्षा अङ्ग तमासे भएर बस्नुको समीक्षा हुनुपर्छ।
राजनीतिक दलहरू पूरा भ्रष्टीकृत भइसकेका छन्, अब कुनै पनि बहानामा तिनलाई फेरि टाउको उठाउने दिनुहुँदैन। अब नयाँ र वैकल्पिक शक्तिहरू नै अगाडि आएर देशको नेतृत्व लिनुपर्छ।
हाम्रो देश गम्भीर भूराजनीतिक अवस्थामा छ। नेपाल इतिहासमा कहिल्यै पनि कसैको उपनिवेश नभएको देश हो। त्यसैले, नेपालीहरूको स्वाधीनता, सार्वभौम सत्ता र स्वाभिमान रक्षाको प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्छ। हाम्रा छिमेकी र ठुला शक्तिहरूले यहाँ आँखा लगाउन पाइँदैन भनेर हामीले भन्न सक्नुपर्छ। नेपालले सधैँ नै तटस्थ, असंलग्न नीति अपनाउँदै आएको छ र भोलि पनि अपनाउँछौँ।
अब वैकल्पिक नयाँ राजनीतिक शक्तिहरूले नेपाललाई विश्व शान्तिको केन्द्रको रूपमा अगाडि बढाउनुपर्छ। गौतम बुद्ध जन्मिएको देश त्यस अर्थमा जसरी अहिले जेनेभा, स्विट्जरल्यान्ड लगायतले शान्तिको केन्द्रको रूपमा गरे, अब आगामी दिनमा नेपाल विश्व शान्तिको केन्द्र बन्छ। हामी सबैसँग सन्तुलित सम्बन्ध राख्छौँ। यसरी मात्रै हाम्रो स्वाधीनता कायम रहन्छ।
- वैकल्पिक शक्तिहरूको वृहत् गठबन्धनको आह्वान
म अन्त्यमा, जो नयाँ उदाउनु भएका राजनीतिक चेत सहितका युवाहरू हुनुहुन्छ— उहाँहरू, नयाँ शक्ति, विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र गत निर्वाचनको बेलामा उदय हुनुभएका बालेन्द्र शाह, हर्क साम्पाङ लगायतका सबै शक्तिहरू एक ठाउँमा आउने अथवा सहकार्य गर्ने वातावरण तपाईंले बनाउनुपर्छ।
पुराना थोत्रा पार्टीको नेताहरू सच्चिनेवाला छैनन्। कांग्रेस, एमाले, माओवादी सच्चिने म कुनै सम्भावना देख्दिनँ। त्यो यति टाउकैसम्म कुहिएर बसेको शक्ति रूपान्तरण हुन सम्भावना छैन। त्यसैले, त्योभित्रका दोस्रो–तेस्रो नयाँ पुस्ताका साथीहरूले पनि विद्रोह गरेर यो नयाँ वैकल्पिक शक्ति अभियानलाई साथ दिनुपर्छ।
हाम्रो खास एजेन्डा अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा टेक्ने र त्यसलाई पछाडि फर्किन नदिने हुनुपर्छ। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र जस्ता आधार स्तम्भहरूलाई साझा बिन्दु मानेर वैकल्पिक शक्तिहरू एक ठाउँमा आउन प्रयत्न गर्नुहोस्। एक ठाउँमा आउन नसके पनि सहकार्य गरेर मोर्चाबन्दी (वैकल्पिक एलायन्स) गरेर जान पनि सकिन्छ।
यो वृहत् वैकल्पिक गठबन्धन (ब्रोड एलायन्स) र पुराना शक्तिहरूबाट विद्रोह गरेर आउने दोस्रो–तेस्रो पुस्ताका व्यक्तिहरूको बिचको एउटा साझा एलायन्स भएर अगाडि जान सकियो भने देशले मुहार फेर्छ, तपाईंहरूको सपना पूरा हुन्छन्, यो बलिदान खेर जाँदैन। त्यसको निम्ति अगाडि बढ्न म हार्दिक आग्रह गर्न चाहन्छु। मेरो आजीवन सत्य र न्यायको पक्षमा उभिने प्रतिबद्धता निरन्तर रहनेछ। तपाईंहरूको यो अभियानमा मैले एउटा अभिभावकको हैसियतले, नागरिकको हैसियतले जाने बुझेको साथ र सहयोग दिन्छु।
(बिहीबार आयोजित पत्रकार सम्मलेनमा व्यक्त विचारको सम्पादित अंश)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण